जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरको अध्यक्षमा केदार खड्का चयन

२०७६ असोज ३० गते शंखधर पार्टी प्यालेस , नयाँ थिमि , भक्तपुरमा सम्पन्न जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरको २१औँ वार्षिक साधारणसभाले केदार खड्काको अध्यक्षतामा सञ्चालक समिति चयन गरेको छ । जसको उपाध्यक्षमा कृष्ण घजु , सचिवमा कविराम बस्नेत , कोषाध्यक्षमा सावित्री धौमडेल र सदस्यहरुमा गणेशमान चक्रधर , रविन्द्रप्रताप शाह , राजकुमार सिलवाल , सविता खत्री र सहना पसखल हुनुहुन्छ । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा ध्रुव रायमाझी तथा सदस्यहरुमा कृष्णराम बासुकला र सुलोचना दुवाल चयन हुनुभएको छ ।
जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको उद्घाटन गर्दै सहकारी विद तथा नेफ्स्कूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरल भक्तपुरमा सञ्चालनमा रहेका सहकारी संघ/ संस्थाहरुको विकास र प्रवर्द्धनको निम्ति कार्य गरिरहेको बताउनुभयो । जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरका उपाध्यक्ष तथा सो साधारणसभा तयारी समितिका संयोजक केदार खड्काले स्वागत मन्तव्य र सोही संघका सचिव बालमुकुन्द सुवालले सञ्चालन गर्नु भएको त्यस सभामा भक्तपुर जिल्लाका विषयगत संघहरुको तर्फबाट भक्तपुर जिल्ला कृषि संघ लि.का अध्यक्ष सनिश लागेजुले शुभकामना मन्तव्य व्यक्त गर्दै सो साधारणसभाको सफलताको कामना व्यक्त गर्नुभयो । त्यस अवसरमा उक्त सभाका अध्यक्ष महेश श्रेष्ठले सो संघको वार्षिक प्रतिवेदन पेश गर्दै सरकारको ३ खम्बे आर्थिक नीति अनुरुप सहकारीलाई जुन रुपमा महत्वका साथ हेरिएको थियो त्यही अनुरुपमा सहकारी ऐन र सहकारी नियमावली आउन सकेको देखिदैन भन्नुभयो । उहाँले सहुलियत दरमा रसायनिक मल र स्टेसनरीका सामान विक्री गर्दै आएको जिल्ला सहकारी संघ लिमिटेड , भक्तपुरमा आर्थिक वर्ष २०७५/०७६ मा ३ वटा संघ र ११४ वटा प्रारम्भिक सहकारी संस्था गरी ११७ वटा सहकारी संघ/ संस्था सदस्य , रु. १४,७२,५०० शेयर पूँजी , रु.१,५२,९८,७६१/१६ निक्षेप , रु.१,०६,१६,७२८/१३ अन्तर लगानी तथा रु.९,०९,७८३ ऋण असुली रहेको बताउनुभयो । सोही अवसरमा उक्त संघकी लेखा सुपरीवेक्षण समिति संयोजक सविता खत्रीले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो ।