नेपाल कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) वीच एकता सम्पन्न , एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र संयोजकमा ऋषि कट्टेल रहने

0 Shares

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अम्बिकाप्रसाद थैव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मार्टस्वादी) वीच आज एकता सम्पन्न भएको छ । काठमाडौंको तीलगंगा स्थित सत्य साई पार्टी प्यालेसमा आयोजित एकता घोषणासभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी)का अध्यक्ष अम्बिकाप्रसाद थैवले संयुक्त रुपमा दुई पार्टीको एकताको घोषणा गर्नुभयो ।

दुई पार्टी वीच एकता सम्पन्न भए सँगै एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने छ भने २०७६ चैत्र २७-३० गते जनकपुरमा एकताको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरी ऋषि कट्टेलको संयोजकत्वमा १५ सदस्यीय सचिवालय र ८३ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरिएको छ । सम्मेलन आयोजक समितिको सह-संयोजकमा अम्बिकाप्रसाद थैव र लोकनारायण सुवेदी तथा सचिवालय सदस्यहरुमा आर.वी. भण्डारी , हरिदेव ज्ञवाली , शरणविक्रम मल्ल , रत्नप्रसाद जोशी , राजेश बान्तवा , भीम सेढाई , सीता सुवेदी , डा. मिश्री मण्डल , कृष्णहरि भट्ट , रामदुलार महतो , नरेशलाल अमात्य र मंगलकृष्ण अमात्य रहनु भएको छ ।
सो एकता सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकरको रुपमा नेपाल कम्युनिष्ट पार्टी रहने र २०२५ सालमा गोरखपुरमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको पुष्पलालको मार्क्सवाद , लेनिनवाद र माओ विचारधारालाई मार्गदर्शक सिद्धान्त र नेपाली क्रान्तिको न्युनतम कार्यक्रमको रुपमा नयाँ जनवाद र अधिकतम कार्यक्रमको रुपमा वैज्ञानिक समाजवाद तथा साम्यवादलाई मान्ने र २०२९ सालमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले पारित गरेको पुष्पलाललेको वामपन्थी एकता , वाम-प्रजातान्त्रिक संयुक्त संघर्ष र सशस्त्र किशान आन्दोलनको नीतिलाई आत्मसाथ गर्ने बताउनुभयो ।
उहाँले यस अगाडि राजेश बान्तवा नेतृत्वको वामपन्थी मञ्च , डा.मिश्री मण्डल नेतृत्वको मानव दल नेपाल कम्युनिष्ट पार्टी सँग एकीकरण हुनुका साथै कम्युनिष्ट आन्दोलनमा रहेका विभिन्न कमरेडहरु नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध हुने क्रम जारी रहेको र अरु क्रान्तिकारीहरु दल तथा समूहहरु सँग एकीकरणका लागि छलफल चलिरहेको र चाडै नै तिनीहरु सँग एकता हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको बस्तुगत अवस्थाले अब यथास्थितिवादी र क्रान्तिकारी कम्युनिष्ट पार्टी मात्रै रहने र क्रान्तिकारी आन्दोलनको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्ने छ भन्नुभयो । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक अम्बिकाप्रसाद थैवले कम्युनिष्ट आन्दोलनमा सार पक्ष क्रान्तिकारी भएर मात्रै नपुग्ने बताउदै क्रान्तिकारी सार पक्षलाई ब्यबहारमा उपलब्दीमूलक बनाउन रुप पक्ष बलियो हुनु पर्ने र त्यो पुष्पलालले अगाडि सार्नु भएको क्रान्तिकारी सिद्धान्त , नीति र विचारलाई मान्छु भन्नेहरु साच्चै क्रान्तिकारी हुन् भने तिनीहरु नेपाल कम्युनिष्ट पार्टी सँग एकीकरण हुनुको विकल्प छैन भन्नुभयो । त्यसैगरी सोही पार्टीका अर्का सह-संयोजक लोकनारायण सुवेदीले नेपालका किसानहरुका समस्याहरुको बारेमा चर्चा गर्दै उत्पीडनमा रहेका किसानहरुको मुक्ति नयाँ जनवादी क्रान्तिबाट मात्रै हुने बताउनुभयो । त्यस अवसरमा वरिष्ठ प्रगतिवादी लेखक एकलाल श्रेष्ठ , नेपाल कम्युनिष्ट पार्टीका नेताहरु सीता सुवेदी , कृष्णहरि भट्ट , महेन्द्र जोशी तथा अनेवियूका नेता मनिष भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो भने नेपाल कम्युनिष्ट पार्टी एकताको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा वागमती प्रदेश समितिका सचिव अर्जुन कार्कीले क्रान्तिकारी गीत गाउनुका साथै अखिल नेपाल सास्कृतिक यूनियनकी सदस्य सीता निरौलाले देशभक्तिपूर्ण भावधाराका गीत गाउनु भएको थियो ।

Leave a Reply