सर्वोच्चमा नेकपाको रिट दायर

नेकपा एमाले र एनेकपा मावोवादी बीचको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेसँगै आफ्नो दलसँग नाम जुधेको भन्दै आक्रोशित बनेको ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले करिव ६ महिना अगाडि निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेजीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलको नेतृत्वमा सो दलका नेता कार्यकर्ताहरु रिट दायरीका लागि सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतका रजिष्टारले सो रिट दायर गर्ने विषयमा निर्णय गर्न नसकेपछि प्रधानन्यायधीश ओमप्रकाश मिश्रले रिट दर्ताको तोक लगाउनु परेको र प्रधानन्यायधीश मिश्रले तोक लगाएसँगै रिट दायर भएको नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नप्रसाद जोशीले बताए । आउदो मंसीर २४ गते सोमबार सर्वोच्च अदालतले तारेक दिएको नेता जोशीको भनाई छ ।
सत्तासीन दुई वाम दलवीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेसँगै नामका सम्बन्धमा शुरु भएको ती दुई दलवीचको विवाद निर्वाचन आयोग हुदै सर्वोच्च अदालत पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो दलसँग नाम जुध्ने गरी नाम राखेर आफ्नो दलमाथि अन्याय गरेकाले न्यायका लागि सर्वोच्च अदालतको ढोका डक्ढक्याउनु परेको बताउछन् । यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरु भने नेपाल कम्युनिष्ट पार्टी पछाडि कोष्टभित्र नेकपा राखेकाले निर्वाचन आयोगमा दर्ता रहेको नेपाल कम्युनिष्ट पार्टीको भन्दा आफ्नो दलको नाम फरक रहेको बताउदै आएका छन् ।
