प्रतिपक्षको विरोधका बीच प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित , प्रा.डा. गोविन्द के.सी. को आमरण अनसनको समर्थकहरु बढ्दै

प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बीच संसदको प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित भएको छ । आफ्नो १५औँ आमरण अनसनका क्रममा आफूसँग सरकारले गरेको सहमती अनुरुप चिकित्सा विधेयक पारित गर्नु पर्ने लगायतका माग राखी आमरण अनसनरत प्रा.डा. गोविन्द के.सी. को माग वेवास्ता गर्दै प्रतिनिधिसभाबाट बहुमतका आधारमा यो विधेयक पारित भएको थियो । मर्यादा पालकको सहयोगमा रोष्टम पुगेका विज्ञान प्रविधि तथा शिक्षा मन्त्री गिरिरिजमणि पोखरेलले प्रतिनिधिसभामा छलफलका लागि चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेका थिए तर कसैले छलफलमा भाग लिएनन् । सभामुख कृष्णबहादुर महराले बहुमतले यो विधेयक पारित भएको घोषणा गरेका थिए । यसको सत्ताधारी दलका नेता तथा कार्यकर्ताहरुले स्वागत गरे भने प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताहरुले यसको विरोध गरेका थिए । यस घटनाले संसदीय व्यवस्थाको खिल्ली उडाएको कतिपय विश्लेषकहरुको भनाई छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस घटनाको विरोध गरेका छन् । उनले नेपाली काँग्रेसले सदन र सडकबाट आन्दोलन अगाडि बढाउने बताए ।
नेपाली काँग्रेसका भातृ संगठनहरु नेपाल तरुण दल तथा नेपाल विद्यार्थी संघले यस घटनाको विरोधमा प्रदर्शन गरेका थिए । नेपाल विद्यार्थी संघले त्रि-चन्द्र क्याम्पस , नेपाल कमर्श क्याम्पस लगायत अगाडि आमरण अनसनरत प्रा.डा.गोविन्द के.सी. को मागको समर्थन र यस घटनाको विरोधमा प्रदर्शन गरेका थिए । त्रि-चन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताहरु माथि प्रहरीले धरपकड गरेको थियो । जसका कारण प्रदर्शनकारीले ईटा प्रहार गरेका तिए भने प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णहरि भट्ट तथा अखिल नेपाल विद्यार्थी यूनियनका संगठन प्रमुख प्रवीण मिश्रले नेपालको संविधान , २०७२ मा जनताको मौलिक हकको रुपमा उल्लेखितो शिक्षा , स्वास्थ्य जस्ता विषय विपरीत संसदको प्रतिनिधिसभाबाट आज पारित चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन् ।
यता आमरण अनसनरत प्रा.डा. गोविन्द के.सी. ले यसको विरोध गर्दै यसले नागरिक माथि धोकाधडी भएको बताएका छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको चिकित्सकहरुको भनाई छ । उनको मागको समर्थकहरुको संख्या बढिरहेको देखिएको छ । नेपाल चिकित्सक संघले डा. के.सी.को जीवनरक्षाको माग गर्दै ७२ घण्टे अल्टिमेट दिएको छ ।
यता संघीय समाजवादी फोरमका अध्यक्ष उप-प्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारले डा. के.सीसँग गरेको सहमती अनुसार चिकित्सा शिक्षा विधेयक पारित नगरे संघर्षमा उत्रने बताएका थिए । यो विधेयक पारित भएपछि भने उनको प्रतिकृया प्राप्त भएको छैन ।