प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सहकारीको माध्यमबाट मात्रै सफल हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले बर्तमान सरकारले अगाडि बढाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सहकारीको माध्यमबाट मात्रै सम्भव हुने बताउनुभयो । हिजो भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय , राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी महासंघ लि. ले संयुक्त रुपमा ६२औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ‘नेपालको संविधान , २०७२ मा अर्थतन्त्रको तीन खम्बामध्ये सहकारीलाई एक खम्बाको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै सहकारीले बचत र लगानीलाई भन्दा उत्पादनलाई बढ्ता जोड दिनुपर्छ’ भन्नुभयो । सरकारले २ वर्षभित्र  देशका सबै जिल्लाहरुमा १/१ वटा कृषि बजार स्थापना गर्ने र एक वर्षभित्र सडक सञ्जाल नजोडिएको हुम्ला जिल्लामा सडक सञ्जालले जोडिसक्ने बताउनुभयो । हामीले भरखरै लगानी सम्मेलन गरिसकेका छौँ र त्यो लगानी सम्मेलन गर्नुको उद्देश्य स्वदेशमा विदेशी पूँजी र प्रविधि भित्र्याउनु रहेको उहाँको भनाई थियो । यतिबेला सुन्तला , मुला , लौका  लगायतलाई पागल बनाएर तिनको मौलिकता नष्ट गरिरहेको बेला हामीले सहकारीको माध्यमबाट ठूलो परिमाणमा अर्गानिक फलफूल तथा तरकारी लगायतका खानेकुरा उत्पादन गर्न सक्यौँ भने राम्रो मुल्य पाउन सकिने उल्लेख गर्दै सडक भन्दा टाढा तत्काल नबिग्रिने ओखर , रुद्राक्ष लगायतको खेती र सडक छेउमा तरकारी लगायतको खेती गर्दा राम्रो हुने बताउनुभयो । बजार पाइएन भनेर तरकारी , दूध जस्ता जिनीस बाटोमा घोप्ट्याउनुको साटो दूधलाई कुराउनी वा जमाएर दही , घिऊ बनाएर बेच्न सकिने , मूला विकेन भने त्यसलाई चाना काटेर आचार या सिन्की बनाएर पनि बेेेेच्न सकिनेमा उहाँको जोड थियो ।  शुरुवाती बेलामा सहकारी सर्भाइभको चरणबाट अगाडि बढेपनि अब सहकारी व्यवसायिक , प्रतिस्पर्धी , प्रविधिको प्रयोग गर्दै समृद्धीको  निम्ति अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो । सो अवसरमा बोल्दै भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्याकुमारी अर्यालले नेपालमा २०१३ सालबाट शुरु भएको सहकारी अभियानले  देशको कूल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत योगदान गरेको , यसको कूल कारोवार १८ देखि २० प्रतिशत रहेको , देशभर ३४,५१२ वटा सहकारी संस्था सञ्चालनमा रहेको , तिनमा ६३ लाख मानिसहरुको सहभागिता रहेको र ६० हजारले सहकारीमा रोजगार पाएको उल्लेख गर्नु हुदै ‘सहकारीलाई नेपालको संविधानमा अर्थतन्त्रको तीन खम्बामध्येको एक खम्बाको रुपमा व्यवस्था गरिएकोले अब सहकारी एक्लै नभई सरकारी र सहकारी सँगसँगै अगाडि जाने’ बताउनुभयो । रु. ५० करोडभन्दा माथि कारोवार गर्ने सहकारी संस्थगहरुको लागि छुट्टै अनुगमन गर्ने संयन्त्र बनाउने र  सहकारी मर्ज गर्ने गरी सहकारी नियमावली आएकोले सहकारी संस्थाहरुलाई मर्ज गरी गुणस्तरीय सहकारी निर्माण अगाडि बढाउने बताउनुभयो ।  त्यस अवसरमा काकुन , न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले २०७५ साल कानून निर्माण र कानुन कार्यान्वयनको वर्षको रुपमा  रहेको उल्लेख गर्दै २ वटा विद्येयक मात्र  बहुमतका आधारमा संसदबाट पारित भएको र ती बाहेक कानुनहरुको निर्माण र कार्यान्वयन सत्तापक्ष र प्रतिपक्षको आपसी सहमतीमा भएको बताउनुभयो । उहाँले सहकारी नियमावली क्याविनेटबाट पास भई विधायन समितिमा गएकोले यो जारी हुने क्रमको अतिम चरणतिर पुगेको बताउनुभयो । सोही अवसरमा राष्ट्रिय सहकारी महासंघका लि. का अध्यक्ष केशबप्रसाद बडालले बारा र पर्सामा हावाहुरीले पु-याएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तराईलाई दुख्ता पहाडले र पहाडलाई दुख्ता तराईले सहयोग गर्नु पर्ने मान्यता बमोजिम बारा र पर्साका हावा हुरी पीडितलाई  सबै सहकारी संघ/संस्थाले सकेको सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नेपालको सहकारी अभियानको अबस्थाबारे चर्चा गर्नु हुदै सहकारीको माध्यमबाट कि.वी. खेती लगायतको व्यवसायिक उत्पादनमा लाग्नु  पर्नेमा  जोड दिनुभयो ।

त्यस अवसरमा बोल्दै नेपाल केन्द्रीय कृषि सहकारी संघ लि. का अध्यक्ष खेमबहादुर पाठकले नेपाल केन्द्रीय कृषि सहकारी संघ लि. र कृषि सहकारी संस्था लि.हरुले गरिरहेको कामको चर्चा गर्नु हुँदै कृषि सहकारी संस्थाहरुले पछाडि परेका राउटे , मुसहर र वनकरियाहरुको जीवनस्तर उठाउन गरेको योगदान र औपचारिक शिक्षा विना नै सिराहाका गरिव गंगा मुखिया सहकारी कै कारण  माछाको डाक्टर बनेको प्रसङ्ग उल्लेख गर्नभयो ।

भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय सहकारी महासंघ लि. का वर्तमान अध्यक्ष केशबप्रसाद बडाल तथा भूतपूर्व अध्यक्ष दीपकप्रकाश बासकोटा र नेपाल केन्द्रीय कृषि सहकारी संघ लि. का अध्यक्ष खेमबहादुर पाठकलाई लाई जनही रु.१ लाख ५० हजार  राशीको पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो । त्यसैगरी  उहाँले  नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. मेचीनगर , झापा , साना किसान कृषि सहकारी संस्था लि.धनुषा , जनसचेतना बचत तथा ऋण सहकारी संस्था लि.दोलखा , जिल्ला दुग्ध सहकारी संघ लि. बागलुङ , सिको बचत तथा ऋण सहकारी संस्था लि , वर्दिया , नवजीवन सहकारी संस्था लि., धनगढी र लाटीकोइरी  साना किसान कृषि सहकारी संस्था लि. सुर्खेतलाई रु.२ लाख राशीको पुरस्कार तथा प्रमाणपत्र र कारोवार दैनिक पत्रकार यादव हुमागाई र नयाँ पत्रिका देनिकका पत्रकार  मुना कुँवरलाई जनही  रु. ५० हजार राशीको पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय र यूएनडीपी (UNDP) ले शुरु गरेको गरेको बजार विकास कार्यक्रम (CMDP ) को स्वीच अन गरेर उद्घाटन गर्नुभयो । ललितपुर , धादिङ , चितवन ,  नुवाकोट , काभ्रेपलाञ्चोक र मकवानपुरमा शुरु गरिएको यो कार्यक्रम क्रमश: सातै प्रदेशमा कार्यान्वयनमा लाने भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री अर्यालको भनाई छ । यस कार्यक्रम अन्तर्गत किसानले उत्पादन गरेको तरकारी तथा फलफुलको लागि बजार व्यवस्था गरी किसानको आम्दानीमा बृद्धि  गरी उनीहरुको जीवनस्तरमा सुधार गर्ने र  उपभोक्तालाई उचित मुल्यमा तरकारी तथा फलफूल उपलव्ध गराउने लक्ष्य रहेको उहाँको कथन छ ।

Leave a Reply