बसुवर्ण साकोसको ११ औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल सम्पति रु.२१,३८,८३,१६५
ललितपुर महानगरपालिका – १६ , नागबहालमा रहेको बसुवर्ण बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ वार्षिक साधारणसभा सोही संस्थाका अध्यक्ष सुमन शाक्यको अध्यक्षतामा हिजो नागबहालमा सम्पन्न भयो । अर्थविद तथा वरिष्ठ चार्टर एकाउण्टेन सुजिव शाक्यले सो साधारणसभाको उद्घाटन गर्नु हुँदै स्थानीय समुदायमा आधारित बसुवर्ण साकोसले सदस्यहरुप्रति उत्तरदायी भई समुदाय केन्द्रित गतिविधि गर्दै अगाडि बढिरहेको देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.का सञ्चालक तथा जिल्ला सहकारी संघ लि. , ललितपुरका अध्यक्ष माधव दुलालले स्थानीय समुदायमा आधारित रहेर सहकारीको मूल्य , मान्यता र सिद्धान्त अनुरुप सञ्चालन भइरहेको यस संस्थाले गरिरहेको प्रगति र समुदाय केन्द्रित सामाजिक क्रियाकलाप देख्ता आफू हर्षित भएको बताउनुभयो । उहाँले धनी -गरिव , अग्लो – होचो , उच्च जात – निच्च जात , कालो -गोरो , महिला -पुरुष आदि कुनै भेदभाव नभएको समाजको एक मात्र क्षेत्र सहकारीको विकास र प्रवर्द्धनमा सबैको साथ र सहयोग आवश्यक छ भन्नुभयो ।
सो सभाका अध्यक्ष शाक्यले ‘समुदायको प्रयास- समुदायको उन्नति’ भन्ने मूल उद्देश्य एवं मन्त्रलाई आत्मसात गरी व्यवसायिक मुनाफामा मात्र काद्रित नभई सञ्चालन भइरहेको यस बसुवर्ण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापना कालदेखि नै अनवरत रुपमा समुदाय केन्द्रित भई समुदायका सदस्यहरुको हक , हित र आर्थिक उत्थानलाई मध्यनजर गरी विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले समुदायको आर्थिक कारोवारको केन्द्रको भूमिकामा संस्थालाई समुदायमा प्रतिस्थापना गर्ने मुख्य परिकल्पनाका साथ गएको ३ वर्ष अगाडि आर्थिक वर्ष २०७३/०७४ , २०७४/०७५ , र २०७५/०७६ का लागि निश्चित लक्ष्य सहित त्रिवर्षीय योजना तयार गरी कार्यान्वयन गरिएको र त्यसबाट हरेक वर्ष संस्थाले लिएको हरेक लक्ष्यमा पूर्ण उपलब्धीका साथ सफलता प्राप्त गर्न सक्षम भएका छौँ भन्नुभयो । यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा पुरुष सदस्य ३९७ जना , महिला सदस्य ३९० र वाल सदस्य ८१ जना गरी ८६८ जना सदस्य , रु.१,७५,७१,१०० शेयर पूँजी , रु.१७,३५,४७,८६१ कूल निक्षेप , रु.१७,७४,६२,१५२ जम्मा ऋण लगानी र रु.२१,३८,८३,१६५ कूल सम्पति रहेको उहाँको भनाई थियो ।
सो संस्थाका उपाध्यक्ष काजीरत्न शाक्यले धन्यवाद ज्ञापन र सचिव विभुशोन शाक्यले

सञ्चालन गर्नु भएको सो सभामा उक्त संस्थाका जेष्ठ सदस्यद्वय सप्तलक्ष्मी शाक्य र चैत्यलक्ष्मी शाक्य , उत्कृष्ट बचतकर्ता सुविनकुमार शाक्य , नम्रता शाक्य , प्रकाशबहादुर शाक्य , रत्नबहादुर शाक्य , प्रेश्ना शाक्य , दुर्गादेवी शाक्य र बुद्धिसरा शाक्य , उत्कृष्ट शेयरकर्ता तरणबहादुर शाक्य , सुनिल शाक्य , हिराकाजी शाक्य , राजेन्द्र धख्वा , सहज शाक्य , भोलाकृष्ण श्रेष्ठ , मोना शाक्य , सुनिल शाक्य , मीरा शाक्य र गिरिजा शाक्य तथा उत्कृष्ट ऋणी सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यस अवसरमा अन्तर सहकारी सुरक्षण कोषमा आवद्ध सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुले सो संस्थाको प्रगतिको कामना गर्नु भएको थियो । त्यस अवसरमा उक्त सभाका अध्यक्ष सुमन शाक्यले प्रमुख अतिथि सुजिव शाक्यलाई मायाको चिनो प्रदान गर्नु भयो ।

