सहकारीमा तरलता ब्यवस्थापन ईश्वर न्यौपाने – प्रमुख कार्यकारी अधिकृत मिलीजुली कालिञ्चोक साकोस दोलखा

सहकारी संस्थामा बचत तथा ऋणको कारोवार हुन्छ । यसरी बचत, ऋणको कारोवार गर्ने संस्थाले बचत फिर्ता माग्न आउदा तुरुन्तै फिर्ता दिन वा शेयर सदस्यले संस्थाको ऋण कार्यविधि बमोजिम ऋण माग गर्दा उहाँहरुलाई उपलब्ध गराउनुपर्ने नगद नै तरलता हो । संक्षीप्तमा भन्नु पर्दा बचत तथा ऋणको कारोवार गर्दैगर्दा कारोवारीय पक्षलाई ध्यान दिई संस्थाको भल्टमा वा तुरुन्तै झिक्न मिल्ने गरी बैंकमा राखीएको नगदनै तरलता हो । सहकारी संस्थाहरुले प्रयोग गर्नैपर्ने पल्र्स मोनिटरीङ्ग प्रणाली को मार्गनिर्देशन बमोजिम संस्थाले संकलन गरेको कुल बचतको न्यूनतम १५ प्रतिशत रकम संस्थाले तरलता राख्नु पर्ने हुन्छ । यदि तोकीएको प्रतिशत तरलता कायम गर्न सकीएन भने सहकारी संस्थाले भनेको बेलामा आफ्ना शेयर सदस्यहरुलाई बचत फिर्ता गर्न नसक्ने अवस्था आउछ । यसरी बचत फिर्ता गर्न नसक्दा एकातिर शेयर सदस्यको खाँचो टर्दैन भने अर्कोतिर संस्थाले बचत फिर्ता गर्न असक्षमता देखाएको ठहर्छ । यस्तो अवस्थामा बचत फिर्ता लिन आउने शेयर सदस्यलाई ऋण उठेपछि दिन्छौ पछि आउनुहोला भनि लाज पचाएर कुरा गर्नुपर्ने अवस्था आउछ । शेयर सदस्यको तर्फबाट हेर्दा यो भन्दा दुखदायि अवस्था र संस्थाको तर्फबाट हेर्दा योभन्दा लाजमर्दो अवस्था केनै हुन्छर ? यदि शेयर सदस्यहरुले मान्नु भएन भनेत शेयर सदस्यको तर्फबाट सञ्चालक समितिले मुद्दा खेपी स्थिर सम्पत्ति भएमा बिक्री गरेर समेत बचत फिर्ता गर्नु पर्ने हुन्छ । संस्थामा भएको तरलताको रकम बाटै संस्थाको अन्य दैनिक कामकाजको लागि आयगत तथा पूँजीगत खर्च गर्नु पर्ने हुदा सोलाई समेत तरलता ब्यवस्थापन गर्नुपर्दछ । यदि संस्थाले तरलता ब्यवस्थापन गर्न नसकेमा संस्थाको छविमा प्रश्न चिन्ह समेत खडा हुन्छ ।
बर्तमान समयमा बित्तिय क्षेत्रमा तरलता अभाव देखीएको छ । बैंक तथा सहकारी संस्थाहरुमा तरलता कम भएको सुनिन्छ र प्रतिवेदनहरु हेर्दा सोही कुरा देख्न पाईन्छ । कति सहकारी संघसंस्थाहरुमा शेयर सदस्य बचत फिर्ता लिन आउदा केही दिन पछि आउनु भन्नु पर्ने अवस्था आएको छ भन्ने सुनिन्छ । जम्मा बचतको न्यूनतम १५ प्रतिशत तरलता कायम गर्नको लागि धौधौ परेको अवस्था छ । यो अवस्था भनेकोनै तरलता संकटको अवस्था हो । यस्तो अवस्थामा सहकारी संघसंस्थाहरुले चनाखो भई जम्मा बचतको न्यूनतम १५ प्रतिशत तरलता राखी संस्थालाई असहज परिस्थिति बाट जोगाउनु पर्ने हुन्छ । बर्तमान अवस्था मुद्रास्फितिको अवस्था छ । यस अवस्थामा उपभोग्य बस्तुको मुल्यमा बृद्धि आउने, बेरोजगार बृद्धि हुने, मुद्राको मुल्यमा गिरावट आउने, मुद्राको क्रयशक्ति कम हुने हुन्छ । यस्तो अवस्थामा सहकारी संस्थामा बचत कम आउने, बचतफिर्ताको माग बढी आउने, ऋणी शेयर सदस्यको ऋण तिर्ने क्षमतामा ह्रास आउने, ऋणको माग बृद्धि हुने, धितो राखेको घर जग्गाको मुल्यमा गिरावट आउने, लिलाम गर्नुपर्ने अवस्था आएमा पहिलाको मुल्यांकन बमोजिम मुल्य नआउने हुन सक्छ र संस्थामा तरलता घट्दै जान सक्छ ।
