पुस मसान्तसम्ममा आफ्नो वार्षिक साधारणसभा गरेर माघ १५ गतेसम्म फाइल नबुझाउने सहकारी संस्थाहरुलाई ललितपुर महानगरपालिकाले जरिवाना सहित कारवाही अगाडि बढाउदैछ : ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोल
ललितपुर महानगरपालिकाका सहकारी शाखाका प्रमुख चन्द्रलाल डंगोलले पुस मसान्तसम्ममा आफ्नो वार्षिक साधारणसभा गरी माघ १५ गतेसम्ममा रिपोर्ट नबुझाउने आफू अन्तर्गतका सहकारी संस्थाहरुलाई ललितपुर महानगरपालिकाले जरिवाना सहित कारवाही अगाडि बढाउने बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ललितपुर महानगरपालिकाले जारी गरेको आफ्नो सहकारी ऐनमा व्यवस्था भएको मेयर साव नेतृत्वको सहकारी व्यवस्थापक समितिको बैठक चाडै बसेर आफ्नो ऐन कार्यान्वयन , सहकारी संस्थाहरुको कार्यक्षेत्र विस्तार , नयाँ दर्ता लगायतका विषयमा योजना बनाइदै छ भन्नुभयो । “ललितपुरको जाउलाखेलमा रहेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा ललितपुर महानगरपालिकाले यही मंसीर १६ र १७ गते ३० वटा र सोही महिनाको १९ र २० गते नै २५ वटा गरी ५५ वटा सहकारी संस्थाहरुलाई प्रयोगात्मक सहित कोपोमिस तालिम दिएको छ भने यही मंसीर १८,२२ र २३ गते त्यसै स्थानमा ३० वटा सहकारी संस्थाहरुलाई प्रयोगात्मक ढंगबाटै आनलाइन सिष्टमबाट आन्तरिक राजश्व कार्यालयमा आफ्नो आय विवरण पेश गर्ने तालिम सञ्चालन गरिरहेको छ” , उहाँको भनाई छ । ललितपुर महानगरपालिकाले आफू अन्तर्गतका सहकारी संस्थाहरुको वर्षको ६० पटक अनुगमन गर्ने योजना अनुसार सहकारी संस्थाहरुको अनुगमन भइरहेको बताउदै उहाँले ललितपुर महानगरपालिका सहकारी शाखाले सहकारी एकीकरण सम्बन्धी अन्तर्क्रिया गर्न लागेको बताउनुभयो । “ललितपुर महानगरपालिकाले आफू अन्तर्गतका ३३८ वटा सहकारी संस्थाहरु मध्ये कोपोमिसको तालिम लिइसकेका रु.५ करोड भन्दा माथि कारोवार भएका सहकारी संस्थाहरुलाई कोपोमिस मार्फत आफ्नो फाइल बुझाउन भनेका छौँ । रु. ५ करोडभन्दा मुनि कारोवार गर्ने सहकारी संस्थाहरुलाई तत्काल कोपोमिस मार्फत आफ्नो फाइल बुझाउन दवाव नदिने तर तिनीहरुले कोपोमिस मार्फत आफ्नो फाइल बुझाएमा स्वागत गरिने छ” उहाँले भन्नुभयो । ललितपुर महानगरपालिकाले आफू अन्तर्गका सहकारी संस्थाहरुले बुझाएका सबै फाइलहरु गत वर्ष स्क्यानिङ गरिसकेको र यस वर्ष पनि कोपोमिसभन्दा बाहिरबाट आएका आफू अन्तर्गतका सबै सहकारी संस्थाहरुका फाइल स्क्यानिङ गरिने उहाँको कथन छ । उहाँले प्रदेश नं.३ अन्तर्गतका ललितपुर महानगरपालिकाको प्रयागपोखरीमा रहेको हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लि. र लगनखेलमा रहेको हाम्रो थैली बचत तथा ऋण सहकारी संस्था लि. सँग एकीकरणका लागि आफू अन्तर्गतको कुमारीपाटीमा रहेको सेवक बचत तथा ऋण सहकारी संस्था लि. लाई ललितपुर महानगरपालिकाले सहमती दिएको छ भन्नुभयो ।
२०७६ कार्तिक ३० गते ललितपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका हाम्रो थैली बचत तथा ऋण सहकारी संस्था लि. , हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लि. र सेवक बचत तथा ऋण सहकारी संस्था लि.ले आफूहरू वीच एकीकरणको घोषणा गरी एकीकरण प्रक्रियाका कार्य अगाडि बढाएको बताएका छन् भने ललितपुरको चापागाउँमा रहेको माता बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लि. र टीकाभैरवमा (सातदोबाटोमामा सञ्चालनमा भइरहेको) रहेको प्राकृतिक कृषि सहकारी संस्था लि. ले पनि आफूहरू वीच एकीकरणको घोषणा गरेका छन् ।
