गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुको रिले अनसन यथावत , वार्ता निश्कर्ष विहीन

360 Shares

गण्डकी मेडिकल कलेज , पोखराका विद्यार्थीहरुको रिले अनसन जारी रहेको समाचार प्राप्त भएको छ । हिजो कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीको रोहवरमा त्रिभुवन विश्वविद्यालय , NMC , गण्डकी मेडिकल कलेज प्रशासन , नागरिक समाज र आन्दोलनरत विद्यार्थीका प्रतिनिधि वीचको वार्ता सो कलेजका अध्यक्ष खुमा अर्यालले विद्यार्थीहरुबाट लिएको शुल्क फिर्ता गर्न नमानेपछि वार्ता विना निष्कर्ष टुंगिएको सो वार्तामा सहभागी विद्यार्थीको भनाई छ । गण्डकी मेडिकल कलेजको पुस्तकालयमा भएको वार्तामा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरु डा. पुस्करनाथ घाइखोला , डा. ओम बराल र बाबुराम दाहाल , NMC का प्रतिनिधिहरु डा.विश्वराज दवाडी , डा. कालुसिंहखत्री र डा. सुनीलकुमार शाह , सो कलेजकातर्फबाट अध्यक्ष खुमा अर्याल , प्रिन्सिपल रविन्द्रप्रसाद श्रेष्ठ , परीक्षा नियन्त्रक लक्ष्मण शर्मा ,CAO कृष्ण घिमिरे  , नागरिक समाजकोतर्फबाट ऋषि सापकोटा , आन्दोलनरत विद्यार्थीहरुकोतर्फबाट मनीष भट्टराई , प्रवीण गौतम , परिवर्तन भाट , अनित सिन्हा , मंगोलराज थिङ र रविना मिश्र सहभागी हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालयका डा. पुस्करनाथ घाइखोला , डा.ओम बराल र बाबुराम दाहालको अनुगमन टोली यही मंगलबार गण्डकी मेडिकल कलेज , पोखरा पुगेर सो कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीहरुसँग छलफल शुरु गरेको थियो । त्यसै गरी NMC को डा. विश्वराज दवाडी , डा. कालुसिंह खत्री र डा. सुनीलकुमार शाह रहेको अनुगमन टोली पनि गण्डकी मेडिकल कलेजमा पुगेर आफ्नो काम गरिरहेको छ ।

नेपाल सरकारले तोकेभन्दा बढी कलेजले आफूहरुबाट लिएको बढी शुल्क फिर्ता हुनु पर्ने , आफूले तिरेको शुल्कको भरपाई या रसिद पाउनु पर्ने सहितका ४ सुत्रीय माग राखी सो कलेजका MBBS का विद्यार्थीहरुले गएको  १८ गतेबाट आन्दोलन शुरु गरेका थिए  । पोखराको पृथ्वी चोकमा रहेको सो कलेजखो  शिक्षण अस्पताल परिसरमा विगत १४ दिनदेखि विद्यार्थीहरु रिले अनसन बसिरहेका छन् भने सो अस्पतालको ओ.पी.डी. सेवा तथा कलेज प्रशासनमा तालावन्दी गरिएको छ । समस्या समाधान नभएसम्म भोलिबाट सञ्चालन हुने MBBS तेस्रो वर्षको परीक्षामा विद्यार्थीहरु सहभागी नहुने अडान लिएका छन् ।  आई.ओ.एम.ले यही फागुन ९ गतेसम्म परीक्षा फारम भर्ने समय तय गरे पनि उनीहरूले परीक्षा फारम समेत भरेका छैनन् ।

यता वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द के.सी.ले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी  गण्डकी मेडिकल कलेज लगायत अन्य विभिन्न कलेजले विद्यार्थीहरुसँग चर्को शुल्क असुलेको विषयमा विद्यार्थीहरु आन्दोलनमा उत्रिदा समेत नियमन निकायले ध्यान नदिनु दुर्भाग्यपूर्ण हो भन्दै

उहाँले  नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिने सम्बन्धित कलेज सञ्चालकहरुलाई कडा फौजदारी कारवाहीको माग गर्नु भएको थियो ।

त्यसैगरी अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख

प्रवीण मिश्रले एक विज्ञप्ती प्रकाशित गरी गण्डकी मेडिकल कलेज , पोखराका आन्दोलनरत विद्यार्थीहरुले उठान गरेका समस्या अबिलम्व समाधान गरी सबै विद्यार्थीहरुलाई परीक्षामा सहभागी गराउन र सो कलेजमा नियमित अध्ययन अध्यापन लगायतका कार्य सुचारु गर्ने वातावरण बनाउन सम्बन्धित सरोकारवाला पक्षलाई आग्रह गर्नु भएको छ । अन्यथा अखिल नेपाल विद्यार्थी यूनियन थप आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उहाँको भनाई छ ।

Leave a Reply