जनता साकोस , चित्रपुरको ११औँ वार्षिक साधारणसभा सम्पन्न , शेयर पूँजी रु. २ करोड
सहकारी विभागका प्राचार्य उपेन्द्रबहादुर ढुङ्गानाले ऐन /नियमभित्र रही आफ्ना सदस्यहरुप्रति उत्तरदायी भएर सञ्चालन भएका सहकारी संस्थाहरुले प्रगति गरिरहेको बताउनु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका – ४ , चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ वार्षिक साधारणसभामा उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सहकारीको सिद्धान्त , मूल्य र मान्यताभित्र रहेर सदस्यहरुप्रति उत्तरदायी भएर सञ्चालन भएकोले छोटो समयमा समुदायमा आधारित जनता साकोसले भक्तपुरको सहकारी अभियानमा बेग्लै पहिचान बनाउन सकेको उहाँको भनाई थियो । त्यस अवसरमा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा नेफ्स्कूनका भूतपूर्व अध्यक्ष एवं सहकारीविद कैलाशभक्त प्रधानाङ्गले अहिले कार्यान्वयनमा आएको सहकारी सन्दर्भ व्याजदर उपयुक्त रहेको बताउनुभयो । सो अवसरमा मन्तव्य व्यक्त गर्दै जिल्ला सहकारी संघ लि. , भक्तपुरका उपाध्यक्ष केदार खड्का , सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापा , घरपरिवार साकोसका अध्यक्ष कृष्ण विष्ट


लगायतले सो संस्थाले गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्दै त्यस संस्थाको उत्तरोतर प्रगतिको कामना गर्नुभयो । त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सो संस्थाका अध्यक्ष राजेशकुमार राजथलाले सहकारीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूल्य , मान्यता र सिद्धान्त अनुसरण गर्दै र सहकारीऐन , नियम , विनियम तथा नेपाल सरकारले समय समयमा जारी गरेको नीति निर्देशनको परिधि र अधिकार क्षेत्रभित्र रहेर सहकारी पद्धति मार्फत समुदायमा छरिरहेकोसानो -सानो पूँजी , सीप , स्रोत र साधनलाई संगठित गरी सोको समुचित परिचालनबाट सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक उत्थान एवम् विकास गरी गरिवी न्युनिकरणमा उल्लेखनीय योगदान पु-याउने र सहकारी अभियानमा प्रचुर मात्रामा सीप र क्षमता भईकन आर्थिक अवस्था कमजोर भएका वर्गहरुको पहुँच स्थापित गर्ने अभिप्रायले २०६५ माघ २० गते स्थापना भएको यस संस्था सहकारीको भीडमा कुराहरुले मात्र होइन गरेको कामहरुबाट शेयर सदस्य र समुदायको विश्वास हासिल गर्दै गुणात्मक रुपमा सदस्यता बृद्धि गरी भरपर्दो वित्तीय कारोवार गर्ने र सांस्कृतिक , सामाजिक लगायत मानवीय सेवा प्रदायक भरपर्दो संस्थाको रुपमा समेत पहिचान बनाउन सफल भएको बताउनुभयो । आफ्नो स्थापना भएको छोटो समयमा नै भक्तपुर जिल्लाको उत्कृष्ट अध्यक्ष , सहकारी अभियानमा उल्लेखनीय योगदान गरे बापत सहकारीविद श्री कैलाशभक्त प्रधानाङ्ग पुरस्कार लगायत हरेक वर्ष कुनै न कुनै पुरस्कार र सम्मानबाट यो संस्था निरन्तर रुपमा सम्मानित हुँदै आइरहेको उहाँको भनाई थियो । त्यस साधारणसभामा सोही संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै उक्त संस्थाका सचिव राजु प्रजापतीले ‘सहकारीको सिद्धात , मूल्य र मान्यता , सुरक्षित बचत सहज ऋण जनता साकोसको प्रतिवद्धता’ मूल उद्देश्यलाई मनन् गरी यस संस्थाले सदस्यहरुको आर्थिक अवस्थामा अझ सकारात्मक परिवर्तन गर्नुका साथै समाजमा पारस्परिक सहयोग र सद्भाव अभिबृद्धि गर्दै आइरहेको बताउनुभयो । सोही साधारणसभामा सो संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै उक्त संस्थाका कोषाध्यक्ष कृष्णगोपाल राजथलाले ४२ जना शेयर सदस्यहरुको रु. १०,००,००० बाट कारोवार शुरु भएको यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ शेयर सदस्य २,३२७ जना , शेयर पूँजी रु.२,००,००,००० , बचत संकलन रु.१५,००,००,००० , ऋण लगानी रु १५,००,००,००० र कूल पूँजी रु.१५,०६,८९,०२३/५७ रहेको बताउनुभयो । त्यस अवसरमा ५ पटक रक्तदान गर्ने शेयर सदस्यहरु राजन प्रजापती , बिजय प्रजापती , रबिन राजथला , बाबुकृष्ण प्रजापती , कृष्ण राजथला , गोपीकृष्ण राजथला , र कान्छा राजथला , उत्कृष्ण नारी समूह- ३९ का सीता ध्वाजु , बुद्धलक्ष्मी ध्वाजु , विजया ध्वोजु , मञ्जु श्रेष्ठ ध्वोजु र, ईश्वरी महर्जन , कनिष्ठ बचयकर्ता बिजु श्रेष्ठ , अधिकतम सदस्य विस्तरकर्ता चन्द्रकला आचार्य , असल बचयकर्ता चन्द्रबहादुर तामाङ , जेष्ठ महिला सदस्य न्हुँछेमाया प्रजापती , जेष्ठ पुरुष सदस्य कर्णबहादुर राजथला र असल ऋणी कुमार सुनेललाई सम्मान गरियो । त्यसैगरी श्री कुलमाया आधारभूत विद्यालयका छात्र र छात्रा राजु बस्नेत र निरुता न्यौपानेलाई छात्रबृत्ति प्रदान गर्नुका साथै शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. मा उच्च ग्रेडिङका साथ उत्तीर्ण श्री आरनिको मा.वि. की छात्रा दीप शिखा भण्डारी . श्री नीलो ज्योति मा.वि.का छात्र अजिन श्रेष्ठ र श्री जनप्रेमी मा.वि. की छात्रा कञ्चन क्षेष्ठलाई सम्मान गरी पुरस्कार प्रदान गरियो ।
