क्रान्तिकारीहरु एकजुट भई अगाडि बढ्नुको विकल्प छैन
-कृष्णहरि भट्ट , कोषाध्यक्ष , केन्द्रीय समिति , प्रगतिशील लेखक संघ तथा अध्यक्ष , प्रगतिशील सांस्कृतिक समाज
कृष्णहरि भट्ट नेपालको प्रगतिवादी लेखन तथा कला र सांस्कृतिक क्षेत्रका योद्धा हुनुहुन्छ । उहाँ अध्ययनशील र तार्किक युवा नेता पनि मानिनु हुन्छ । काठमाडौंको तारकेश्वर नगरपालिकाको धर्मस्थली निवासी उहाँ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहनु भएको छ । नेेेतात भट्टसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले प्रगतिवादी संस्कृति लगायतका विषयमा गरेको छोटो कुराकानी निम्नानुसार छ ।
१.आजकाल के गर्दै हुनुहुन्छ ?
– प्रलेस, प्रसास, पार्टी काम र केही व्यक्तिगत काममा छु । एउटा पुस्तकको तयारी पनि गर्दैछु ।
२. यतिबेला प्रलेसको गतिविधि के छ ?
– अहिले प्रलेस आफ्नो ११औँ राष्ट्रिय सम्मेलनको तयारीमा जुटेकाे छ ।
३. प्रलेसको राष्ट्रिय सम्मेलनको तयारी कस्तो हुदैछ ?
– यही पुस ७ गते काठमाडौंमा बसेको प्रलेसको केन्द्रीय समितिको बैठकलेे आउदो चैत्र २२ र २३ गते काठमाडौंमा आफ्नो ११औँ रााष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । जिल्ला र प्रदेश समितिका सम्मेलन, भेला, बैठक र गठनका कामहरु भइरहेका छन् । प्रलेस कम्युनिष्ट तथा बामपंथी पार्टीहरुसँग आबद्ध प्रगतिशील तथा प्रगतिवादी लेखकहरुको साझा संगठन हो । त्यसो भएकाले प्रलेसले सवै बाम पार्टीका सांस्कृतिक माेर्चाका प्रमुख रहेको निर्देशक समितिको व्यवस्था गरेर प्रलेस आन्दोलनलाई नयाँ उचाईमा पु-याउने कोसिस गर्दैछ । यसले आन्दोलन भित्र रहेका विवादहरुको व्यवस्थापन गर्न सहगाेग गर्नेछ र संगठनको नयाँ सांगठनिक संरचना निर्माण र कार्य योजना बनाउनेछ । सम्मेलन व्यवस्थित गर्न प्रलेस प्रदेश नं. ३ का संयाेजक खेम थपलियाको नेतृत्वमा व्यवस्थापन समिति गठन भएको छ भने राष्ट्रिय सम्मेलनमा प्रतिनिधि ५ सदस्य बराबर १ हुने व्यवस्था गरेको छ।
४. प्रलेसको एकतालाई सुदृढ बनाउन तपाईले कस्तो भूमिका निर्वाह गरिरहनु भएको छ ?
– यो निकै महत्वपूर्ण प्रश्न हो। प्रलेसको महत्वलाई नबुझ्दा तलमाथि परेका दृष्टान्तहरु धेरै छन् । यस्तै गत बर्ष पनि प्रलेस झण्डै -झण्डै फुटकाे अवस्थामा पुगेको थियो । हुनत: यो क्रान्ति गर्ने संगठन होइन तर यसले क्रान्तिकारी आशावाद जगाउन भने महत्वपूर्ण भूमिका पूरा गर्न सक्छ । आज सत्ताशीनहरु सहितको प्रलेस सत्ताको भजनमण्डली हुने त हैन ? भन्ने कोणबाट कुरा उठिरहेको छ । सत्तासिन र प्रतिपक्ष कसरी एक ठाउँमा रहन सक्छन् ? सामन्तवाद, साम्राज्यवाद र विस्तारवादी प्रभुत्ववाद समक्ष आत्मासमर्पण गर्ने खेताला र क्रान्तिकारी एकै ठाउँमा रहन सक्छन् ? न्यूनतम प्रगतिशील आचरण र चरित्र नभएकाहरुसँग कसरी सहकार्य हुनसक्छ ? जस्ता गम्भीर विषयहरु उठेका थिए । यो विषयमा हाम्रो संगठनको दृष्टिकोणले महत्वपूर्ण भूमिका खेलेको छ । सामन्तवाद, साम्राज्यवाद र क्षेत्रीय विस्तारवादी प्रभुत्ववादको अन्त्यका लागि आफ्नाे सृजना कर्म गर्ने र श्रमजीवी जनताकाे पक्षमा जीवन संस्कृतिको निर्माणमा योगदान गर्ने भन्ने प्रलेसको प्रस्तावना रहेको छ । यसको विपक्षमा रहनेहरु यसबाट बाहिरिने हो । हामी जनवादी संस्कृति र सरकार निर्माणको पक्षमा हुनेहरु यसमा बसेर काम गर्ने हो । विभाजित जनवादी आन्दोलनलाई एकीकृत आन्दोलन र शक्तिमा विकास गर्ने फोरमको रुपमा यसलाई साथ दिने हो । यो सांस्कृतिक, राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणको आन्दोलनको नेतृत्व जनपक्षीय क्रान्तिकारीहरुले गर्नुपर्दछ । सत्ताशीनहरुले सडक चरित्र भएको प्रलेसलाई आफू अनुकूल बनाउन खाेजे भने त यसको विभाजनलाई रोक्नै नसक्ने हुन्छ । अहिले त्याे खालको अवस्था छैन । जनवादी उद्देश्यका लागि प्रलेस एउटा सशक्त माध्यम हुन सक्दछ भन्ने प्रयत्न सकारात्मक रहेको छ ।
५. प्रगतिशील संस्कृति निर्माणका लागि प्रलेस के गर्दैछ ?
