स्कोप साकोस , सौगालको २६औँ वार्षिक साधारणसभा सम्पन्न , शताव्दी वाङ्मय पुरुष तथा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी सम्मानित
ललितपुरको सौगालमा आफ्नै भवनबाट सञ्चालन भइरहेको स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को २६औँ वार्षिक साधारणसभा “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने नाराका साथ हिजो अशोक पार्टी प्यालेस बालिफाल , ललितपुरमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष यज्ञराज बजार्चायको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको राष्ट्रिय सहकारी महासंघ लि. , नेपालकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) की बोर्ड सदस्य ओमदेवी मल्लले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले शताव्दी वाङ्मय पुरुष तथा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीलाई दोसल्ला ओडाएर सम्मान गर्नुभयो ।


उहाँले यस संस्थाले शताव्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी बुवालाई सम्मान गरी सहकारीको ७औँ सिद्धान्तलाई आत्मसाथ गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । यो संस्थालै गरिरहेको प्रगति तथा सामाजिक उत्तरदायित्वका कार्यप्रति प्रशंसा गर्नुका साथै यो संस्थाको थप प्रगतिको कामना गर्दै यस संस्थामा ठूलो संख्यामा हस्तकला व्यवसायीहरुले उत्पादन गरेका सामाग्रीहरुको छुट्टै ट्रेडमार्क तथा ब्राण्ड नहुदा समस्या भएकोले राष्ट्रिय सहकारी महासंघ लि. ले आफ्नो नेतृत्वमा बनाएको कार्यदलले यो ट्रेडमार्क तथा ब्राण्डको समस्या समाधान गर्न उद्योग विभागमा लविङ गरिरहेको उहाँको भनाई थियो । उहाँले कक्षा ८ देखि उच्च तहसम्म सहकारी विषयको पढाईका लागि पाठ्यक्रम निर्माणका लागि पाठ्यक्रम विकास केन्द्र तथा त्रिभुवन विश्वविद्यालयमा पत्राचार गरी लविङ गरिरहेको बताउनुभयो । सहकारीमा संरक्षित कोषका कारण सदस्यहरुलाई लाभांश वितरणमा समस्या आएकोले संरक्षित कोषको व्यवस्था हट्नु पर्नेमा जोड दिदै उहाँले तीनै तहका सरकार , कर्मचारी तथा सहकारीकर्मीलाई सहकारी विषय बुझाउन प्रदेश स्तरमा गत वर्ष पनि राष्ट्रिय सहकारी महासंघ लि.ले गोष्टि गरेको थियो र यस बर्ष पनि यसलाई निरन्तरता दिदैछ र यसै क्रममा यही असोज ५ र ६ गते भक्तपुरको बोडेमा ३ नं. प्रदेश स्तरीय गोष्ठि गरेको थियो भन्नुभयो । त्यस अवसरमा जिल्ला सहकारी संघ लि. , ललितपुर सञ्चालक इन्द्र घिमिरे , अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष अनुपवीर बज्राचार्य र सोही संस्थाका भूतपूर्व अध्यक्ष तथा सल्लाहकार पूर्णराज शाक्य , नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्न्दरभाइ शाक्यले सो संस्थाको प्रगतिको कामना गर्नुभयो ।
त्यस सभाका अध्यक्ष यज्ञराज बज्राचार्यले उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सहकारी ऐन , २०७४ , सम्पति शुद्धिकरण नियमावली , २०७४ , सहकारी नियमावली , २०७५ र सहकारी सन्दर्भ व्याजदरको घोषणाले सहकारी सञ्चालन तथा व्यवस्थापन पक्ष थप चुनौतीपूर्ण रहेको छ भन्नुभयो । सहकारीताको माध्यमबाट सामुदायिक स्तरमा पूँजी निर्माण र उद्यमशीलता विकास , सांस्कृतिक उत्थान र वातावरणीय सन्तुलनको लागि समेत स्कोप बचत तथा ऋण सहकारी संस्था लि.निरन्तर प्रयासरत रहदै आएको बताउनुभयो । आफ्नो २६ वर्षको इतिहासमा यस संस्थाले समय सापेक्ष रुपमा देखा परेका समस्याहरुको सामना गर्दै प्रगतिपथमा लम्किरहेको छ भन्दै यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा २,२२८ महिला र १,८९५ पुरुष गरी ४,१२३ शेयर सदस्य , रु.५,८२,८०,३०० शेयर पूँजी , रु.७९,१६,३८,४५५/७७ जम्मा निक्षेप , रु. ७९,९०,८९,५७९/८३ कर्जा लगानी र रु.९५,११,५९,८९४/४९ सम्पति रहेको छ भनाई थियो ।
सो संस्थाका उपाध्यक्ष दीपकराज शाक्यले धन्यवाद ज्ञापन , सचिव आनन्दवीर बज्राचार्यले स्वागत मन्तव्य र सञ्चालक सदस्य अर्नी मैया बज्राचार्यले सञ्चालन गर्नु भएको उक्त सभामा सो संस्थाका भूतपूर्व अध्यक्ष तथा सल्लाहकार पूर्णराज शाक्यलाई उक्त संस्थाका वर्तमान अध्यक्ष बज्राचार्यले विशेष समान गर्नुभयो । त्यस्तै सोही अवसरमा उत्कृष्ण ऋणी : सञ्चालक सदस्य विनोद बज्राचार्य र दीर्घसेवी कर्मचारी : सह-प्रवन्धक ज्ञानरत्न शाक्यलाई सम्मान गरियो भने त्यस संस्थाका शेयर सदस्यका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. प्राप्त गरी उत्तीर्ण हुने ४ जना विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा सभाका अध्यक्ष बज्राचार्यले प्रमुख अतिथि मल्ललाई मायाको चिनो प्रदान गर्नुभएको थियो । त्यस सभाको सहजीकरण प्रवन्धक बाबुराजा बज्राचार्य सहितका कर्मचारीहरुले गर्नु भएको थियो ।
