पवित्र लुम्विनी साकोसले ४० प्रतिशत शेयर पूँजी . ३०/३० प्रतिशत निक्षेप र कर्जा लगानी बृद्धि गर्ने लक्ष्य लिएको छ : अध्यक्ष गान्धी पोखरेल
काठमाडौंको बागबजारमा रहेको पवित्र लुम्विनी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गान्धी पोखरेलले आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थाको शेयर पूँजी ४० प्रतिशत तथा निक्षेप र कर्जा लगानी ३०/३० प्रतिशत बृद्धि गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सहकारी सञ्जाललाई बताउनु भएको छ ।
सो संस्थाको २०७६ भाद्र २८ गते क्वालिटी बैङ्क्वेट बुद्धनगरमा सम्पन्न १० औँ वार्षिक साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही सभाका अध्यक्ष गान्धी पोखरेलले हरेक संस्थाको अस्तित्व जीवन्त तुल्याउन समाजको माया र विश्वास प्राप्त गर्न जरुरी हुन्छ भन्दै विश्वासले मानिसमा आस्था बढाउछ , आस्थाले अपनत्व प्रदान गर्छ र त्यही अपनत्व नै संस्थाको सफलताको आधार बन्ने भएकोले यस संस्थासँग काधमा काध मिलाएर अपनत्व प्रदान गरी दिनु हुने यस संस्थाका शेयर सदस्यहरुप्रति हामी सदा कृतज्ञ छौँ र यो भावनालाई अटुट रुपमा जीवन्त राख्न निरन्तर क्रियाशील रहने बताउनु भएको थियो । उहाँले दूरगामी लक्ष्य अनुरुप हामीले समुदाय र शेयर सदस्यहरुप्रति अनुकूल हुने गरी र सहकारीलाई निर्दिष्ट गरी बनेका नीति , ऐन , कनुन र नियमको परिधिभित्र रही यस संस्थालाई दिगो सवल एवं शसक्त वित्तीय सहकारी संस्थाको रुपमा स्थापित गर्न , समुदायमा छरिएर रहेको बचत रकमलाई एकीकृत गरी न्युन आय भएका वर्गलाई समेटी उनीहरुको जीवनस्तर उकास्ने कार्यहरु गर्ने र समुदायहरुबाट संकलन गरिएको रकमलाई आम्दानीको स्रोत पहिचान गरी सदस्यहरु कै हितका लागि उत्पादन र आयमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्नु रहेको बताउदै यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु. २,७९,२०,२०० , निक्षेप संकलन रु. १७, ६६,९७,५५४ र कर्जा लगानी रु. १९,४२,५५,३५५ रहेको छ भन्नुभयो । त्यस सभामा सोही संस्थाको लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्दै सो समितिका संयोजक थानेश्वर पोखरेलले यस संस्थाको नगद कारोवार गर्दा इन्स्योरेन्सको व्यवस्था हुँदा हुदै पनि थप सुरक्षाका उपाय अपनाउनु पर्ने लगायतका सुझाव दिनु भएको थियो । स्थानीय जनप्रतिनिधि , विभिन्न सहकारी संघ /संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको त्यस सभामा सोही संस्थाका सदस्य तथा कर्मचारी लगायतलाई विभिन्न विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो ।
