कैलाश भक्त प्रधानाङ्ग सहकारी पुरस्कार लाखाजुलाई प्रदान
नेफ्स्कूनका पूर्व अध्यक्ष तथा वरिष्ठ सहकारी अभियान्ता कैलाश भक्त प्रधानाङ्गको नाममा सहकारी समन्वय समिति , भक्तपुरले स्थापना गरेको कैलाश भक्त प्रधानाङ्ग सहकारी विशेष पुरस्कार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजुलाई प्रदान गरिएको छ । नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्ग को ८३औं जन्मदिनको अवसर पारेर यही साउन ६ गते प्रमाण-पत्र सहित रु.५१ हजार १ राशीको पुरस्कार प्रदान गरिएको हो । २०७० सालमा गठित भक्तपुर र काभ्रेपलाञ्चोकका गरी ९ वटा साकोसको साझा सञ्जाल सहकारी समन्वय समिति , भक्तपुरले लाखाजुले सहकारी अभियानमा बिशेष योगदान पु-याएको, भक्तपुरका स्थानीय तहहरुमा सहकारी मैत्री ऐन निर्माणमा भूमिका खेलेको, निषेधाज्ञाको समयमा स्थानीय प्रशासनसँग समन्वय गरी सहकारी संस्था सञ्चालनमा सहजीकरण गर्नुका साथै खोपका लागि सक्रिय पहल गरेको र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.लाई गुणस्तरीय र सदस्य मैत्री बनाउन भूमिका खेलेकोले पहिलो पटक यो पुरस्कार प्रदान गरेको जनाइएको छ । नेफ्स्कूनका पूर्व अध्यक्ष तथा वरिष्ठ सहकारी अभियान्ता कैलाश भक्त प्रधानाङ्ग , वरिष्ठ कलाकार मदनदास श्रेष्ठ , नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थितिमा सांसद घनश्याम खतिवडाले सो पुरस्कार प्रदान गर्नु भएको थियो । त्यस अवसरमा पुरस्कृत व्यक्तित्व लाखाजुको सु-स्वास्थ्य तथा सुखद भविष्यको कामना गरिएको थियो । पुरस्कार ग्रहण गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष लाखाजुले सहकारी क्षेत्रको विकास र प्रवर्द्धनको लागि आफू सधै लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
