फोरम र नयाँ शक्ति बीच एकता प्रक्रिया अगाडि बढ्यो

उप–प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बीचको एकता प्रक्रिया पुनः अगाडि बढेको जानकारी प्राप्त भएको छ । नयाँ शक्ति पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउन फोरमले आफ्नो दलका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा बार्ता टोली बनायो । यता नयाँ शक्ति पार्टीले पनि आफ्नो दलका नेता नवराज सुवेदीको नेतृत्वमा यस अगाडि नै बार्ता टोली बनाएको बुझिएको छ । यस अगाडि पनि ती दुई दल बीच पार्टी एकता प्रक्रिया अगाडि बढेको थियो तर अन्तिम समयमा मूलतः नयाँ शक्ति पार्टीका अध्यक्ष डा. भट्टराईको ती दलबीच एकता पछि बन्ने नयाँ दलमा दिने पदका विषयमा सहमती बन्न नसकेपछि एकता प्रक्रियामा पूर्णविराम लागेको थियो । लामो प्रयासपछि सरकारमा रहेको फोरम र प्रतिपक्षमा रहेको नयाँ शक्ति बीच पुनः एकता प्रक्रिया अगाडि बढेको ती दल निकट श्रोतको भनाई छ । फोरम राष्ट्रिय मान्यता प्राप्त चौथो ठुलो दल हो भने नयाँ शक्तिको संघीय संसदको प्रतिनिधि सभामा १ सीट छ ।
