राष्ट्रिय सहकारी बैंक लिमिटेडको चेक क्लियरेन्सको समस्या अविलम्व समाधान होस् !
–वसन्त श्रेष्ठ , कार्यालय प्रमुख , उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. , गोकर्णेश्वर नगरपालिका -४ , काठमाडौं
काठमाडौंको गोकर्णेश्वर नगरपालिका – ४ मा रहेको उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले बचत तथा ऋण कारोवारसँगै कृषकहरुलाई रासायनिक मल विक्री गरिरहेको बताएको छ । यो सहितका विषयमा केन्द्रित रहेर सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले सो संस्थाका कार्यालय प्रमुख वसन्त श्रेष्ठसँग छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. के गर्दैछ ?
~ हाम्रो यस उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी संस्था लि. ले २०७६ भदौ २८ गते सम्पन्न आफ्नो १४औं वार्षिक साधारणसभाले पारित गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यसै क्रममा यसले बचत तथा ऋण कारोवारसँगै सुलभ मूल्यमा कृषकहरुलाई रासायनिक मल विक्री वितरण गरिरहेको छ ।
उपयुक्त वातावरण नभइदिदा हाम्रो यस संस्थाले गरिरहेको सिमेन्ट लगायतका हार्डवेयरका सामान विक्री वितरण बन्द गरेको छ ।
२. यो संस्थाले माथि उल्लेखित बाहेक अरु पनि केही गर्दैछ कि ?
~ आफूले प्रत्यक्ष रुपमा नगरे पनि हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई यातायातका साधन , कृषि , कुखुरा पालन लगायतका क्षेत्रमा सुलभ दरमा कर्जा लगानी गरी उहाँहरु मार्फत अप्रत्यक्ष रुपमा उत्पादनमूलक कार्य गरेको छ । अरु बहुउद्देश्यीय कार्य के गर्ने भन्ने बारेमा चाहिँ हामीहरु वीच छलफल भइरहेको छ ।
३. यो संस्थाले सामाजिक कार्य पनि गरेको छ कि ?
~ यस संस्थाले बचत तथा ऋण कारोवार सँगसँगै सामाजिक कार्यहरु गर्दै आएको छ । यसै क्रममा यसले धार्मिक , सांस्कृतिक , खेलकुद जस्ता कार्यक्रममा सहयोग गर्दै आएको छ ।
४. यस संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन , कर्जा लगानी र कूल कारोवार कति छ नि ?
~ २०७६ कार्तिक मसान्तसम्म हाम्रो यस संस्थामा शेयर सदस्य संख्या १,४७६ , शेयर पूँजी रु.२,७४,५८,८०० , निक्षेप संकलन रु.१६,८४,७४,०३१, कर्जा लगानी रु.१७,६४,६०,१३१ र कूल कारोवार रु.२४,०९,४७,३५५रहेको छ । यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई राम्रो प्रतिफल प्रदान गर्दै आएको छ ।

५. यो संस्था डिभिजन सहकारी कार्यालय , काठमाडौंबाट कार्यक्षेत्रका आधारा प्रदेश नं. ३ मा गएपछि तपाईहरुलाई काम गर्न कत्तिको सजिलो भा’छ ?
~ पहिला डिजिजन सहकारी कार्यालय , काठमाडौं अन्तर्गत रहदा हामीलाई काम गर्न जति सजिलो थियो , कार्यक्षेत्रका आधारमा हाम्रो यो संस्था प्रदेश नं. ३ मा गएपछि हामीलाई काम गर्न धेरै अफ्ठ्यारो भएको छ । उपत्यका र आसपासका क्षेत्रबाट हेटौडा जान टाढा भएकोले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रका सहकारी संस्थाहरुलाई काठमाडौ उपत्यकाभित्र सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्नु जरुरी छ ।
६. कोपोमिसबारे तपाईको के भनाई छ ?
~ हामी कोपोमिसमा गइरहेका छौँ ।
७. सहकारी मर्जरबारे तपाईको धारणा के छ नि ?
~ सहकारी मर्जर हुनु राम्रो हो तर बलजफ्ती चाहिँ सहकारी मर्जर हुनुहुदैन ।
८. राष्ट्रिय सहकारी बैंक लिमिटेडबारे चाहिँ तपाई के भन्नुहुन्छ नि ?
~ राष्ट्रिय सहकारी बैंक लिमिटेडको चेक क्लियरेन्सको समस्या छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले चेक क्लियरेन्सको यो समस्या अविलम्व समाधान गरोस् ।
९. बहुउद्देश्यीय सहकारी संघले बहुउद्देश्यीय सहकारी संस्थालाई के गर्नु पर्ला नि ?
~ बहुउद्देश्यीय सहकारी संघले बहुउद्देश्यीय सहकारी संस्थाको हित हुने कार्यक्रम बनाएर अगाडि बढाऊन् ।
१०. सहकारी ऐन , २०७४ मा सो ऐन जारी भएको मितिले ३ वर्षभित्र बहुउद्देश्यीय सहकारी संघ/संस्थाले स्थापना हुँदाको उद्देश्य अनुसार ७० प्रतिशत कार्य र ३० प्रतिशत बचत तथा ऋण कारोवार गर्नु पर्ने उल्लेख भएको छ नि ?
~ सहकारी ऐन , २०७४ मा व्यवस्था भएको बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुले मुख्य उद्देश्य अनुसारको ७० प्रतिशत कार्य र ३० प्रतिशत बचत तथा ऋण कारोवार गर्नु पर्छ भन्ने प्रावधान बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुको हितमा छैन। यसलाई बहुउद्देश्यीय संघ/संस्थाहरुले लागू गर्न सक्ने अवस्था छैन । त्यसैले यसलाई संशोधन गरी बहुउद्देश्यीय सहकारीमैत्री ऐन/नियम बनून् र बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई कृषि सहित उत्पादनमूलक बहुउद्देश्यीय कार्य गर्ने वातावरण राज्यले बनाओस् ।
११. सहकारी क्षेत्रलाई बलियो बनाउन राज्यले के गर्नु पर्ला लाग्छ तपाईलाई ?
~ राज्यले सहकारीलाई नियन्त्रण गर्ने ढंगबाट नभई सहकारीको विकास र प्रवर्द्धन गर्ने ढंगबाट नीति ,ऐन , नियमावली तथा कार्यक्रम बनाएर लागू गरोस् । राम्रो काम गरिरहेका सहकारी संस्थाहरुलाई प्रोत्साहन हुने गरी पुरस्कृत गर्ने संस्कार विकास होस् । सहकारीको आवरणमा बदामासी गर्ने छुट कसैलाई नहोस् ।
