ललितपुर उद्योग वाणिज्य संघद्वारा व्यवसायिक सचेतना कार्यक्रम सम्पन्न
उद्योगी व्यवसायीहरुको व्यवसाय प्रवर्द्धन, सम्वर्द्धन गर्नका लागि अति महत्वपूर्ण विषयबस्तु समेतिएको व्यवसायीक सचेतना कार्यक्रम ललिलतपुर उद्योग वाणिज्य संघले हिजो सम्पन्न गरेको उक्त संघका महासचिव मनोजबहादुर न्याछ्योले प्रेस विज्ञप्ति जारी गरी बताउनु भएको छ । सो प्रेस विज्ञप्तिमा उल्लेखित बाँकी विषय यस प्रकार छ ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्णलाल महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष श्री महर्जनले व्यवसायको विकास र प्रवर्द्धनमा व्यवसायीक सचेतनाको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले व्यवसायिक सचेतना ज्ञानको कमीले अर्थात् व्यवसाय सँग सम्बन्धित ऐन, नियम र अज्ञानताले व्यवसायी संजायको भागीदार हुनु नपरोस भनी व्यवसायीमा ज्ञान दिलाउन, व्यवसायीहरुको जिम्मेवारी एवं कर्तव्य सम्बन्धी जानकारी दिन तथा सचेतना जगाउन उक्त कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा-निर्देशकश्री नेत्रप्रसाद सुवेदीले बस्तु तथा सेवा उपभोग गर्दा उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरु, उत्पादक, पैठारीकर्ता, सञ्जयकर्ता, वितरक तथा विक्रेताले ध्यान दिनुपर्ने कुराहरु, नेपाल गुणस्तर तथा नापतौल विभागका उप-महानिर्देशक श्री दिनानाथ मिश्रले उपभोक्ता हित संरक्षणमा नेपाल गुणस्तर तथा नापतौल विभागको भूमिका, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष श्री प्रेमलाल महर्जनले उद्योग वाणिज्य क्षेत्रको समस्या र नेपालको संविधानमा उपभोक्ताको हक सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्रीे रामेश्वर श्रेष्ठले व्यवसाय सञ्चालन गर्दा सम्बन्धित निकायमा दर्ता गरी गर्नुपर्ने, नविकरण लगायत कागजातहरु दुरुस्त राख्नु पर्ने, उपभोक्ता संरक्षण ऐन, नियम पनि जानकारी हुनुपर्ने र नगरपालिकाले उठाउदै आएको व्यवसाय कर सम्बन्धमा समेत प्रकाश पार्नु भएको थियो ।
ललितपुर उद्योग वाणिज्य संघका कार्यसमितिका कार्यकारिणी सदस्य एवं वाणिज्य तथा आपूर्ति समितिका संयोजक श्री महेश श्रेष्ठले व्यवसायीहरुमा व्यवसायिक सचेतना हुनुपर्दछ । यो कार्यक्रम अत्यन्तै उपयोगी, जानकारीमूलक भएको र यससँग सम्बन्धित सरकारी कार्यालयका प्रमुखज्यूहरु एकै ठाउँमा रहनु भएकोले बस्तुगत संघका प्रतिनिधिहरु लगायत कार्यक्रममा सहभागीहरुलाई अन्तर्क्रिया गरि लाभान्वित हुनु अनुरोध गर्नुभयो । साथै उहांले नापतौल उपकरण ३५ दिन भित्र नेपाल गुणस्तर तथा नापतौल विभागमा दर्ता हुनुपर्ने, ३५ दिन भित्र दर्ता नभएमा रु. १०,०००।( (दश हजार) जरिवाना र एक वर्ष कैद जस्ता अव्यवहारिक नियम संशोधन हुनुपर्ने र उपभोक्ता संरक्षण ऐन २०७५ पनि नेपालको अरु कानूनसंग बाझिएको र अत्यधिक जरिवाना र कैद मात्र भएको, व्यवसायीलाई व्यवसायिक ज्ञान दिने र सुध्रिने मौका दिने जस्ता कुरा उल्लेख नभएकोले संशोधन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमा उपभोक्ता संरक्षण ऐन, २०७५ का साथै व्यवसाय सँग सम्बन्धित ऐन, नियम, उपभोक्ताको अधिकार, ग्राहकसँग गर्नुपर्ने व्यवहार, मुल्यसूची राख्नु पर्ने कारण, नापतौल, सामानको प्याकेजिङ्ग, प्रयोग गर्ने तरिका, म्यानुफ्याक्चर साथै एक्पायर डेट, वारेन्टी, ग्यारेन्टी, सूचना आदि विषयमा समेत वृहत छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रममा उल्लेखनीय उद्योगी, व्यवसायीमहानुभावहरुको सहभागीता रहको थियो ।
कार्यक्रमको सञ्चालन महासचिव श्री मनोज बहादुर न्याछ्योंले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष श्री भरत लाल जोशीले गर्नु भएको थियो ।
