काठमाडौं उपत्यकामा राष्ट्रिय सहकारी बैंक लि.का ४ वटा शाखा थपिए
काठमाडौं उपत्यका भित्र राष्ट्रिय सहकारी बैंक लि. का ४ वटा शाखा थपिएका छन् । सो बैंकले २०७७ कार्तिक २३ गतेबाट काठमाडौंको जोरपाटी , कालीमाटी र कीर्तिपुर तथा भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ती शाखाहरुको उक्त बैंकका अध्यक्ष के.वी. उप्रेतीले 
उद्घाटन गर्नु भएको सोही बैंकले जनाएको । ती नयाँ शाखाहरुको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको लागि स्वीकृत भएका यस बैंकका बाँकी २० वटा शाखा पनि जतिसक्तो छिटै सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताउनु भएको थियो । ती ४ वटा शाखा थपिएसँगै उक्त बैंकको मुख्य कार्यालय अतिरिक्त शाखा कार्यालयको संख्या ४७ पुगेको छ ।
चालु आर्थिक वर्षको शुरुवातसँगै नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय सहकारी बैंक लि.ले ती ४ स्थान सहित भक्तपुरको सूर्यविनायक , ललितपुरको इमाडोल , काठमाडौंको पुतलीसडक , कोटेश्वर , नयाँ बजार , नारायणगोपाल चोक , बलम्बु, चितवनको टाडी , स्याङ्जाको पुतली बजार , झापाको मेचीनगर, मोरङको सुन्दर हरैचा , सुनसरीको इनरुवा , कास्कीको ताल चोक , बाराको कलैया, दाङको तुलशीपुर , रुपन्देहीको भैरहवा र तिलोत्तमा, बर्दियाको भुरीगाउँ , बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा शाखा सञ्चालनको अनुमती पाएको थियो । यसैगरी सो बैंकले शाखा रहित सेवा प्रवाह गर्ने तयारी गरिरहेको जनाइएको छ ।
हाल सदस्य संख्या १२, २८३ , शेयर पूँजी रु.२,४८,००,००,००० , निक्षेप रकम रु.५१, ३६,००,००,००० र कर्जा लगानी रु. २४, २८ ,००,००,००० रहेको उक्त बैंकले देशका ७७ वटै जिल्लामा आफ्नो सेवा प्रवाह गर्ने योजना रहेको त्यसै बैंक स्रोतले बताएको छ ।

