बहुउद्देश्यीय सहकारी संघ लि. , ललितपुरको ७औँ वार्षिक साधारणसभा सम्पन्न

बहुउद्देश्यीय सहकारी संघ लि. , ललितपुरको ७औँ वार्षिक साधारणसभा सोही संघका अध्यक्ष शरदकुमार महर्जनको अध्यक्षतामा हिजो डिलाइट पार्टी , भेन्यू , महालक्ष्मीस्थान , ललितपुरमा सम्पन्न भयो ।

राष्ट्रिय सहकारी महासंघ लि.का संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले एक समारोहका बीच उक्त साधारणसभाको उद्घाटन गर्दै बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरले सहकारीको विकास र प्रवर्द्धनमा गरिहेको योगदान प्रशंसायोग्य रहेको बताउदै सरकारले सहकारीको विकास र प्रवर्द्धन गर्ने ढंगबाट कार्यक्रम अगाडि बढाई सहकारीलाई उत्पादनमूलक क्षेत्रमा काम गर्ने वातावरण बनाउनु पर्ने खाँचो औल्याउनुभयो । त्यस अवसरमा राष्ट्रिय सहकारी महासंघ लि. का नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र सञ्चालक सदस्य राजेन्द्र पौडेलले सो संघको प्रगतिको कामना गर्नुभयो । त्यस सभामा वरिष्ठ उपाध्यक्ष मल्ल र सञ्चालक सदस्य पौडेललाई सम्मान गरी बधाई ज्ञापन गर्दै सफल कार्मकालको लागि शुभकामना प्रदान गरिएको थियो ।
उक्त सभामा सोही संघका अध्यक्ष शरदकुमार महर्जनले उक्त संघको वार्षिक प्रतिवेदन पेश गर्दै ललितपुर जिल्लामा सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाहरु यस संघमा आवद्ध भई तिनीहरुको छाता संगठन रहेको यस संघले राम्रोसँग प्रगति गरी आफ्ना सदस्यहरुलाई आफ्नो लगानीको उचित प्रतिफल तथा आधुनिक वित्तीय सेवा सुविधाको व्यवस्था गरिरहेको बताउनुभयो । त्यसै संघका उपाध्यक्ष किशोर महर्जनले स्वागत मन्तव्य र सचिव सहदेव बञ्जराले सञ्चालन गर्नु भएको सोही सभामा कोषाध्यक्ष दीपेन्द्र दुलाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक तीर्थराम डंगोलले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । सो साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सदस्य संस्था संख्या ९८ , शेयर पूँजी रु.१८,६६,००० , बचत संकलन रु.३,४३,२३,४८७/३५ , संस्थाहरुलाई कर्जा लगानी रु.८५,७२,३५४ रहेको र २०७६ मंसीर मसान्तसम्म उक्त संघमा शेयर पूँजी रु.१८,९१,०००० पुगेको तथा यस संघ आत्मनिर्भर भई कार्यक्रमहरु सञ्चालन गर्न २५ जनासम्मको क्षमता भएको तालिम हल निर्माण , तालिम सञ्चालनका लागि अत्याधुनिक प्रोजेक्टर , कम्प्युटर , प्रिन्टर , ह्वाइटबोर्ड तथा कार्यालयको व्यवसायिक सञ्चालनको लागि काउण्टर , आदिको व्यवस्था गरिएको उल्लेख छ ।
त्यस सभामा उत्कृष्ट सहकारी संस्थाको सम्मान लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि., पुल्चोक , ललितपुर , उत्कृष्ठ कारोवार गर्ने सहकारी संस्थाको सम्मान अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लि., सिद्धिपुर(सानागाउँ) , ललितपुरलाई गरियो भने उत्कृष्ठ कर्मचारीको रुपया उक्त संघकी सह-व्यवस्थापक प्रतिभा बञ्जारालाई सम्मान गरियो ।
