राष्ट्रिय सहकारी महासंघ लि.ले ग-यो विवरण उपलब्ध गराउन आग्रह
राष्ट्रिय सहकारी महासंघ लि.ले कोरोना भाइरस (COVID-19) को महामारीका कारण देशभर लकडाउन भएको समयमा सहकारी संघ÷संस्थाले गरेको योगदानको उच्च मुल्यांकन गरेको उक्त महासंघका सञ्चालक राजेन्द्र पौडेलले सामाजिक सञ्जाल Facebook मा उल्लेख गर्नु भएको छ । उहाँले उल्लेख गरेको विषय यसप्रकार छ ।
राष्ट्रिय सहकारी महासंघ लि.को काठमाडौं उपत्यकामा उपलब्ध सञ्चालक समितिको शुक्रबार पुल्चोकस्थित महासंघको सभाहलमा भएको छलफलले सहकारी अभियानले यो विषम परिस्थितिमा गरेका कार्यको व्यवस्थित रुपमा डाटा संकलन गर्न निर्णय गर्दै सहकारी संघ÷संस्थालाई आफूले गरेको कार्यको विवरण महासंघमा उपलब्ध गराउन आग्रह गर्ने समेत निर्णय गरेको छ ।
महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा भएको छलफलमा कोभिड १९को महामारीको समयमा सहकारीे क्षेत्रले गरेको सेवाको विषय सहित यसको असर र यसले सिर्जना गर्ने समस्या र चुनौतीका विषयमा समेत छलफल भएको थियो । शुक्रबार भएको सो छलफलले महासंघले कृषि, उपभोक्ता तथा अन्य उत्पादक सहकारी तथा वित्तिय कारोबार गर्ने सहकारीहरुले पु¥याइरहेको सेवा, यी संस्थाहरुमा पर्ने असर र चुनौती र त्यसको समाधानका विषयमा सम्बन्धित क्षेत्रका सहकारीकर्मीहरुसँग छलफल गरी भावी योजना तयार गर्ने पुनः महासंघमा छलफल गर्ने निर्णय गरेको छ । सो छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, सञ्चालकहरु के.वी. उप्रेती, खेम पाठक, डी.वी. बस्नेत, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल र महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
लकडाउनको शुरुवात मै गर्नु पर्ने काम ढिलै भए पनि महासंघले तथ्यांक संकलनको अभियान सञ्चालन गरेको भन्दै खुशी लागेको राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा गण्डकी प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामबहादुर जी.सी. ले बताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघ लि.को सञ्चालक समितिको हिजो बसेको बैठकले गरेको निर्णयबारे टिप्पणी गर्दै उहाँले सहकारी क्षेत्रको योगदानको तथ्यांक संकलनसंगै यो क्षेत्रलाई थप व्यवस्थित गराउनका लागि केही सुझाव दिनु भएको छ । जो यस प्रकार छ ।
१. सहकारी क्षेत्रले मुलुकको समग्र क्षेत्रमा गरेको योगदानको सही तथ्यांक आउन सकेको छैन । कोरोना संक्रमणका कारण जारी लकडाउनमा गरेको योगदान सही तरिकाले संकलन गर्न सक्ने हो भने सहकारीले समग्रमा गरेको योगदानको तथ्यांक संकलन गर्न सहज हुन्छ । त्यसैले यो संकटलाई अवसरका रुपमा सदुपयोग गरौँ ।