– आजसम्म प्रलेसले ठोस काम गरेको छैन । जति गर्न सक्थ्यो , त्यति पनि नगरेको अवस्था हो । यसको मतलव केही पनि नगरेको भने हाेइन । अब जनसंस्कृति निर्माणका लागि ठोस सांगठनिक याेजना बनाएर अगाडि बढ्ने तयारी गर्दैछ ।
६. तपाई प्रसासको पनि अध्यक्ष हुनुहुन्छ। प्रसासले यतिबेला के गर्दैछ ?
– प्रगतिशील साँस्कृतिक समाज नेपाली समाजमा रहेका वर्गीय शाेषण र विभेदको कारण पहिचान गर्ने र समाधानका उपायहरूको खाेजी गर्ने किसिमका साहित्तिक लेखन र साँस्कृतिक रुपान्तरणका कार्यक्रम सञ्चालनका काममा छ । यसले कृष्णहरि भट्टको कविता संग्रह ‘नयाँ आयाम’ प्रकाशन गरेर बजारमा ल्याएको छ । यस्तै गीति संग्रहको पनि तयारी भइरहेकाे छ ।
७. प्रगतिवादी कला , साहित्य र संस्कृति निर्माणका लागि प्रसासको कस्तो योजना र कार्यक्रम छ ?
– समकालीन नेपाली साहित्य लेखनको मूल प्रवृत्ति प्रगतिशील लेखन प्रवृत्ति हाे तर प्रगतिवादी लेखन भने मूल प्रवृत्ति बन्न सकिरहेको छैन । यस्तो हुनुको मूल कारण भने नेपालको आफूलाई मूलधारको ठुलो कम्युनिस्ट पार्टी भन्नेको दृष्टिकोणमा आएको विचलन वा वर्ग समन्वयवादी नीति र उपभोक्तावादी संस्कृति अनुरुपका सृजना कर्म हुनु नै हाे । त्यो नै पार्टी नीति बन्नु हो । अर्थात सामन्तवाद , क्षेत्रीय प्रभुत्ववादी विस्तारवाद र साम्राज्यवादसँग सम्झौताको राजनीति गर्नु हो । यसका विरुद्धको राजनीतिक तथा साँस्कृतिक संघर्ष नै प्रसासको संघर्षको मुख्य विषय हाे । सामाजिक न्यायमा आधारित राजनीतिक, आर्थिक र साँस्कृतिक व्यवस्थाको स्थापनाका लागि प्रसासले सृजना र संघर्षको कार्ययोजना अगाडि बढाएको छ ।
८. प्रसासको संगठन व्यवस्थित गर्न के गर्दै हुनुहुन्छ ?
– हाल नेपाली कम्युनिष्ट आन्दोलन नेपाल कम्युनिष्ट पार्टीको रुपमा पुनर्गठनको प्रक्रियाबाट अगाडि बढिरहेको छ । हाम्रो संगठन थप व्यवस्थित हुँदै अगाडि बढिरहेको छ । भेला र प्रशिक्षणका कार्यक्रमहरु भइरहेका छन् ।
९. अन्त्यमा केही भन्नु छ कि ?
– उपभोक्तावादी संस्कार , संस्कृति र राजनीतिले नेपाली समाजलाई नराम्रोसँँग गाजिरहेको छ । यो महापतनको खेलमा कम्युनिष्ट नामधारीहरु नै मुख्य भूमिकामा रहेका छन् । यस्तो अवस्थामा प्रगतिवादी वा कम्युनिष्ट हुन चाहनेले आफ्नै टाउकोबाट भुङ्ग्राे खन्याएर थप खारिनु पर्ने अवस्था रहेकाले संगठन र आन्दोलन निर्माणमा चुनाैतिहरु भए पनि क्रान्तिकारीहरु एकजुट भई अगाडि बढ्नुको बिकल्प छैन ।
ल, ठिक कोणबाट कुरा उठाउनुभएकोमा धन्यवाद कृष्णहरि सर ! कथनी र करनीमा तादात्म्य होस् ।