काठमाडौंको मच्छेगाउँ,टौखेलमा हसना भास्तिपुर साकोसको सदस्य सेवाकेन्द्र स्थापना
काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, बलम्बुमा आफ्नै भवनमा प्रधान कार्यालय र गुर्जुधारामा सदस्य सेवाकेन्द्र रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्था लि.को सोही नगरपालिका-९, मच्छेगाउँ, टौखेलमा यही असार ३१ गते दोस्रो सदस्य सेवाकेन्द्र स्थापना भएको छ । सो सेवाकेन्द्रको चन्द्रागिरि नगरपालिका वडा नं.९ का वडाध्यक्ष देवेन्द्र महर्जनले रिवन काटी उद्घाटन गर्नु भयो । त्यस अवसरमा उहाँले बृक्षरोपण पनि गर्दै ‘स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हसना भास्तिपुर साकोसले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गरेको देखिएको छ’, भन्नुभयो । उहाँले ‘यो संस्थाले मार्फत आफ्ना शेयर सदस्यहरुको मर्म र भावनालाई आत्मसात गरी समाजको आर्थिक परिवर्तनमा टेवा पु-याउन सकोस्’ भन्नुभयो । उक्त अवसरमा त्यसै संस्थाका अध्यक्ष नारायण कृष्ण महर्जनले यस संस्थाले आफ्ना शेयर सदस्य ज्यूहरुको साथ र सहयोगले सहकारी क्षेत्रमा आफ्नो अलग्गै परिचय बनाउन सकेको र आउदा दिनमा पनि शेयर सदस्य ज्यूहरुको साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी वडाध्यक्ष महर्जन र सोहीसंस्थाका अध्यक्ष महर्जनले संयुक्त रुपमा ताम्रपत्र अनावरण गर्नुभएको थियो ।
शुरुमा बलम्बुमा रहेका हसना बचत तथा ऋण सहकारी संस्था लि. र भास्तिपुर बचत तथा ऋण ऋण सहकारी संस्था लि.बीच एकीकरण भई हसना भास्तिपुर बचत तथा ऋण सहकारी लि. बनेको उक्त संस्थासँग मच्छेगाउँ, टौखेलमा रहेको न्हुजला बचत तथा ऋण सहकारी संस्था लि. र कलंकीमा रहेको गोर्खा भूमि बचत तथा ऋण सहकारी संस्था लि.को हालै एकीकरण भएको छ र न्हुजला बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा हाम्रो यस संस्थाको सदस्य सेवाकेन्द्र स्थापना गरेको र कलंकीस्थित गोर्खा भूमि बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय रहेको स्थानमा पनि हाम्रो यो संस्थाको सदस्य स्थापना गर्ने तयारी भइरहेको सो संस्थाका प्रबन्ध सञ्चालक सम्पूर्ण महर्जनको भनाई छ ।

उक्त संस्थामा ७ हजारभन्दा बढी शेयर सदस्य र रु.१ अर्ब ५० करोड भन्दा बढी कूल कारोवार रहेको जनाइएको छ ।
