बिभिन्न कार्यक्रम गरी ४०औं शिक्षा दिवस तथा सारक्षता दिवस देशभर मनाइयो

आज विभिन्न कार्यक्रम गरी ४०औँ शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर मनाइएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क’ श्रेणीका २३१ जना , ‘ख’ श्रेणीका १०१ जना , ‘ग’ श्रेणीका ११ जना , स्नातक तहतर्फको नेपाल छात्रा विद्यापदकतर्फ २३ जना र कक्षा १२ बाट ७ जनालाई पदक तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।
आजै शिक्षा दिवस मूल समारोह समितिको आयोजनामा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा नेपाल सरकारका उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम सम्पन्न भयो । त्यस अवसरमा प्रमुख अतिथि पोखरेलले बर्तमान सरकारको आधार वर्ष सकिएको र त्यही आधार वर्षमा टेकेर बर्तमान सरकारले देशबासीलाई सेवा प्रदान गर्ने बताउनुभयो । बर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई योजनामा बदलेर अगाडि बढिरहेको बताउदै यो योजनाको आधार शिक्षा क्षेत्रमा श्रम , उत्पादन , रोजगारी र राष्ट्रको स्वाभिमानसँग जोडिएको व्यवसायिक तथा प्राविधिक शिक्षाको खाँचो रहेको बताउनुभयो । सो अवसरमा शिक्षा दिवस मूल समारोह समितिका अध्यक्ष तथा नेपाल सरकारका शिक्षा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शहर र गाउँ वीचमा शिक्षामा खाडल रहेको बताउदै नयाँ शिक्षा नीति मन्त्रीपरिषदमा प्रक्रियामा छ भन्नुभयो । प्रधानाध्यापक समर्पित र शिक्षकहरुको सामुहिक योगदानबाट मात्रै सार्वजनिक शिक्षण संस्थाहरुको गुणस्तर बृद्धि हुने बताउनुभयो ।
सिंगापुरबाट उपचार गरी फर्किनु भएका सम्माननीय प्रधानमन्त्री ज्यू अस्वस्थताका कारण सार्वजनिक कार्यक्रममा आउन नसक्नुभएको उहाँको भनाई थियो ।
हामी सबैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ भन्ने नाराका साथ मनाइएको ४०औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको सो विशेष कार्यक्रममा प्रमुख अतिथि पोखरेल तथा शिक्षा विज्ञान प्रविधिमन्त्री पोखरेलले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा(कक्षा १२) मा राष्ट्रिय स्तरमा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट हुने श्री अमरसिंह मा.वि. पोखरा , कास्की , द्वितीय हुने श्री सुकुना मा.वि. इन्द्रपुर , मोरङ र तृतीय हुने श्री भवानी मा.वि. फलेवास , पर्वतलाई क्रमश: रु. ३ लाख , रु. २ लाख र रु. १लाख पुरस्कार , प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यसैगरी उहाँहरुले सोही तहको संस्थागत विद्यालयतर्फ राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट हुने श्री एस.ओ.एस. हर्मन माइनर मा.वि. कास्की , द्वितीय हुने श्री नेपाल पुलिस स्कुल , साँगा , काभ्रेपलाञ्चोक र तृतीय हुनेश्री सेन्ट जेभियर्स कलेज , माइतीघर , काठमाडौंलाई पनि क्रमश: रु. ३ लाख , रु.२ लाख र रु.१ लाख पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नुभयो ।
त्यस्तै उहाँहरुले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा सामुदायिक विद्यालयतर्फ राष्ट्रिय स्तरमा सर्बोत्कृष्ट हुने श्री मेघा मा. वि. तेखापुखु , भक्तपुर , द्वितीय हुने श्री रेसुङ्गा मा.वि. तम्घास , गुल्मी र तृतीय हुने श्री तरुण मा.वि. बालाजु , काठमाडौंलाई क्रमश: रु.३ लाख , रु.२ लाख र रु. १ लाख पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यसैगरी उहाँहरुले सोही तहको संस्थागत विद्यालयतर्फ राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट हुने श्री रिलायन्स इन्टरनेशनल एकेडेमी , कपन , काठमाडौं , द्वितीय हुने श्री नेपाल पुलिस स्कुल , साँगा , काभ्रेपलाञ्चोक र तृतीय हुने श्री भ्याली न्यु इङ्लिस स्कुल , नयाँ बानेश्वर , काठमाडौंलाई पनि क्रमश: रु.३ लाख ,रु.२ लाख र रु.१ लाख परस्कार तथा प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यसैगरी उहाँहरुले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट छनौट भएका आंगिक शिक्षालयहरुमध्ये श्री बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी , बालाजु , काठमाडौं , सो परिषदबाट सम्बन्धन प्राप्त गरी साझेदारीको रुपमा सञ्चालित शिक्षालय र संस्थाहरुमध्ये श्री तानसेन स्कुल अफ हेल्थ साइन्स , तानसेन , पाल्पा र सामुदायिक विद्यालयमा प्रविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयहरुमध्ये श्री जनज्योति मा.वि. सिञ्धुलीलाई रु.१ लाख पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नु भएको थियो । त्यस्तै उहाँहरुले विश्वविद्यालय अनुदान आयोगबाट छनौट भएका उत्कृष्ट आंगिक क्याम्पसतर्फ श्री पुल्चोक क्याम्पस , पुल्चोक , ललितपुर , उत्कृष्ट सामुदायिक क्याम्पसतर्फ श्री जे.एस.मुरारका बहुमुखी क्याम्पस , लाहान , सिरहा र उत्कृष्ट निजी क्याम्पसतर्फ श्री काठमाडौं बर्नहार्ट कलेज , बाफल , काठमाडौंलाई रु.२ लाख ५० हजार पुरस्कार र प्रमाण-पत्र प्रदान गर्नुभयो । त्यस अवसरमा उहाँहरुले शैक्षिक स्मारिकाको पनि विमोचन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा ई.पी.एस. स्कुल , मीनभवन , काठमाडौंले राष्ट्रिय गान , भी.एस. निकेतन मा.वि ,, काठमाडौंले राष्ट्रिय नृत्य , बज्रबाराही मा.वि. , ललितपुरले तामाङ सेलो , अनलज्योति इ.बो. स्कुल , ललितपुरले धिमाल नृत्य , एभरेष्ट मा.वि. भक्तपुरले कुमारी नृत्य , प्रोग्रेसिभ इ. स्कुल , काठमाडौंले कौडा नृत्य , ब्राइट फ्युचर इ. स्कुल , काठमाडौंले सोरठी नृत्य , सैनिक आवासीय महाविद्यालय , भक्तपुरले टप्पा नृत्य , नाइटिङ्गेल मा.वि. , ललितपुरले साखिया नृत्य र तिलिङ्टार मा.वि. , तिलिङ्टार , काठमाडौंले हुड्केलो नृत्य प्रस्तुत गरेका थिए ।
सो कार्यक्रम हल बाहिर बिभिन्न शैक्षिक लगायतका सामाग्रीहरुको स्टल राखिएका थिए भने नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा बिभिन्न शिक्षण संस्थाहरुले सांस्कृतिक पहिचान सहितको झाँकी प्रदर्शन गरेका थिए ।