ज्याम्दी बचत तथा ऋण सहकारी संस्था लि.ले पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ

0 Shares

– रामकृष्ण तिमिल्सिना , अध्यक्ष , ज्याम्दी बचत तथा ऋण सहकारी संस्था लि. , मण्डन देउपुर नगरपालिका -१२ ,  सानोबेंसी ज्याम्दी , काभ्रेपलाञ्चोक

 

१. यतिबेला तपाई नेतृत्वको ज्याम्दी बचत तथा ऋण सहकारी संस्था लि. को गतिविधि के छ ?

~ काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका र भुम्लु गाउँपालिका कार्यक्षेत्र रहेको यस ज्याम्दी बचत तथा ऋण सहकारी संस्था लि. को २०७५ पुस २८ गते आफ्नो २१औँ स्थापना दिवसको अवसर पारेर नेपाल सरकारका माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरी सम्पन्न भएको २०औँ वार्षिक साधारणसभाले पारित गरेका नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको छ र आर्थिक वर्ष २०७६/०७७ को यस संस्थाको नीति तथा कार्यक्रमको तयारीको कार्य पनि भइरहेको छ । आठ आना जग्गामा बनेको आफ्नै भवनबाट यस संस्थाले आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ ।

२. यो संस्थाको स्थापना कहिले , कसरी र  कति सदस्य र पूँजीबाट भयो ?

~ स्थानीय २५ जना सदस्यहरुबाट प्रति व्यक्ति रु. २५ बाट २०५२ फागुन १ गतेबाट यो संस्थाको सञ्चालन शुरु भएको हो । रु. १०० को शेयर किनेर प्रति महिना प्रतिव्यक्ति रु. २५ जम्मा गर्दै.यो संस्था अगाडि बढेको थियो । हाल यसका सदस्यहरुले रु.२०० देखि ५,००० सम्म बचत गर्न सक्ने व्यवस्था गरिएको छ ।

३. यसका शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा प्रवाह र कुल कारोवार कति छ नि ?

~ समुदायमा आधारित यस संस्थाको २०७६ असार २९ गतेसम्म शेयर सदस्य १,०५१ जना , शेयर पूँजी रु. १९ लाख ७० हजार , निक्षेप (बचत संकलन)संकलन रु. २ करोड ७२ लाख  ६८ हजार ८ सय ६८ , वाह्य ऋण प्रवाह रु. ५५ लाख  र कूल कर्जा प्रवाह रु. ३ करोड २९ लाख  ७ हजार २ सय २ र कुल कारोवार रु. ३ करोड ५० लाखभन्दा माथि रहेको छ । यसले नियमित बचत , बाल बचत , जेष्ठ नागरिक बचत , पशु बीमा बचत , ३ वर्षे र ५ वर्षे आवधिक बचत र ऐच्छिक बचत सञ्चालन गरिरहेको छ । यसमा पशु बीमा बचत ३४३ र बाल बचत २०५ छ ।

४.  यो संस्थाले लगानीको लागि कुन क्षेत्रलाई बढी प्राथमिकता दिएको छ ?

~ हाम्रो यस संस्थाले तरकारी लगायत कृषि , पशु पालन , व्यवसाय र व्यापारमा कर्जा लगानी गरेको छ । साथै यस संस्थाले आफ्ना सदस्यहरुलाई रासायनिक मल र वीउ सर्वसुलभ ढंगबाट विक्री वितरण गरिरहेको छ ।

यस संस्थाले पशु बीमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । हालसम्म ३४३ वटा पशुको बीमा गरिएको छ । यस संस्थाले पशु बीमा कार्यक्रमका लागि नेपाल सरकारबाट आर्थिक वर्ष २०७०/०७१ मा रु. २ लाख ९८ हजार र आर्थिक वर्ष २०७१/०७२ मा रु. १४ लाख ७८ हजार अनुदान रकम प्राप्त गरेको थियो । २०७२ सालको विनाशकारी महाभूकम्पबाट क्षति भएका पशुहरुको लागि दुर्घटना वीमा वापत सो रकम प्रदान गरियो ।

यस संस्थाले नेपाल राष्ट्र बैंक , राष्ट्रिय सहकारी बैंक लि. युवा स्वरोजगार कोष र काभ्रेपलाञ्चोक  जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. बाट सरल व्याज दरमा ऋण लिएर आफ्ना सदस्यहरुको आय आर्जन बृद्धिका लागि सस्तो व्याजदरमा कर्जा उपलब्ध गर्ने कार्य गरिरहेको छ ।

५. यो संस्थाले कस्ता खाले रचनात्मक क्रियाकलाप गर्ने गरेको छ नि ?

~ सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले स्वास्थ्य शिवीर , सहकारी शिक्षा कार्यक्रम , सरसफाई जस्ता रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ । यसले भूकम्प पीडितहरुलाई राहत वितरण गर्नुका साथै भूकम्पबाट क्षति भएको जनधनको तथ्यांक संकलन गरी नेफ्स्कूनमा बुझाएका थियो ।

यसले आफ्नो कुनै सदस्यको मृत्यु भएमा मृृत्यु पश्चात क्रियापुत्री भेटघाट गर्ने र क्रिया खर्च वापत रु. ५,००० उपलव्ध गर्ने व्यवस्था गरेको छ ।

६. यो संस्थाको आगामी कार्य योजना के छ नि ?

~ राज्यको नीति , ऐन ,  कानुन र नियमावलीको पालना गरी सञ्चालन भइरहेको  यस संस्थाले आगामी वर्षहरुमा अझैं दिगो , दूरदर्शी र पारदर्शी रुपमा कार्यक्रमहरु सञ्चालन गर्दै शेयर सदस्य , शेयर पूँजी र सदस्यहरुको आय आर्जन बृद्धिको  लागि थप कार्यक्रम बनाएर अगाडि  बढ्ने नीति नीति लिएको छ ।

७. कोपोमिस कार्यक्रमबारे तपाईको के भन्नु हुन्छ ?

~ कोपोमिस कार्यक्रमबारे खासे जानकारी छैन ।

८. तपाईलाई नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सहकारीका कस्ता कार्यक्रम समेटिए जस्तो लाग्छ ?

~ नेपाल सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सहकारीका लागि २/३ वटा राम्रा  कार्यक्रम उल्लेख भएको छ तर राज्यले तीन खम्बे अर्थनीतिको एक खम्बा सहकारी भने पनि  सहकारीलाई बलियो बनाउने गरी त्यसमा कार्यक्रम समावेश भएको देखिदैन ।

९. अन्तमा केही भन्नु छ कि ?

~ सरकारले सहकारीमैत्री नीति ,  ऐन , कानून र नियमावली बनाई कार्यान्लयनमा ल्याओस् र समुदायमा आधारित सबै ठाउँका सहकारीहरुलाई समान व्यवहार गरोस् ।

1 thought on “ज्याम्दी बचत तथा ऋण सहकारी संस्था लि.ले पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ

  1. हजुरको नेतृत्व मा रहेको यस सहकारी को अझै उत्तर उत्तर प्रगति को कामना भिनाजु

Leave a Reply