आजबाट फूलको पर्व तिहार शुरु , सन्देश बाहक कागको गरियो पूजा

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट शुरू भएको छ । फूलको पर्वको रुपमा मानिने तिहारको पहिलो दिन आज सन्देश बाहक चरा कागको पूजा गरिएको छ । तिहार शुरु भएसँगै घरहरु झिलिमिली भएका छन् । आजबाट देशका विभिन्न स्थानमा पाँच दिनका लागि जूवा तथा लंगुरबुर्जाको खेल शुरु भएको जानकारी प्राप्त भएको छ । बजारमा माला लगायतका जिनिस किनमेल गर्ने क्रम चलिरहेको देखिएको छ ।
तिहारको पहिलो दिन काग , दोस्रो दिन कुकुर , तेस्रो दिन गाई , चौथो दिन गोरु तथा गोवर्द्धन पर्वतको पूजा , सोही दिन साँझ नेवार समुदायमा मह:(शरीर) पूजा गरिन्छ भने पाँचौँ दिन चेली र माइती वीच सप्तरङ्गी टीका र फूलको माला लगाउने गरिन्छ । तिहारको चौथो दिन नेपाल सम्वतको नयाँ वर्ष शुभारम्भ हुने भएकोले सो दिन विशेष गरी नेवार समुदायमा न्हुँ दया भिन्तुना भनी नेपाल सम्वतको नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । राष्ट्रिय विभूती शंखधर साख्वा:ले ११४० वर्ष अगाडि काठमाडौं उपत्यकामा बसोबास गर्ने त्यसबेलाका गरिव ऋणी प्रजाहरुलाई ऋणबाट मुक्त गरी दिएको दिनबाट नेपाल सम्वत शुरु भएको भनाई छ ।
तिहारको अवसरमा सार्वजनिक विदा शुरु भएको छ । यस वर्ष भाइ टीका कार्तिक १२ गते भएपनि नेवार समुदायले कार्तिक १३ गते मात्र भाइ टीका लगाउने भएकाले नेपाल सरकारले सो दिन पनि सार्वजनिक विदा दिएको छ ।
………………………………….
नेपालीहरुको दोस्रो ठूलो चाड अर्थात फूलको पर्व तिहार-२०७६ को पावन अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा सुख , शान्ति , उत्तरोतर प्रगति तथा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ।
– सहकारी सञ्जाल परिवार