विदेशी पाहुनालाई राम्रो सँग स्वागत सत्कार गर्न जान्नु परो : तासका जन्मदाता गोविन्दप्रसाद तिवारी
चितवनको नारायणगढ स्थित शहीद चोक तथा धर्म चोक , काठमाडौ अनामनगर र मकवानपुरको हेटौडा स्थित चौकी टोलमा सञ्चालन भइरहेको भेटघाट रेष्टुरेण्टका प्रोप्राइटर तथा तासका जन्मदाता गोविन्दप्रसाद तिवारीले जो सुकै विदेशी पाहुना भएपनि तिनलाई राम्रो सँग स्वागत सत्कार गर्न जान्नु परो भन्नु भएको छ । सहकारी सञ्जाल सँग कुरा गर्दै उहाँले “मेरो भेटघाट रेष्टुरेण्ट अगाडि नारायणगढमा कतिपल्ट पुलिसले विदेशी पाहुनालाई छेकेर दु:ख दिएको मैले देखेको छु । राज्यले नेपाल भ्रमण वर्ष ,२०२० मनाई रहेको बेला त्यस्तो कार्यले विदेशमा हामी नेपालीहरुप्रति नकारात्मक सन्देश फैलिरहेकोले त्यसलाई सच्याउनुपर्छ” भन्नुभयो ।

२०१९ सालमा कास्की जिल्लाको लेखनाथमा जन्मिनु भएका तिवारी २०३५ सालमा किराना पसलबाट व्यापारिक क्षेत्रमा प्रवेश गर्नु भएको थियो । २०४४ सालमा भेटघाट रेष्टुरेण्ट शुरु गरी त्यहीँबाट खानेकुराको इतिहासमा पहिलो पटक खानेकुरिको नौलो परिकार तासको शुभारम्भ गर्नुभयो । त्यहीँबाट सिकेर धेरैले यो व्यवसाय अपनाए । चितवनमा मात्रै अरु ३७ वटा जति तास परिकारका पसल सञ्चालन भइरहेका छन् ।तिनबाट धेरैले रोजगारी पाएका छन् । भेटघाट रेष्टुरेण्टका कुनै बेलाका कतिपय कामदार यतिबेला करोडपति बनेका छन् । सो देख्ता आफूलाई खुशी लाग्छ, उहाको भनाई छ । चितवनको नारायणगढ स्थित शहीद चोकमा २०४४ सालमा , काठमाडौंको अनामनगर स्थित हनुमानस्थानमा २०६८ मा ,चितवनको भरतपुर महानगरपालिकाको धर्म चोकमा २०७५ सालमा र मकवानपुरको हेटौडा स्थित चौकी टोलमा २०७६ माघ ३ गतेबाट सञ्चालन भइरहेको भेटघाट रेष्टुरेण्टमा ८० जनाले रोजगारी पाएका छन् । निकट भविष्यमा पोखरा र बुटवलमा भेटघाट रेष्टुरेण्ट सञ्चालन गरी ग्राहकहरुलाई तासको परिकार खुवाउने योजना रहेको बताउनु हुने तिवारी देशका ४ वटै स्थानमा सञ्चालन भइरहेका भेटघाट रेष्टुरेण्टमा तासको मसला चितवनबाट एकै ठाउँमा तयार भएर सप्लाई हुने गरेको बताउनु हुन्छ । चितवनमा अरु ३७ वटा होटल /रेष्टुरेण्टमा तासको परिकार पाइए पनि तिवारी कै भेटघाट रेष्टुरेण्टमा तास खान ग्राहकहरुको भीड लाग्ने गरेको देखिएको छ । नेपालमा खसीको मासु १० प्रतिशत मात्रै उत्पादन हुने भएकोले बाँकी तासको लागि खसीको मासु भारत जस्ता देशबाट आपूर्ति गरिरहनु परेको र यसरी आपूर्ति गर्नु पर्दा समस्या झेल्नु पर्ने गरेको बताउने तिवारी नेपाल मै आवश्यकता अनुसार खसीको मासु उत्पादन भएर सजिलै पाइने भए अहिले तिरेको मोल भन्दा बढी नै तिरेर खसीको मासु किन्ने थियौँ भन्नुहुन्छ । तपाईले यो व्यवसाय गरेर कति सम्पति कमाउनु भयो भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञाशाको जवाफमा उहाँ “यही कमाईबाट एउटा छोरालाई MBA र २ वटा छोराछोरीलाई डाक्टर पढाउन सकेँ । अहिले छोराछोरीहरु आ-आफ्नो क्षेत्रमा आफ्नै खुट्टामा राम्रो सँग उभिएका छन्” भन्नुहुन्छ ।

