गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको रिले अनसन आज पनि जारी

326 Shares

पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा एमवीवीएस(MBBS)तहमा अध्ययनरत विद्यार्थीहरुले हिजोबाट शुरु गरेको रिले अनसन आज पनि जारी राखेका छन् । हिजो विद्यार्थीहरुले पत्रकार सम्मेलन गरी रिले अनसन शुरु गरेका थिए । यो रिले अनसन कहिलेसम्म चल्छ भन्ने सहकारी सञ्जालको जिज्ञाशामा आन्दोलनरत  विद्यार्थीहरुले यस गण्डकी मेडिकल कलेज प्रशासनले हाम्रा माग पुरा नगरेसम्म यो रिले अनसन जारी रहने बताए । यदी रिले अनसनबाट पनि तपाईहरुका माग कलेज प्रशासनले पुरा नगरे के गर्नुहुन्छ भन्ने सहकारी सञ्जालको प्रश्नको जवाफ  दिदै आन्दोलनरत विद्यार्थीहरुले ” यदी समयमा यस कलेज प्रशासनले हाम्रा माग पूरा नगरेमा हामी परीक्षा पनि दिदेनौँ र आमरण अनसन शुरु गर्छौँ । हामीलाई यस कलेज प्रशासनले पटक -पटक मरणासन्न अवस्थामा पु-याइरेकाले हामी मर्न पनि तयार छौँ ।

यस कलेजले नेपाल सरकारले तोके बमोजिमको शुल्क मात्रै लिनु पर्ने ,  आफूहरुबाट लिएको बढी शुल्क फिर्ता गर्नु पर्ने र आफूले शुल्क बुझाउदा त्यसको आफूलाई रसिद/ भौचर दिनु पर्ने माग राखी विद्यार्थीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् ।  आन्दोलनका कारण कलेजको पठन पाठनमा राम्रोसँग हुन सकिरहेको छैन ।

यता सो कलेज प्रशासनले भने विद्यार्थीहरुको मागप्रति चासो देखाएको छैन । नेपाल सरकारले काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजका लागि MBBS कार्यक्रम सञ्चालन गर्न रु.३८,५०,००० शुल्क तय गरे पनि सो कलेजले भने विद्यार्थीहरुबाट रु.५६ लाखसम्म शुल्क लिइरहेको आन्दोलनरत विद्यार्थीहरु तथा तिनका अभिभावक बताउछन् ।

अखिल नेपाल विद्यार्थी यूनियनका संगठन प्रमुख प्रवीण मिश्रले “त्रिभुवन विश्वविद्यालय , चिकित्सा शास्त्र अध्ययन संस्थान र अखिल नेपाल विद्यार्थी यूनियन वीच गत पुसमा भएको सहमती अनुरुप सो कलेजले यथाशीघ्र विद्यार्थीहरुका माग पुरा गरी कलेजमा अध्ययन अध्यापनको वातावरण बनाउनु पर्ने र त्यसका लागि त्रिभुवन विश्वविद्यालयले यथाशीघ्र समस्या समाधानका लागि आवश्यक भूमिका निर्वाह गरोस् ” भने ।

गत पुसमा त्रिभुवन विश्वविद्यालय , चिकित्सा शास्त्र अध्ययन संस्थान र अखिल नेपाल विद्यार्थी यूनियन वीच नेपाल सरकारले तोकेकोभन्दा बढी शुल्क मेडिकल कलेजहरुले  लिएको पाइएमा तिनीहरुलाई कारवाही गर्ने , कलेजले लिएको बढी शुल्क सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्ने लगायतका विषयमा सहमती भएको थियो ।

गण्डकी मेडिकल कलेज पोखराका ती विद्यार्थीहरुले नेपाल सरकारले तोकेभन्दा बढी सो कलेजले आफूहरुबाट  लिएको शुल्क फिर्ता गर्नु पर्ने लगायत माग राखेर संघर्ष गरेको महिना दिन बित्न लाग्दा पनि त्रिभुवन विश्वविद्यालय चुपचाप रहेको पाइएको छ ।

Leave a Reply