स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अन्यौलमा

त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्यामपस तथा नेपाल संस्कृत विश्वविद्यालयका विद्यापीठहरुमा स्वतन्त विद्यार्थी युनियनको चुनाव यस वर्ष हुने हो कि होइन भन्ने अन्यौल देखिएको छ । सामान्यतया हरेक २/२ वर्षमा स्व.वि.यु.निर्वाचन हुने गरे पनि क्याम्पस तथा विद्यापीठहरुमा यस बेलासम्म स्व.वि.यु. निर्वाचन सम्बन्धी गतिविधि देखिएको छैन । अखिल तथा ने.वि.संघ आन्तरिक विवादमा रहेकोले स्व.वि.यु. निर्वाचनको चहलपहल नबढेको बताइएको छ । नेकपा (एमाले) र एनेकपा (मावोवादी) वीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपनि तिनीहरुको विद्यार्थी संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी)  वीच एकता हुन सकेको छैन भने ने.वि.संघको आन्तरिक किचलोले सो संघका अध्यक्ष नैनसिहं महर सहितका केही नेताहरुले पदबाट राजिनाम गरेको अवस्था छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले यही आउदो फागुन १४ गते स्व.वि.यु. चुनाव हुन नसके यस वर्ष सो निर्वाचन हुन सक्ने अवस्था नरहेको बताइरहेको खबर शार्वजनिक भइरहेको छ । यसबाट यो वर्ष स्व.वि.यु. निर्वाचन हुने सम्भावना न्युन बन्दै गएको देखिन्छ।

यता हिजो बसेको अनेरास्ववियु र अखिल(क्रान्तिकारी)को संयुक्त बैठकले यही फागुन २ गतेभित्र स्व.वि.यु. निर्वाचनको कार्यतालिका शार्वजनिक नगरिए आन्दोलनमा उत्रिने निर्णय  गर्नुका साथै  भोलि फागुन १गते मावोवादी जनयुद्ध दिवसको सन्दर्भमा साँझ दीप प्रज्वलन गर्ने बताइएको छ । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल विद्यार्थी यूनियन , विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी- मावोवादी) निकट दुइटै अखिल क्रान्तिकारी ,  अखिल छैटौँ , अखिल (पाँचौँ) , ने.क्रा.वि.संघ  , संघीय समाजवादी फोरम निकट संघीय विद्यार्थी संगठन लगायतका विद्यार्थी संगठनहरु आउदो फागुन १४ गते स्व.वि.यु. निर्वाचन हुनु पर्ने माग गरिरहेका छन् ।  केही विद्यार्थी संगठनहरु त्रि.वि.को विनियम परिवर्तन गरी समानुपातिक निर्वाचन प्रणालीबाट स्व.वि.यु. चुनाव गर्नु पर्ने माग गरिरहेका छन् भने ने.वि. संघ , अखिल (छैटौँ) सहितका केही विद्यार्थी संगठनहरु मौजुदा निर्वाचन प्रणालीमा परिवर्तन हुन नहुने पक्षमा देखिन्छन् । 

Leave a Reply