चन्द्रागिरि साकोसद्वारा मोवाइल बैंकिङ्ग एपबाट रेमिट्यान्स सेवा सञ्चालन शुरु
काठमाडौंको थानकोट चेकपोष्टमा आफ्नै भवनमा मुख्य कार्यालय रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले मोवाइल बैंकिङ्ग एपबाट रेमिट्यान्स सेवा सञ्चालन शुरु गरेको छ । सी.टी. एक्सप्रेस मनी ट्रान्स्फरसँगको सहकार्य र हाम्रो टेक्नोलोजी(M Bank)को प्राविधिक सहयोगमाा शुरु भएको उक्त सेवाको सोही संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले आज शुभारम्भ गर्नुभयो । नेपालमै पहिलो पटक सञ्चालनमा आएको त्यस सेवाबाट सो संस्थाका ५ हजार भन्दा बढी शेयर सदस्यहरुले घरैमा बसेर मोवाइल बैंकिङ्ग एप मार्फत नेपालभर सजिलै सुरक्षित तवरबाट पैसा पठाउन र नेपाल तथा विदेशबाट आएको पैसा आफ्नो प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त संस्थाले सो मोबाईल बैंकिङ्ग एपलाई चन्द्रागिरि एम.सर्भिस् नामबाट एपस्टोरमा उपलब्ध हुने व्यवस्था गरेको छ । सोही एपबाट सी.टी. एक्सप्रेस का देशभरका काउन्टरबाट चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्यहरुले सुविधा उपयोग गर्न सक्नेे त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो । ‘यस सेवामा प्रथम वर्ष निःशुल्क रुपमा आवद्ध हुन सक्ने र त्यसमा आवद्ध हुन इच्छुक सदस्यको सदस्य पहिचान विवरण (KYM) अध्यावधिक गर्नुपर्ने छ , जसले गर्दा यो सेवा जोखिमरहित छ’, ऊहाँको भनाई छ ।
उक्त सेवा शुभारम्भको अवसरमा सी.टी. एक्सप्रेसका व्यवसाय तथा नयाँ वस्तु विकास विभागका सहायक प्रबन्धक शुभम डोटेल , हाम्रो टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जन लगायतले त्यस सेवाको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।
परिवर्तित समयमा नगदरहित डिजिटल कारोवारको लागि अत्यन्त उपयोगी रहँदै आएको त्यो सेवाको एप घरमा बसेर त्यसै संस्थाका सदस्यहरुले एक्टिभेट गर्न सक्ने र यदी पिनकोड बिर्सिएमा आफैंले रिसेट गर्न सक्ने सुविधा पनि उपलब्ध गरिएको जनाइएको छ ।
विगत ६ वर्षदेखि सी.टी एक्सप्रेससँगको सहकार्यमा काउन्टर मार्फत त्यस संस्थाले रेमिट्यान्स सेवा प्रदान गर्दै आईरहेकोमा अब भने काउन्टर रहित रेमिट्यान्सस सेवा प्राप्त गर्न सक्ने गरी यो सुविधा मोबाईल बैंकिङ्ग एपमा थप गरेको बताइएको छ ।
उता त्यसै संस्थाको मोबाईल बैंकिङ सेवा प्रदायक हाम्रो टेक्नोलोजीले एम बैंक मार्फत ३५० भन्दा बढी संस्थाहरुलाई सेवा प्रवाह गर्दै आएको जनाइएको छ ।
