हर्ष उल्लासका साथ मनाए तामाङ समुदायले सोनाम ल्होछार

देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङ समुदायले एक अर्कामा शुभकामना आदान प्रदान गरी हर्षोल्लासपूर्वक आज २८५६औँ सोनाम ल्होछार अर्थात नयाँ वर्ष मनाए । मान्यजनबाट आशिर्वाद लिने , छोरीचेलीहरुलाई टीकख लगाई दिने र परिवारका सदस्यहरु सँगै बसेर खानपान गर्ने चलनलाई निरन्तरता दिए । 
हिजोबाट सोनाम ल्होछार शुरु भएको भनिएपनि तामाङ समुदायले भने आफ्ना इष्ट देवता मञ्जुश्री पात्रो अनुसार आज सोनाम ल्होछार मनाए । बागमती प्रदेश सरकारले सोनाम ल्होछारको अवसरमा हिजो नै सार्वजनिक विदा दिएको थियो । आजबाट जंगली सुँगुर या बदेल वर्ष सकिएर मुसा वर्ष शुरु भएको मानिन्छ । तामाङ समुदायले मुसा , गाई , बाघ , खरायो , ड्रागन (मेघ) , सर्प , घोडा , भेडा , बाँदर , चरा , कुकुर र जंगली सुँगुर या बदेल गरी १२ वटा पशुपङ्छीका वर्ग या १२ राशी भोग्ने गरेको बताउछन् । 
आज नेपाल तामाङ घेदुङ संघ लगायतका संगठनहरुले तामाङ भेषभुषा , कला र संस्कति झल्किने झाँकीहरु तथा खानेकुराको परिकार काठमाडौंको टुडिखेलमा प्रदर्शन गरेका थिए । 
काठमाडौंका अतिरिक्त देशका विभिन्न स्थानहरु तथा विदेशमा रहेका तामाङ समुदायले आ-आफ्नै ढंगबाट लोछार अर्थात नयाँ वर्ष मनाए ।
सोनाम ल्होछारको अवसरमा विभिन्न राजनीति दलहरुका नेताहरु लगायतले शुभकामना प्रदान गरेका थिए ।
