तिहारको तेस्रो दिन आज गाई , गोरु र गोवर्द्धन पूजा गरियो , नेवार समुदायद्वारा म्ह: पूजा गरिदै , आजबाट नेपाल सम्वत ११४० शुभारम्भ

आज तिहारको तेस्रो दिन । तिथि अनुसार आज पनि औंशी तिथि परेकोले विहान गाई पूजा गरियो । आजैबाट प्रतिपदा तिथि शुरु भएकोले आजै गोरु र गोवर्द्धन पूजा गरियो । यस वर्ष कुन दिन म्ह: पूजा गर्ने भन्ने बारेमा विवाद भएपनि कतिपय नेवार समुदायद्वारा यतिवेला म्ह:(शरीर) पूजा गरिदै छ ।
हिजो चतुर्दशीको दिन विहान कुकुरको पूजा गरिएको थियो । हिजो दिउसोबाट औंशी तिथि शुरु भएकाले हिजै साझ लक्ष्मी पूजा गरिएको थियो । गाई पूजा गरेपछि मात्रै लक्ष्मी पूजा गर्नु पर्दछ भन्ने मान्यता राख्नेहरुले भने अहिले साझ लक्ष्मी पूजा गर्दै गरेको देखिएको छ ।
मौद्गल्य गोत्री मुडुला कार्कीहरुले भने तिहारमा गाई पूजे गाई रुख चढ्छ भन्ने विश्वासका कारण यसपाली पनि गाई र गोरु पूजा गरेनन् ।
तिहारको अन्तिम दिन भोलि दिदी बहिनी र दाजुभाइ बीच भाइ टीका लगाउने गरिन्छ । भोलि विहान ११:५५ बजे भाइ टीकाको साइत भएपनि भोलि दिनभर टीका लगाउन मिल्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेवार समुदायले भने भोलि साझ भाइ टीका लगाउने गर्छन् तर कतिपय नेवार समुदायले भने कार्तिक १३ गते मात्र भाइ टीका लगाउने बताइएको छ । किजा पूजाको परेकाले कार्तिक १३ गते नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । तिथिको घटबढका कारण यस वर्ष ४ दिन मात्र तिहार परेको बताइएपनि एकथरी नेवार समुदायले भोलि म्ह: पूजा गर्ने र कार्तिक १३ गते भाइ टीका लगाएर ५ दिन नै तिहार मनाउने बताएका छन् । यतिबेला देउशी भैलो खेल्ने क्रम चलिरहेको छ । कतिपय स्थानमा ठूलो एकादशीसम्म देउशी खेल्ने चलन रहेको पाइन्छ ।
तिथि अनुसार आज दिउसंबाट नेपाल सम्वत ११४० शुरु भएपनि भोलि मात्र नेपाल सम्वत ११४० को नयाँ वर्ष मनाउने बताइएको छ । नेपाल सम्वत ११४० शुभारम्भको पूर्वसन्ध्यामा यही कार्तिक ९ गते अपरान्ह अन्तर सहकारी सुरक्षण कोष , ललितपुरको आयोजनामा दीपावती बचत तथा ऋण सहकारी संस्था लि. , दीपावती नगर , ललितपुरमा , सोही दिन विहान यशोधर बचत तथा ऋण सहकारी संस्था लि.बुवाहाल , ललितपुरले यशोधर महाविहार ,बुवाहाल , ललितपुरमा चियापान कार्यक्रम आयोजना गरे । विभिन्न संघ/संस्थाहरुले नेपाल सम्वत ११४० को अवसरमा कार्यक्रमहरच गरे । यतिवेला नेपाल सम्वत ११४० को नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरिदैछ । भोलि नेपाल सम्वत ११४० को नयाँ वर्षको अवसरमा भोलि काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा -याली लगायतका कार्यक्रम आयोजना गर्ने बताइएको छ ।
यतिबेला काठमाडौं उपत्यका सहित देशका धेरै स्थानमा बत्तीले झिलिमिली भएको देखिएको छ ।