सहकारी उद्यम प्रवर्द्धन राष्ट्रिय कार्यशाला गोष्टि जारी
राष्ट्रिय सहकारी महासंघ लि. , नेपालको आयोजना र भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा हिजोबाट २ दिने ‘सहकारी उद्यम प्रवर्द्धन राष्ट्रिय कार्यशाला गोष्ठी ‘ राजधानीमा शुरु भएको छ । नेपाल सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले सो गोष्ठी उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले सहकारीले कृषि , पर्यटन , जडीबुटी लगायतका उत्पादनशील क्षेत्रमा आफूलाई केन्द्रित गर्नु पर्ने आवश्यकता औल्याए । राष्ट्रिय सहकारी महासंघका लि. , नेपालका अध्यक्ष केशवप्रसाद बडालले सो कार्यशाला गोष्ठी गर्नुको कारण स्पष्ट पार्दै सहकारीकर्मीहरुले प्रदेश र स्थानीय तहसँग सहकार्य गरी अगाडि बढ्नु पर्ने बताए । सहकारीकर्मीहरुले आउदो चैत्र २० गतेको राष्ट्रिय सहकारी दिवसको रातीसम्म प्रदेश र स्थानीय तहहरुमा सहकारी मैत्री सहकारी ऐन निर्माणका लागि लबिङ गर्ने कार्यलाई मुख्य काम बनाएर लाग्नु जरुरी रहेको बताए । त्यस अवसरमा सो महासंघका भूतपूर्व अध्यक्ष तथा भू.पू. गृह राज्यमन्त्री दीपकप्रकाश बास्ककोटा , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल , सहकारी विभागका रजिष्टार शिवकुमार कार्की लगायतले सहकारीमार्फत मुलुको समृद्धि सम्भव रहेको धारणा व्यक्त गरेका थिए । कार्यशाला गोष्ठीमा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले ‘सहकारी उद्यमशीलता प्रवराद्धनका लागि कानुनी व्यवस्था’ , भूतपूर्व मन्त्री तथा सो महासंघका सल्लाहकार गणेश शाहले ‘उद्यमशीलता विकासमा नवीन प्रविधिको प्रयोग’ र विद्वान राजु अधिकारीले ‘व्यवसायिक सफलताको लागि सकारात्मक सोचको विकास’ विषयक कार्यपत्र प्रस्तुत गरेको महासंघ श्रोतले जनाएको छ ।
