सहकारीमा क्यासलेस र कार्डलेस सेवा प्रवाह गर्नु आवश्यक छ

– जगतलाल महर्जन , बरिष्ठ उपाध्यक्ष , बागमती प्रदेश सहकारी संघ लि.
बागमती प्रदेश सहकारी संघ लि.ले ललितपुर महानगरपालिका-१५ , सातदोबाटोस्थित सुमेरु मार्ट रहेको भवनमा आफ्नो कार्यालय स्थापना गरी सञ्चालन गरिरहेको छ । हामीले यो संघको ४ बर्षे रणनीतिक व्यवसायिक योजनालाई पूर्णता दिइसकेका छौं । यसका उप-समितिहरुले पूर्णता पाउदै गरेको अवस्था छ । सहकारीलाई प्रविधियुक्त र मर्यादित व्यवसाय बनाउन सबै सरकारी , निजी र सहकारी निकायहरुसँग सहकार्य र समन्वयको काम निरन्तर भइरहेको छ । हाम्रो यो संघले नेतृत्व विकास , सहकारीमा सुशासन , सहकारी मार्फत सम्बृद्धी , उद्यमशीलताको विकास र सहकारीको आवश्यकता सम्बन्धी समसामयिक तालिमहरु अगाडि बढाउने गरी कार्य गरिरहेको छ ।
यस संघको बागमती प्रदेश भित्रका १३ वटा जिल्लामा ८२ वटा सहकारी संघ र १० हजार ५ सय १७ वटा सहकारी संस्थाहरुमध्ये १५३ वटा सहकारी संघ/संस्था सदस्य बनेका छन् र यो सदस्य बन्ने क्रम जारी छ । सदस्य बन्न बाँकी रहेका सहकारी संघ/संस्थाहरुलाई यसको सदस्य बन्न म अनुरोध गर्दछु ।
बागमती प्रदेश सहकारी महाशाखाले नियम-५ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी आउने निवेदनका आधारमा धमाधम सहकारी संस्था दर्ता गरिरहेको छ भने कतिपय पालिकाहरुले पनि सहकारी संस्था दर्ता गरेको अवस्था छ । यसैगरी सहकारी संस्थाहरुको सेवाकेन्द्र पनि व्यापक रुपमा बढिरहेको अवस्था छ । राज्यले एकातिर सहकारी संस्था दर्ता गर्दै जाने र अर्कोतिर सहकारी एकीकरण गर्ने भन्ने नीति आफैमा बाझिएको छ । यसले सहकारी एकीकरण गरी सहकारी संघ/संस्थाको संख्या घटाउने भन्ने राज्यको नीति प्रभावित हुने आशंका बढेको छ भने यसबाट अन्यौलता पनि देखिएको छ । यो अन्यौलता हटाउन सम्बन्धित मन्त्रालय , विभाग , राष्ट्रिय सहकारी महासंघ , केन्द्रीय सहकारी संघहरु , प्रदेश संघहरु लगायतका सरोकारवाला सहकारीकर्मी र अभियान्ताहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।
सहकारीको संख्यासँगै वित्तीय अपचलन , अनावश्क प्रतिस्पर्धा र विकृतिजन्य घटना बढिरहेको छ । बागमती प्रदेशमा झन अन्तको तुलनामा यो झन बढी देखिएको छ । यसलाई सम्बन्धित मन्त्रालय , विभाग , राष्ट्रिय सहकारी महासंघ , केन्द्रीय सहकारी संघहरु र प्रदेश सहकारी संघ सहितको सहकार्यमा अनुगमन , नियमन र सहकारी शिक्षा/ तालिम व्यापक रुपमा गर्नु पर्ने देखिन्छ । बागमती प्रदेश यसका लागि सहकार्य गर्न तयार छ ।
विश्व प्रविधिले सुसम्पन्न भइरहेको बर्तमान अवस्थामा सहकारीमा क्यासलेस र कार्डलेस प्रविधि निर्माण गरी यसको सेवा धेरै भन्दा धेरै सहकारी संस्थाहरुलाई प्रवाह गर्नु पर्ने आवश्यकता देखिएको छ ।
प्रदेश सहकारी ऐन र नियमावलीका धेरै विषय संघीय सहकारी ऐन र नियमावलीसँग बाझिएका छन् । तिनलाई समायानुकूल सहकारीको विकास र प्रवर्द्धनलाई सहयोग गर्ने गरी संशोधन गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो ।
आफ्नो कार्यालय सञ्चालनमा कति खर्च हुन्छ , आफ्ना शेयर सदस्यहरुको शेयर , बचत र ऋणमा कति व्याजदर कायम गर्ने भन्ने कुरा सहकारी संस्थाहरु आफैले निर्धारण गर्ने चलन छ । विद्यमान सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम सहकारी सन्दर्भ व्याजदर लागू भएको पनि २ बर्ष बितिसकेको छ । यसबाट के कस्ता उपलब्धी भएका छन् भनेर समीक्षा गरी यसका नकारात्मक पाटोलाई हटाई सच्चिकै सहकारीलाई सुशासनयुक्त ढंगबाट सञ्चालन गर्न सबै सरोकारवाला पक्षहरुको सहमतीबाट अगाडि बढृनु पर्दछ । सहकारी सन्दर्भ व्याजदर पुनरावलोकन गर्दा सहकारी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुको प्रतिनिधित्व हुने गरी छलफल गरी उपयुक्त निकाल्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछु ।
कोभिड-१९ ले सहकारीमा चूनौति र अवसर दुबै थपेको छ । सहकारी अभियानले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ । राज्यले पनि कोभिड-१९ ले सहकारी क्षेत्रमा पारेको समस्या समाधानको लागि आवश्यक कार्य गर्नु जरुरी छ ।
अन्तमा , सहकारी अभियानका अग्रजहरुको सम्मान र श्रद्धाका साथ अग्रजहरुले देखाएको र खनेको बाटोलाई फराकिलो बनाउदै ग्राबेलिङ र कालोपत्रे गरी हाइवे बनाउने काम हामी सहकारी अभियान्ताहरुको काधमा आएको छ । सहकारी मार्फत देशलाई सुन्दर र समृद्ध बनाउन जो , जुन जिम्मेवारीमा छ , उसले आफ्नो जिम्मेवारी पूरा गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । बागमती प्रदेश सहकारी संघ लि. यस अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछ ।