नेफ्स्कूनको नेतृत्व विकास तथा रणनीतिक योजना निर्माण तालिम नगरकोटमा जारी , नेफ्स्कूनले आफ्नो ३२औँ स्थापना दिवसमा प्रदान गर्ने पुस्कारका लागि ग-यो आवेदन माग
संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (FAO), अन्तराष्ट्रिय श्रम संगठन (ILO) र अन्तराष्ट्रिय तालिम केन्द्र (ITCILO) को सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रतिनिधिहरुको नेतृत्व विकास तथा रणनीतिक योजना निर्माण तालिम यही असार १ देखि भक्तपुरको नगरकोटमा सञ्चालन भइरहेको छ ।असार ६ गतेसम्म सञ्चालन हुने उक्त ६ दिवसीय तालिमको उद्घाटन भूमि व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गर्नुभएको थियो । उद्घाटन मन्तव्य व्यक्त गर्नु हुँदै सचिव मैनालीले सहकारीको कार्यक्षेत्र ठूलो बन्दै गइरहेको छ र जोखिम पनि बढ्दो अवस्थामा देखिएको हुँदा जोखिम न्युन गर्न सहकारी संघले तत्काल स्थिरीकरण कोषको शुरुवात गर्नु पर्नेमा जोड दिनुभयो ।


त्यस अवसरमा नेफ्स्कूनका अध्यक्ष डी.बी. बस्नेतले सहकारी ऐन , २०७४ सहकारी नियमावली , २०७५ मा स्थिरीकरण कोष सञ्चालनको जिम्मेवारी संघलाई तोकिएकोसँगै सहकारी अभियानको धेरै अगाडि देखिको प्रयास सफल भएको महशुस गरिएको बताउनुभयो । स्थिरीकरण कोष सञ्चालनका लागि सरोकारवाला नियकायहरुसँग प्रतिनिधिहरु पठाउन अनुरोध गरिएको र नेफ्स्कून तत्काल कार्यविधि बनाएर अगाडि बढ्ने तयारीमा रहेको उहाँको भनाई थियो
नेफ्स्कूनका अध्यक्ष बस्नेतको अध्यक्षतामा चलिरहेको उक्त तालिममा भूमि व्यवस्था , सहकारी तथा गरिवी मन्त्रालय , नेपाल राष्ट्र बैंक , राष्ट्रिय सहकारी महासंघ लि. , राष्ट्रिय सहकारी विकास बोर्ड , FAO , ILO र ITCILO का प्रतिनिधिका साथै नेफ्स्कूनका पदाधिकारी , सञ्चालक, लेखा समिति र कर्मचारी गरी ३२ जनाको सहभागिता रहेको छ । उक्त आवासीय तालिम पश्चात नेफ्स्कूनको आगामी रणनीतिक कार्यदिशाहरु समेत तय गर्ने विश्वास लिइएको नेेफ्स्कून स्रोतले जनाएको छ ।
यता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आफ्नो २०७६ श्रावण ३२ गते हुने ३२ औं स्थापना दिवसको असरमा घोषणा हुने नेफ्स्कून सर्वोत्कृष्ट संस्था सम्मान, नेफ्स्कून सर्वोत्कृष्ट प्रादेशिक संस्था सम्मान , नेफ्स्कून उत्कृष्ट जिल्ला बचत संघ सम्मान , नेफ्स्कून उत्कृष्ट व्यवस्थापन पुरस्कार , नेफ्स्कून उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कारका लागि २०७६ श्रावण १५ गते भित्रमा आवेदन माग गरेको जनाएको छ । नेफ्स्कूनको वेवसाईटको डाउनलोड फोल्डरमा राखिएको आवेदन फारम डाउनलोड गरी वा नेफ्स्कूनको केन्द्रीय कार्यालय वा फिल्ड कार्यालयहरु मार्फत फारम प्राप्त गरी आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको नेफ्स्कूनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
