नेकपा र नेकपा(मार्क्सवादी) वीच आज एकता हुने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) वीच आज दिउसो १२:०० काठमाडौंको तीलगंगा स्थित सत्य साई पार्टी प्यालेसमा पार्टी एकता हुने भएको छ । हिजो ती दुई पार्टीको शीर्ष नेतृत्व वीच भएको अन्तिम बैठकमा सो निर्णय भएको नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नप्रसाद जोशीले सहकारी सञ्जाललाई बताउनुभयो । उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , उपाध्यक्ष लोकनारायण सुवेदी तथा नेताहरु आर.बी. भण्डारी , हरिदेव ज्ञवाली र कृष्णहरि भट्ट तथा नेपाल कम्युनिष्ट पार्टी (माराक्सवादी) का तर्फबाट अध्यक्ष अम्बिकाप्रसाद थैव तथा नेताहरु देवीप्रसाद आचार्य , नरेशलाल अमात्य , महेन्द्र जोशी र मदनलाल अमात्यको उपस्थिति रहेको बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णहरि भट्टले बताउनुभयो । दुई पार्टी वीच एकीकरण भएपछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र सो पार्टीको अध्यक्षमा ऋषि कट्टेल र उपाध्यक्षमा अम्बिकाप्रसाद थैव र लोकनारायण सुवेदी रहने सहमती भएको बताइएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , उपाध्यक्ष लोकनारायण सुवेदी , सचिवालय सदस्यहरु आर.वी. भण्डारी , हरिदेव ज्ञवाली र कृष्णहरि भट्टले सो पार्टी तथा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी(पुष्पलाल) लगायतसँग एकीकरणका लागि पहल गर्दै आउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले अख्तियार गर्नु भएको नीति , सिद्धान्त र विचार मान्नेहरु पक्ष विभाजन भई तितरवितर हुँदा नेपालको कम्युनिष्ट आन्दोलनमा उग्रवामपन्दी भड्काव र उग्रदक्षिणपन्थी विसर्जनवाद बलियो भएको तर क्रान्तिकारी धार कमजोर हूँदा नेपालको कम्युनिष्ट आन्दोलन गलत दिशामा गएकोले उग्र वामपन्थी भडाकाव र दक्षिणपन्थी संशोधनवादका विरुद्ध संघर्ष गर्दै ठीक ढंगबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाई संयुक्त जन-संघर्ष अगाडि बढाउने उद्देश्यका साथ विभाजित अवस्थामा रहेका क्रान्तिकारी शक्तिहरु वीच एकता प्रक्रिया अगाई बढाइएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको भनाई छ ।
यस अघि राजेश बान्तवाले नेतृत्व गर्नु भएको वामपन्थी मञ्च र मिश्री मण्डलले नेतृत्व गर्नु भएको मानव दल नेपाल कम्युनिष्ट पार्टीसँग एकीकरण भएका थिए भने प्रगतिवादी कलाकार जीवेन्द्र शाही लगायत पनि नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध हुनु भएको छ ।