अग्रजहरुसँग सल्लाह गरेर काम गर्ने छु : पर्यटनमन्त्री योगेश भट्टराई

नवनियुक्त संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नि:वर्तमान संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रविन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा आएको बताउनु भएको छ । आजै संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त हुनुभएका भट्टराईले अपरानह राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सफथ लिएपछि संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गएर पदभार ग्रहण गरेपछि सो कुरा बताउदै उहाँले मभन्दा रविन्द्र अधिकारी नै यो मन्त्रालय हाक्न योग्य हुनुहुन्थ्यो तर परिस्थिति नै फरक भयो’ भन्नुभयो । उहाँले आफू अग्रजहरुसँग सरसल्लाह गरेर काम गर्ने बताउनुभयो ।
विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिको भ-याङ्ग चढ्नु भएका उहाँ नेकपा (एमाले) निकटको अनेरास्ववियूको अध्यक्ष हुँदा रविन्द्र अधिकारी कोषाध्यक्ष र त्यसपछि सचिव हुनुहुन्थ्यो भने २०५४ सालमा नेकपा (एमाले) विभाजन भई नेकपा (माले) बनेपछि त्यसको विद्यार्थी संगठन अनेरास्ववियूको योगेश भट्टराई अध्यक्ष बन्दा रविन्द्र अधिकारी महासचिव हुनुहुन्थ्यो । पार्टी राजनीतिमा पनि योगेश भट्टराई रविन्द्र अधिकारीभन्दा अगाडि हुनुहुन्थ्यो तर संसदीय फाँट र मन्त्री बन्ने अवसर भने योगेश भट्टराईभन्दा अगाडि रविन्द्र अधिकारीले पहिले पाउनुभयो । यी दुई नेता वीच साह्रै घनिष्ठ सम्बन्ध रहेको बताइन्छ ।
आज संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नु भएका भट्टराई क्षमता भएका लोकप्रिय नेता मानिनु हुन्छ । मन्त्री बन्नु भएकोमा उहाँलाई बधाई दिनेहरुले राजनीतिक गतिविधिले नागरिकहरुमा निराशा बढिरहेको बेला उहाँबाट नागरिकमा आशा जगाउने खाले काम हुनु पर्ने बताइरहेका छन् ।
ताप्लेजुङबाट अत्यधिक मतका साथ संघीय संसदको प्रतिनिधिसभा सदस्य बन्नु भएका भट्टराई निर्वाचित भएमा मन्त्री पक्का भनेर तत्कालीन नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहालले २०७४ को चुनावको बेला ताप्लेजुङबासीहरुलाई आश्वासन दिनु भएको थियो तर बर्तमान सरकार बन्दा शुरु मै उहाँ मन्त्री नबनेपछि ताप्लेजुङबासीहरच बर्तमान सरकारप्रति प्रशन्न देखिएका थिएनन् ।