सहकारी संस्थाहरुले उल्लेखित अवस्था आउन नदिनको लागि बिभिन्न रणनीतिहरु कायम गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा संस्थाका शेयर सदस्यहरुसँग थप सकरात्मक सम्बन्ध बिस्तार गरी संस्थाको बित्तिय अवस्थाको बारेमा बास्तविक जानकारी दिई ढुक्क बनाउन सक्नु पर्दछ । संस्थाले ऋण लगानि गर्दा सहकारी बिभागले जारी गरेको सदस्यता केन्द्रीयता सुचकांकको तेस्रो पक्ष संरक्षकीय संबन्धनलाई न्यूनतम ३० प्रतिशत कायम गर्न बिशेष ध्यान दिई ऋणको आकार सानो बनाउने तथा धेरै शेयर सदस्यहरुलाई उत्पादनमुलक क्षेत्रमा ऋण प्रवाह गर्नु पर्दछ । ठूलो आकारको ऋणलाई निरुत्साहित गर्नुपर्दछ । उठ्न बाँकी ऋणको किस्ता र ब्याजलाई क्षमता अनुसार सानो सानो रकम भनेपनि तिर्न लगाउनु पर्दछ । ऋण असुली योजना निर्माण गरेर ऋणी शेयर सदस्यहरुसँग निरन्तर सम्पर्कमा गई असुलीलाई नै प्रमुख प्राथमिकताको बिषय बनाउनुपर्दछ । नियतबस ऋण नतिर्ने ऋणी शेयर सदस्यहरुलाई कानूनि प्रत्रिया अगाडि बढाउनु पर्दछ । उल्लेखित कार्यहरु गर्नु भन्दा पहिला संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, बिभिन्न उपसमितिहरु र कर्मचारीहरुको नाममा र एकाघर परिवारको नाममा लगेको ऋणको बिबरण (दोसरी) लाई सञ्चालक समितिको बैठकमा छलफल गराई तिर्न बाँकी भएमा तुरुन्त तिर्न लगाउनु पर्दछ वा तत्काल तिर्न नसक्ने भएमा कहिले तिर्ने हो कबोल गराई पदबाट मुक्त गराउनु उचित हुन्छ । यसरी संस्था सञ्चालन गर्ने पक्ष शुद्ध भएमा मात्र शेयर सदस्यहरुलाई तिर्नको लागि अनुरोध गर्ने नैतिक आँट आउछ । जुन सहकारी संस्थामा दोसरी ऋण बिबरण शुद्ध हुदैन त्यस्तो संस्थामा भाखा नाघेको ऋणको प्रतिशत अधिक हुन्छ । जब भाखा नाघेको ऋणको प्रतिशत अधिक हुन्छ त्यस्तो संस्थामा तरलता प्रतिशत कम हुन्छ ।
त्यसैगरी अनिवार्य बचत लाई नियमित गर्न लगाई बचतका उत्पादन हरु थप गरी आकर्षण बढाउन सकिन्छ र बचत संकलन बृद्धि गराई तरलता बृद्धि गराउन सकिन्छ । उल्लेखित प्रकारका मेहनतबाट जम्मा भएको तरलतालाई दैनिक रुपमा गणना गर्नुपर्दछ । सहकारी संस्थाहरुले सफ्टवयर प्रयोग गरेको छैन भने दैनिक रुपमा तरलता गणना गर्न केही कठिन हुन सक्छ । यति सफ्टवयर प्रयोग गरेको छैन भने संस्थागत क्षमता अनुसार तुरुन्तै सफ्टवयर प्रयोग गर्नुपर्दछ र दैनिक तरलता गणना गर्न सक्षम हुनुपर्दछ । आवधिक बचत कहिले कहिले समय पुग्छ गणना गरी सोको लागि समेत तरलता ब्यवस्थापन गर्नुपर्दछ । संस्थामा १५ प्रतिशत भन्दा बढी तरलता छ भने बढी रकम लाई नेफ्स्कून वा संघहरु वा राष्ट्रिय सहकारी बैंकमा छोटो अवधिको आवधिक बचतमा जम्मा गरेको खण्डमा संस्थाले ब्याज आम्दानी गर्न सक्दछ र भनेको बेलामा रकम फिर्ता लिन पनि सक्दछ । हामीले रकम जम्मा गर्दा संस्थालाई आवश्यक पर्दा तुरुन्त फिर्ता दिन सक्ने ठाँउमा जम्मा गर्नुपर्दछ नत्र पुन तरलताको बिषय अभिलेखमा मात्र सिमित हुने अवस्था आउछ ।
