बहुउद्देश्यीय सहकारी संघ लि. , ललितपुरको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

बहुउद्देश्यीय जिल्ला सहकारी संघ लि. , ललितपुरको छैटौँ वार्षिक साधारणसभा सो संघका अध्यक्ष शरदकुमार महर्जनको अध्यक्षतामा  हिजो लगनखेलमा सम्पन्न भयो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारीले सो साधारणसभा उद्घाटन गर्दै बहुउद्देश्यीय सहकारी संस्थाहरुले आफूलाई बहुउद्देश्यीय काममा केन्द्रित गर्नु बताउदै  सरकारले सहकारी क्षेत्रलाई उत्पादनमूलक क्षेत्रमा काम गर्ने आवश्यक वातावरण निर्माण गर्नु जरुरी रहेको बताए । सो अवसरमा जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलाल , राष्ट्रिय सहकारी बैंक लि. का नवनिर्वाचित सञ्चालक रामहरि बजगाई , जिल्ला सहकारी संघ लि. , गुल्मीका अध्यक्ष यमबहादुर थापा , ललितपुर बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष   रामशरण बस्नेत र पत्रकार खीला दाहालले सो साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका दिए ।

त्यस अवसरमा सो संघको वार्षिक प्रतिवेदन पेश गर्दै  उक्त संघका अध्यक्ष महर्जनले सहकारी संघ/संस्थाहरुलाई अझ व्यवस्थित गरी उच्चतम प्रतिफल प्राप्त गर्न सहकारी अभियानको पहल तथा माग बमोजिम सहकारी ऐन , २०७४ जारी भयो र त्यसका केही बुँदाहरुमा सहकारी अभियानको असहमती रहेता पनि समग्रमा यो ऐनले सहकारी अभियानको विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको भएपनि यसको पूर्ण रुपमा कार्यान्वयन नहुञ्जेल सहकारी अभियानमा केही असहजता महशुस गरिरहेको अवस्था रहेकोले त्यसलाई हटाउन छिटो सहकारी नियमावली जारी कार्यान्वय गर्नु पर्ने आवश्यकता औल्याउदै कतिपय स्थानीय तहहरुले आफ्नो सहकारी ऐन बनाएर लागू गरेको  र कतिपय स्थानीय तहहरु आफ्नो सहकारी ऐन बनाउने प्रक्रियामा रहेकाले तिनीहरुसँग समन्वय गरी तिनीहरुको सहकारी ऐनलाई सहकारीकर्मी मैत्री तथा व्यवहारिक बनाउन  सबै सहकारीकर्मीले लाग्नु पर्ने अवस्था रहेको बताए । संघका कोषाध्यक्ष दीपेन्द्र दुलालले त्यस संघको आर्थिक प्रतिवेदन पेश गर्दै यस संघमा आर्थिक वर्ष २०७४/७५ मा प्रारम्भिक सदस्य संख्या ९१ , शेयर पूँजी रु.१३,५६,००० , बचत संकलन रु.६३,७७,१५०/४७ र  कर्जा लगानी रु.५४,७०,२५३ रहेको बताए । संघका उपाध्यक्ष किशोर महर्जनले स्वागत , सचिव सहदेव बञ्जराले सञ्चालन र सञ्चालक सदस्य अर्चणा अमात्यले धन्यबाद ज्ञापन गरेको साधारणसभामा ICA Global Board Member मा निर्वाचित राष्ट्रिय सहकारी महासंघ लि. , नेपालकी उपाध्यक्ष ओमदेवी मल्ल , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारी , राष्ट्रिय सहकारी बैंक लि.को  अध्यक्षमा निर्वाचित के.बी. उप्रेती तथा सो बैंकको सञ्चालक सदस्यमा निर्वाचित रामहरि बजगाई , उत्कृष्ट कारोवार गर्ने वण्डरफुल बहुउद्देश्यीय सहकारी संस्था लि. सुनाकोटी , ललितपुर ,  सो संघका उत्कृष्ट कर्मचारी प्रतिमा बञ्जारा र सहकारी सन्दर्भ पत्रकार कृष्णचन्द्र बस्नेतलाई सम्मान गरियो । त्यस अवसरमा ललितपुर जिल्लाव्यापी अन्तर सहकारी व्याडमिण्टन प्रतियोगितामा प्रथम हुने मनिडो बचत तथा ऋण सहकारी संस्था लि.लाई पुरस्कार वितरण गरिएको थियो ।

 

Leave a Reply