२. यतिबेला देशभरका सहकारीहरुले करिव साँढे ३ करोड रुपैया भन्दा बढी स्थानीय, प्रदेश र केन्द्र सरकारले सञ्चालन गरेको कोरोना नियन्त्रण, रोकथाम र उपचार कोषमा जम्मा गरेका छन् । महासंघको आव्हान र संयोजनमा थप सक्रियता बढाउने हो भने यो अझै बढ्ने निश्चित छ । त्यसैले थप प्रभावकारी तथ्यांक संकलनमा जोड दिऔँ ।
३. सहकारी भन्दा साथ वित्तीय कारोबारलाई प्राथमिकता दिने प्रवृति सबैको देखिन्छ । उत्पादन तथा सेवा क्षेत्रका सहकारीको योगदानको खासै चर्चा नहुने अवस्था छ, यसतर्फ बढी भन्दा बढी चासो राखियोस् । विशेष गरी उत्पादक (कृषि, दुग्ध, मौरी, तरकारी तथा फलफूल लगायत), उपभोक्ता (उपभोक्ता भण्डार, विद्युत, सञ्चार, स्वास्थ्य) लगायतका सहकारीहरुले गरेको योगदानको तथ्यांक सँगै अप्ठेरोको बारेमा अध्ययन गरी सहजीकरण गरिनु पर्छ ।
४. सहकारीले आफ्ना सदस्यहरुलाई कोरोना संक्रमण र यसबाट बच्ने उपायका बारेमा सचेतना प्रदान गर्ने कार्यमा अब्बल काम गरेका छन् । यसको कुनै मूल्य हुदैन, यस्तो विषय सहित सहकारी क्षेत्रबाट वित्तीय, उत्पादन र सेवा क्षेत्रमा भएको योगदानको तथ्यांक सहित सरकारसंगको लविङलाई थप प्रभावकारी बनाऔँ ।
५. सहकारीहरुले आफ्ना सदस्यहरुलाई सेवा दिन चाहन्छन् तर लकडाउनका कारण पास नभएर उनीहरुलाई समस्या सिर्जना भएको छ । संस्थागत रुपमा पासको व्यवस्था हुने हो भने लकडाउन अवधी भर सहकारीहरुले सदस्यलाई सेवा दिन सहज हुन्छ। त्यसैले सरकारसंग समन्वय गरेर देशभरका सहकारीहरुलाई कम्तिमा एक /एक वटा संस्थागत पासको व्यवस्था तुरुन्त गर्न लगाउनु पर्छ ।
६. दुग्ध, कृषि लगायत उत्पादन र स्वास्थ्य, सञ्चार लगायत सेवा क्षेत्रका सहकारीहरु अत्यन्तै कठिन तरिकाले सञ्चालन भएका छन्, तिनलाई सहज रुपमा सञ्चालन गर्नका लागि केन्द्र सरकार सँग समन्वय गरी सबै ठाउँमा सहजता बनाउनतर्फ पहलकदमी गर्नु पर्छ ।
७. सहकारीका लागि विभिन्न किसिमका कोषको व्यवस्था गरिएको छ । ती मध्ये केही कोष यतिबेला कोरोना नियन्त्रण, रोकथाम र उपचारका क्षेत्रमा (विशेष गरी स्वास्थ्य, खाद्य) परिचालन गर्ने गरी सरकारसंग समन्वय गरौ ।
८. यतिबेलाको मुख्य काम कोरोनाबाट बच्नु हो । त्यसैले सचेत रहन, सचेत बनाउन र सचेतनाका लागि आम समुदायलाई परिचालित गर्नका लागि सहकारी क्षेत्रको सन्देशमुलक कार्यक्रम (रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका, फेसबुक, ट्वीटर, प्रोमो लगायत) लाई थप प्रभावकारी बनाऔँ ।
९. लकडाउन बढ्दै जादा खाद्यान्न अभाव हुने अवस्थालाई मध्यनजर गरी त्यसको समाधानका उपायको खोजी गरौँ ।
अन्त्यमा, हरेक चुनौतीले अवसर संगै लिएर आएको हुन्छ । कोरोनाको लडाई जित्ने अभियानको सारथी बन्दै संकट समाधानसंगै चुनौतीलाई अवसरमा बदल्ने योजनामा लागौँ । ३५ हजार सहकारी छन् भन्ने तथ्यांक सँगै यिनको भूमिका, व्यवस्थापन र सहकार्यमा समन्वय गरौँ । नेतृत्वको पहिचान संकटमै हुन्छ ।

