श्री भृङ्गेश्वर महादेव बचत तथा ऋण सहकारी संस्था लि. , सुनाकोठीले बचत तथा ऋण कारोवार सँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ
O-हरिगोविन्द महर्जन , अध्यक्ष , श्री भृङ्गेश्वर महादेव बचत तथा ऋण सहकारी संस्था लि. , सुनाकोठी , ललितपुर ।
ललितपुरको सुनाकोठीमा रहेको श्री भृङ्गेश्वर महादेव बचत तथा ऋण सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न सामाजिक कार्यहरु गरिरहेको देखिएको छ । यो सहितका विषयमा उक्त संस्थाका अध्यक्ष हरिगोविन्द महर्जनसँग सहकारी सञ्जालले छोटो कुराकानी गरेको छ । जो यस प्रकार छ ।
१. यसबेला श्री भृङ्गेश्वर महादेव साकोसको गतिविधि के छ ?
~ हाम्रो यस संस्थाले आफ्नो नियमित गतिविधिहरु सञ्चालन गरिरहेको छ । यसै क्रममा २०७६ पुस ५ गते यस संस्थाको ७औं वार्षिक साधारणसभा हुँदैछ ।

२. यस संस्थाको वित्तीय अवस्था कस्तो छ ?
~ २०७० बैशाख १९ गते दर्ता भई २०७१ फागुन ५ गतेबाट सञ्चालन शुरु भएको यो संस्था स्थानीय समुदायमा आधारित रहेर शुरुदेखि नै सञ्चालन भइरहेको छ । शुरुवाती बेलादेखि यसबेलासम्म यस संस्थाको वित्तीय अवस्था राम्रो छ । सञ्चालन भएको वर्षदेखि नै यसले आफ्ना सदस्यहरुलाई राम्रो प्रतिफल दिदै आएको छ । हरेक वर्ष यो संस्थाले प्रगति गरिरहेको छ ।
३. यस संस्थामा शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ नि ?
~ २०७५/०७६ मा यस संस्थामा शेयर सदस्य संख्या १,६२४ , शेयर पूँजी रु.२,६२,५९,९०० , बचत संकलन रु.२०,१९, ३९,८४०, कर्जा लगानी रु.१९,१५,९२,५८४ र कूल कारोवार रु.२४,३९,९४,६०० रहेको छ ।

४. यो संस्थाले सदस्यहरुको सुविधाका लागि के गर्दैछ नि ?
~ यस संस्थाले आफ्ना शेयर सदस्यहरु तथा बचतकर्ताहरुलाई समस्या परेमा सार्वजनिक विदाका दिन पनि सेवा प्रदान गर्ने गरेको छ । संस्थापक शेयर सदस्यले रु.५,००० तिरेर यस संस्थाको आजीवन शेयर सदस्य बनेका तर यदी निजको देहान्त भएमा यस संस्थाले उनको परिवारलाई रु.५०,००० सहयोग प्रदान गर्ने गरेको छ । त्यसैगरी यस संस्थाका सदस्य तथा तिनका परिवार विरामी भएमा वा उनीहरुलाई साह्रो गाह्रो परेमा उनीहरुलाई १ वर्षसम्मका लागि विना व्याज रु. ५०,००० सम्म कर्जा प्रदान गर्ने गरेको छ । साथै यस संस्थाले सदस्यहरु तथा गैर सदस्यहरुको सुविधाका लागि रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ ।

यसैगरी यस संस्थाले सदस्यहरुको विजुली , खानेपानी र टेलिफोनको महसुल संकलन गरी तिरी दिनेदिने गरेको छ ।

४. यस संस्थाले सामाजिक कार्य पनि गरेको छ कि ?
~ हाम्रो यो संस्थाले बचत तथा ऋण कारोवार सँगसँगै सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यसैक्रममा यस संस्थाले श्री भृङ्गारेश्वर महादेव मन्दिर सुनाकोठीको संरक्षण गर्ने कार्य गरिरहेको छ । यस संस्थाले यस मन्दिरको महिमाको इतिहास उल्लेख भएको होर्डिङ्ग बोर्ड राखेको छ । यसले श्री वालकुमारी मा.वि. सुनाकोठी , ललितपुरका ५ जना विद्यार्थीहरुलाई पोहोर सालबाट छात्रवृत्ति प्रदान गर्न शुरु गरेको छ । श्री भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिलाई आर्थिक सहयोग गर्नुका साथै अक्षय कोषको व्यवस्था गरेको छ । गत वर्ष यस संस्थाले सुनाकोठी स्वास्थ्य चौकीलाई औषधि राखेर गुडाउन मिल्ने ट्रली र विरामी सुताउन मिल्ने बेड (शैय्या) १/१ थान र १ सेट पर्दा सहयोग गरेको छ । समय समयमा सरसफाई कार्यक्रम सञ्चालन , सोलार सडक बत्तीको व्यवस्था र पानीको समस्या भएको समयमा ट्याङ्करबाट पिउने पानी वितरणको व्यवस्था गरेको छ ।
यस्तै यसले आफ्ना सदस्यहरुलाई बज्रबाराही मन्दिरमा अवलोकन भ्रमण गराउने र सदस्यहरुका लागि वनभोज कार्यक्रम गर्दै आएको छ भने स्थानीय क्लवहरुलाई सहयोग गर्ने गरेको छ ।
५. सहकारी एकीकरणबारे तपाई के भन्नुहुन्छ नि ?
~ सहकारी एकीकरण गर्नु राम्रो हो । राज्यले विशेष कार्यक्रम सहित यसलाई अगाडि बढाउनु पर्दछ ।
६. यसमा संस्थामा खराब कर्जाको अवस्था कस्तो छ नि ?
~ हाम्रो यस संस्थामा यसबेलासम्म खराब कर्जा छैन । यो स्थानीय समुदायमा आधारित संस्था भएकोले यसमा त्यस्तो सम्भावना रहदैन ।
७. अन्तमा केही भन्नु छ कि ?
~ सरकारले सहकारीको नीति , मूल्य र मान्यता अनुरुप विधि र पद्दती अनुसार इमान्दारीपूर्वक सञ्चालन भइरहेका हाम्रो यस संस्था जस्ता सहकारी संस्थाहरुलाई विशेष सेवा सुविधा प्रदान गरोस् र सहकारी विकास र प्रवर्द्धन गर्ने गरी ऐन , नियमावली र कार्यक्रम निर्माण गरी लागू गरोस् ।
