अबको सहकारी अभियान नेतामुखीभन्दा सदस्यमुखी हुनुपर्दछ

0 Shares

– लेखनाथ पौडेल , सचिव तथा प्रबन्ध निर्देशक , इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि. , बालाजु , काठमाडौं

 

बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. : १२  , अमलाचौर -बरडाँडामा जन्मिनुभएका लेखनाथ पौडेल  काठमाडौंको बालाजु चोकमा रहेको ईको हिमाल बचत तथा ऋण सहकारी संथा लि.को सचिव तथा प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले गर्नु भएको छोटो कुराकानीको सम्पादित अंश यस प्रकार प्रस्तुत गरिएको छ।

१. ईको हिमाल बचत तथा ऋण सहकारी संथा लि.को गतिविधिको बारेमा बताइदिनुहुन्छ कि ?

~ २०६५ सालमा स्थापना भएको ईको हिमाल बचत तथा ऋण सहकारी संस्था लि. ले काठमाडौंको बालाजु चोकमा रहेको आफ्नो कार्यालयबाट सदस्यहरुलाई सेवा सुविधाहरु प्रदान गर्दै आइरहेको छ । हामीले यस संस्था मार्फत सदस्यहरुको स -सानो बचत रकम संकलन गरी उहाँहरुलाई आबश्यक परेको समयमा कर्जा रकम उपलब्ध गराउदै आइरहेका छौँ। यसका साथसाथै यसले सदस्ययहरूको आर्थिक अबस्थामा सुधार ल्याउने र  सदस्यका आबश्यकता अनुरुपका अन्य सेवा उपलब्ध गराउने कार्य गर्दै आइरहेको छ । विभिन्न रेमिट्यान्स कम्पनीहरु मार्फत रकम बाहिर पठाउने तथा बाहिरबाट आएको रकम सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने , सदस्यहरुको बिद्युत महशुल , टेलिफोन/मोबाईलको महशुल भुक्तानी गर्ने लगायत सदस्य हितका अन्य कार्यहरु हामी गर्दै आईरहेका छौ ।

२. ईको हिमाल बचत तथा ऋण सहकारी संथाको सदस्य संख्या र शेयर, बचत तथा कर्जाको अबस्थाको बारेमा पनि केही बताईदिनुहुन्छ कि ?

~ईको हिमाल बचत तथा ऋण सहकारी संथा लि. ले अहिले झन्डै ५०० को हाराहारीमा रहेका सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । यस संस्थाको अहिलेको शेयर पूँजी झण्डै रु. १ करोड ७५ लाख रहेको छ भने सदस्यहरुबाट संस्थाले झन्डै २० करोड बराबरको बचत संकलन गरी सोही अनुपातमा कर्जा लगानी गरेको छ । संस्थाले अधिकांश कर्जा लगानी घर जग्गा धितो राखेर सदस्यहरुलाई मात्र गर्दै आइरहेको र त्यसको असुली दर पनि राम्रो भएको हुनाले सदस्यहरुको बचत पूर्ण रुपमा सुरक्षित रहेको छ ।

३. सदस्यले किन ईको हिमाल बचत तथा ऋण सहकारी संस्थामा नै सदस्य हुने र कारोबार गर्ने त ? यसका सदस्यहरुले गर्ब गर्न लायक संस्थाका कार्यहरु केही छन् ?

~हामीले यो संस्था स्थापना भएको बर्षदेखि नै सदस्यहरुलाई शेयर लाभांश उपलब्ध गराउंदै आइरहेका छौँ । बैंक तथा वित्तीय संस्थाको तुलनामा हामीले बचतकर्ता सदस्यहरुको बचत रकममा बढी ब्याज दिंदै आएका छौँ भने ऋणी सदस्यहरुलाई समेत सरल प्रक्रियाबाट छोटो समयमा नै कर्जा प्रबाह गर्दै आएका छौँ ।  यसका अतिरिक्त सदस्यको बिद्युत , टेलिफोन , मोबाईल , खानेपानी लगायतको महशुल तिरिदिने र हवाई यात्राको टिकट समेत खरिद गरिदिने ब्यबस्था पनि गर्दै आईरहेका छौ । यतिमात्र होइन हामीले सदस्यको सुख दु:खमा हातमालो गर्दै सदस्यलाई आबश्यकता अनुसार अन्य सेवा सुविधाहरु समेत उपलब्ध गराउन हरपल प्रयासरत रहदै आएका छौँ।  

४. ईको हिमाल बचत तथा ऋण सहकारी संस्थाको आगामी कार्यक्रमका बारेमा केही बताई दिनुहुन्छ कि ?

~ यस संस्थाले माथि उल्लेखित सेवा र कार्यक्रमलाई निरन्तरता दिंदै बदलिदो समय र परिस्थिति अनुरुप सदस्यहरुका आबश्यकताका बारेमा अध्ययन गरी सहकारी मूल्य र मान्यताको परिधिभित्र रहेर सदस्यहरुलाई थप सेवा र सुविधाहरु उपलब्ध गराउन यसको सञ्चालक समिति प्रतिबद्द रहेको छ । निकट भविष्यमा हामीले आफ्नै भवनबाट सदस्यहरुलाई सेवा दिने गरी कार्य योजना अगाडि  बढाई सकेका छौँ।

५. नेपालको सहकारी आन्दोलनको बारेमा तपाईको धारणा के छ ?

~नेपालको सहकारी आन्दोलनका बारेमा मेरो कुनै नकारात्मक धारणा छैन । समग्र सहकारी क्षेत्रले कसरी यो देशको आर्थिक बिकासमा अझ बढी योगदान दिन सक्दछ अनि सहकारी क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रारम्भिक सहकारीकर्मीहरुको भावनाको प्रतिनिधित्व गर्दै सहकारीका जिल्ला संघहरु , केन्द्रीय संघहरु र महासंघ लागेको देखिन्छ । यो स्वागतयोग्य कदम नै हो तर कहिलेकाँही सहकारी आन्दोलन सदस्यमुखी भन्दापनि नेतामुखी भएको जस्तो देखिने गरेको छ । त्यसैले मेरो बिचारमा अबको सहकारी आन्दोलन नेतामुखीभन्दा सदस्यमुखी हुनुपर्दछ । सहकारीमा हाम्रो भन्दा पनि राम्रो मान्छेले स्थान पाउने , भ्रमण,  तालिम , अनुदान आदिमा तेरो मेरो नगरी सहकारीको भन्ने भावनाले काम गर्न सकेको खण्डमा सहकारी अभियानको सान्दर्भिकता अझ बढ्ने देख्दछु । सहकारीका माध्यमबाट सदस्यको आर्थिक अबस्था सुधार गर्न सकेको खण्डमा यो देशको गरिबी र पछौटेपन हट्न सक्दछ अनि मात्र अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा रहेको सहकारी क्षेत्रको महत्व र भूमिका फराकिलो हुन सक्दछ । 

Leave a Reply