तरलताको प्रतिशत पल्र्सले तोकेको मापदण्डको हाराहारीमा मात्र भएको अवस्था छ भने केही समय पछिमात्र गरेहुने खर्चलाई पछि गर्नेगरी सार्नु पर्दछ। अति आवश्यक खर्चहरु मात्र गर्नु पर्दछ । आय आर्जन नगर्ने सम्पत्तिको लगानी लाई केही समय रोक्नु पर्दछ । सहकारी संस्थासँग सम्बन्धित निकायहरु सँग सहकार्य गर्न सकिन्छ । उल्लेखित सबै ब्यवस्थापन गरेपछि शेयर सदस्यले माग गरेको बेलामा बचत फिर्ता दिन सकिन्छ र संस्थाको ऋण कार्यविधि बमोजिम माग भएको ऋण लगानि गर्न सकिन्छ । यस्तो अवस्था भएमा शेयर सदस्यहरुको बिश्वास बृद्धि भई संस्था निरन्तर रुपमा सञ्चालन गर्न सकिन्छ र बचत झन झन बृद्धि हुदै जान्छ ।
समग्रमा हेर्दा बर्तमान अवस्थामा सहकारी संस्थाहरुमा तरलता ब्यवस्थापनमा केही मेहनत गर्नुपर्नाको कारण सन्दर्भ ब्याजदर पनि हो । बित्तिय खेलाडिहरु मध्ये कसैलाई खुल्ला ब्याजदर नीति र कसैलाई तोकीएको घेरा भित्रको ब्याजदर नीति भएको देखीन्छ । यसो हुँदा खुल्ला हुने खेलाडिलाई सजिलो र घेरा भित्र खेल्नु पर्ने खेलाडिलाई केही कठिन हुनु अस्वभाविक होईन । बित्तिय बजारमा खेल्ने सबैलाई एउटै नीति भई समानता कायम हुन आवश्यकता छ जसले गर्दा सबैकुरा ब्यवस्थापनमा सहज हुन्छ ।
शिक्षा भनेको कोक्रो बाट सुरु भई चितामा अन्त्य हुन्छ भन्ने भनाई सहकारी क्षेत्रमा पनि लागु हुन्छ । त्यसैले हामी सहकारीमा आवद्ध सञ्चालक वा कर्मचारीहरुले सिक्ने कार्यलाई जिवनमा निरन्तरता दिनु पर्दछ । शिक्षालाई निरन्तरता दिन नसकेमा सिद्धान्त मान्ने सहकारीकर्मि बन्न सकिदैन । निरन्तर शिक्षा भनेको सहकारीको सिद्धान्तमा पर्ने बिषय भएकोले शिक्षा लिने र प्रवाह गर्ने कुरामा सहकारीमा आवद्ध सहकारीकर्मिहरुको लागि मुल मन्त्रनै बन्नु पर्दछ । सहकारी क्षेत्रमा आवश्यक पर्ने नयाँ नयाँ कुराहरु सिक्ने, असल अभ्यासहरु आदान प्रदान गर्ने, अनुसन्धानमा आधारीत सुचकांकहरुको परिधिमा बसी सहकारी संस्थालाई सफल रुपमा चलाउने कुराहरु सिक्ने माध्याम भनेको स्तरीकरण कार्यक्रम हो । स्तरीकरण कार्यक्रम अन्तर्गत एक्सेस, प्रोबेसन, कर्भस्, सियुलेग पर्दछन् । यस्ता कार्यक्रमहरुमा सहभागि हुने र निर्दिष्ट सुचकांकहरु पुरा गर्ने गरेमा संस्थामा संकट न्यूनीकरण हुन्छ ।
त्यसैगरी सहकारी संस्थालाई जोखिम न्यूनीकरण गर्न तथा भावि तरलता ब्यवस्थापनको लागि स्थिरिकरण कोषमा सहभागिता जनाउन सकिन्छ । यस कोषको माध्यामबाट भावि तरलता संकटलाई न्यूनीकरण गर्ने आशा राखीएको छ । सहकारी संस्थाहरुले पनि कस्ट अफ डिपोजिट, कष्ट अफ फण्ड, बेस रेट गणना गरी बचत तथा ऋणको उचित ब्याजदर निर्धारण गर्न सकेको खण्डमा तरलता समस्यालाई ब्यवस्थापन गर्न सकिन्छ र संस्थाले उचित मुनाफा कमाई शेयर सदस्यहरुलाई प्रभावकारी बित्तिय तथा गैह्र बित्तिय सेवा प्रवाह गर्न सक्षम हुन्छ । सहकारी संस्थालाई स्तरीकरण कार्यक्रममा आवद्ध गराउन, स्थिरिकरण कार्यक्रममा सहभागि गराउन, बेस रेट गणना गर्न, सफ्टवयर राखी हिसावको अभिलेख राख्न, तरलता ब्यवस्थापन गर्न कठिन छ भने सहकारी संस्थालाई सक्षम सहकारी ससंस्थासँग एकीकरण गराएर पनि सहज अवतरण सहीत तरलता ब्यवस्थापन गराउन सकिन्छ ।