बागमती सफाई शुरु भएको ३५० हप्ता पुगेको अवसरमा २०७६ माग ११ गते बागमती सफाई महाअभियानले विशेष कार्यक्रम गर्ने
बागमती सफाई महाअभियानले बागमती सफाई शुरु भएको ३५० हप्ता पूरा भएको अवसरमा २०७६ माघ ११ गते शनिवार विशेष कार्यक्रम आयोजना गर्ने हिजो पत्राकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा जनाइएको छ । जुन प्रेस विज्ञप्ति यस प्रकार छ ।
बाग्मती सफाइ महाअभियानको ३५० को विशेष कार्यक्रमका अवसरमा जारी भएको
प्रेस विज्ञप्ति
बाग्मती सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको अवसरमा माघ ११ गते शनिबार विहान ७:३० वजे देखि १०:३० बजेसम्म काठमाडौंको त्रिपुरेश्वर (विश्व निकेतन विद्यालय पछाडि) स्थित बाग्मती किनारमा विशेष कायक्रमको आयोजना गरी भव्यरुपमा रुपमा मनाइदै छ ।
आजभन्दा झण्डै ७ वर्ष अघि २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्राङ्गणबाट शुरु गरिएको यो राष्ट्रिय अभियान अटुट रुपमा हरेक शनिबार विहान सञ्चालन गरिंदै आएको छ । नेपाल सरकारका विभिन्न निकायहरु , सामाजिक / धार्मिक संघ /संस्थाहरु तथा बाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा सञ्चालित यो अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एन प्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता भएको छ । यसमा विदेशबाट पाल्नु भएका विशिष्ट व्यक्तित्व, नेपाल स्थित विदेशी नियोगका कर्मचारीहरुले पनि सहभागिता जनाएका छन् । यो ७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको र करीव १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा समय दान गरिसकेका छन् ।
शुरुमा बाग्मती नदी सफाइबाट शुरु गरिएको यो अभियान अहिले बाग्मतीका शाखा नदीहरु जस्तै विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका बिभिन्न स्थान तथा भित्री टोलहरुमा विस्तार भएको छ । त्यस्तै उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।
बाग्मती सफाई महाअभियान सञ्चालन हुनथाले पछि बाग्मती नदी क्षेत्रको वातावरणमा सुधार भएको, नदी पहिले भन्दा निकै सफा भएको, विभिन्न स्थानमा हरियाली पार्कको निर्माण भएको, नदीमा ठोस र तरल विसर्जन गर्ने काम रोकिएको छ भने वालुवा चोरी र नदीको जग्गा अतिक्रमणमा नियन्त्रण भएको छ । नदी किनारका सम्पदाहरुको संरक्षण हुनाका साथै स्थानीयवासीहरुको पहलमा वृक्षरोपण गर्ने, विश्रामस्थल निर्माण गर्ने कार्यहरु पनि अघि बढिरहेका छन् । लुकिछिपी बाहेक संगठित रुपमा बाग्मती र सहायक नदीहरुमा फोहर फाल्ने काम रोकिएको अवस्था छ । नदी किनार सफाइ अभियानसँगै टोलटोलमा पनि सफाइ कार्य शुरु गरिएका छन् , जसले गर्दा शहर सफा राख्नका लागि जनचेतना अभिवृद्धि भएको छ तर हरेक हप्ता गरिने सफाइ कार्यक्रममा स्थानीयबासीको सहभागिता भने निकै कम देखिएको छ ।
बाग्मती सफाइ महाअभियानले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले शुरु गरेका पूर्वाधार निर्माण तथा सार्वजनिक जग्गा संरक्षणका कार्यहरुमा सहयोगीको भूमिका निर्वाह गरेको छ तापनि बाग्मती र शाखा नदीहरुलाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि गर्नु पर्ने काम अझ धेरै बाँकी छन् । नदीका दुवै किनारमा ढल निकासको व्यवस्था गर्ने, ढल प्रशोधन केन्द्र निर्माण गर्ने, बाग्मती नदीको मुहान क्षेत्रमा बाँध निर्माण गरी वर्षात्को पानी जम्मा गरी सुख्खा याममा बगाउने, मेलम्ची खानेपानी आयोजनाबाट मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याई घर-घरमा वितरण भइसके पछि प्रयोग भएर निस्कने फोहर पानीलाई ढल प्रणाली मार्फत प्रशोधन गरी पुनः बाग्मती नदीमा छोडने आदि कामका लागि हाल पूर्वाधार निर्माणका काम चालु छन् । ती पूर्वाधार निर्माण भए पछि मात्र बाग्मती ढलमुक्त हुने र सुख्खा याममा पनि नदीमा यथेष्ट पानी वग्ने अवस्था आउँछ ।
सरसफाई गरिएका क्षेत्रहरुलाई क्रमशः सम्वन्धित नगरपालिका र त्यसका वडा कार्यालयको रोेहबरमा स्थानीयलाई टोल सुधार, उपभोक्ता समिति वा स्थानीय संघ/संस्थाहरुलाई जिम्मा लगाउदै जाने नीति अन्तर्गत गुह्येश्वरी भन्दामाथिको तटीय क्षेत्रमा स्थानीय संघ/संस्थाहरुलाई जिम्मा लगाइएको छ । त्यस क्षेत्रमा स्थानीयबासीले स्वस्फूर्त रुपमा विभिन्न सृजनात्मक काम गर्दै हरेक हप्ता नदी सफाइको काम सुचारु गरिरहेका छन् । त्यसलाई नमूनाका रुपमा लिइ तल्लो तटीय क्षेत्रमा पनि नदी सफाइको जिम्मेबारी हस्तान्तरण गर्दै लगिने योजना छ । सोही योजना अनुसार बाग्मती सफाइ महाअभियानले ३५० हप्ता पूरा गरेको सन्दर्भमा काठमाडौं महानगरपालिकाको वडा नं ११को पहलमा वडाबासीहरुलाई सरसफाई कार्यमा उत्प्रेरणा दिइ सक्रिय गराउँने उद्देश्यले विभिन्न कार्यक्रमहरुको घोषणा गरिनेछ ।
यस पुनीत अवसरमा बाग्मती सफाइ महाअभियानमा जाडो गर्मी, चाडपर्व, व्यक्तिगत सुख सुविधाको परवाह नगरी निरन्तर रुपमा संलग्न हुनु हुने सबै स्वयंसेवी महानुभावहरु, विद्यार्थीहरु, नेपाली सेना, सशस्त्रप्रहरी, नेपालप्रहरी, निजामतीकर्मचारी, विभिन्न नगरपालिकाका कर्मचारी, नेपाल टेलिकम, विभिन्न बैंकहरु, उद्योगी, व्यवसायी, संचारकर्मी, कलाकार, पेशाकर्मी सबै प्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा पनि सक्रिय सहभागिताको अपेक्षा राखेका छौं । जय बाग्मती !
मिति : २०७६ माघ ९ गते विहीबार
त्रिपुरेश्वर, काठमाडौं
