त्रिभुवन राजपथ सँगैको दामन नयाँ गाउँमा निर्माणाधीन साहारा रिसोर्ट २०७७ सालको आगमन सँगै शुभारम्भ हुँदैछ
हरेराम कार्की , सञ्चालक , साहारा रिसोर्ट प्रा.लि., दामन-नयाँ गाउँ , मकवानपुर
मकवानपुर जिल्लाको थाहा नगरपालिका-२ , फाँटबजारका स्थानीय बासिन्दा हरेराम कार्की त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर (MBS) तह उत्तीर्ण गरी पालुङ क्षेत्रमा पर्यटनको विकास र समाज सेवा गर्ने युवा जोसका साथ आफ्नै जन्मथलो फर्किनु भएको छ । यतिबेला उहाँ २०७७ बैशाख १ गतेबाट सञ्चालन शुभारम्भ गर्ने योजनाका साथ त्रिभुवन राजपथ सँगै जोडिएको दामन-नयाँ गाउँमा साहारा रिसोर्ट निर्माणमा जोडतोडका साथ लागिरहनु भएको छ । धेरै युवाहरू सुखको खोजीमा विदेशिने या शहर मै पेशा , व्यवसाय या जागीर खाएर आफ्नो जीवन व्यथित गर्ने संस्कार बढिरहेको बेला आफ्नै गाउँमा केही गर्नु पर्दछ भनेर लागिरहनु भएका उहाँसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यतिबेला तपाई के गर्दै हुनुहुन्छ ?
~ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं.-४ , दामन-नयाँ गाउँमा त्रिभुवन राजपथ सँगै आफ्नै १८ रोपनी जग्गामा मेरो “साहारा रिसोर्ट” निर्माण कार्य भइरहेको छ । वि.सं.२०७७ को नयाँ वर्षको आगमनको शुभारम्भ सँगै यो रिसोर्ट सञ्चालनको तयारी गर्ने कार्य भइरहेको छ ।

२. यो रिसोर्टको विशेषता के छ ?
~ काठमाडौं उपत्यकाबाट नजिकमा रहेको यस रिसोर्टको विशेषता भनेको यहाँ आउने पाहुनालाई शान्त र प्रकृतिको सुन्दरतामा रमाउने वातावरण बनाई अर्गानिक खानेकुरा खुवाएर सन्तुष्ट गराउने नै हो । आसपासका रिसोर्टहरु भन्दा यो रिसोर्ट भिन्न प्रकृतिको र मौलिकता बोकेको छ । यो अपाङ्ग र वाल मैत्री छ । यसमा सकेसम्म स्थानीय युवाहरूलाई रोजगारी प्रदान गर्ने उद्देश्य राखिएको छ । यहाँ आउने पाहुनाहरुले यो रिसोर्ट कै छेउमा रहेको साहारा झरना र साहरा गुफाको अवलोकन गर्न सक्नु हुनेछ भने रिसोर्टमा रहेको झरना ,माछा पालन , अर्गानिक खेती , होम स्टे , ट्रि हाउस ,कपल ट्रि आदिको अवलोकन गर्न सक्नु हुनेछ ।
३. यो रिसोर्टको आर्थिक व्यवस्थापन कसरी गरिरहनु भा’छ नि ?
~ केही गर्छु भन्ने युवाहरुलाई जताततै अवसर भएको क्षेत्र हो-थाहा नगरपालिका । २०७५ माघ २७ गतेबाट जग हाल्न शुरु भएको साहारा रिसोर्टको । २०७६ माघ २६ गतेसम्ममा १५ वटा घर ,एउटा हल , एउटा किचन र एउटा रेष्टुरेण्ट बनाउने कार्य् अन्तिम चरणमा पुगेको छ । सो काम गर्न ग्लोवल आई.एम.ई. बैंक लि.बाट पनि वित्तीय सहयोग प्राप्त भएको छ ।
४. तपाई यस क्षेत्रका किन आउनु भयो नि ?
~ वास्तवमा आफ्नो गाउँ-आफै बनाउँ भन्ने उद्देश्यले मैले यो क्षेत्र रोजेको हुँ । कृषि तथा पर्यटन पूर्वाधार विकासको आधार थाहा नगरलाई बनाउने प्रमुख उद्देश्य लिई आफ्नो ठाउँमा पर्यटन विकास गरी दामन र पालुङ्ग लगायतलाई देश तथा विदेशमा समेत सुन्दर पर्यटकीय स्थलको रुपमा चर्चा गराउनु पर्दछ र आफ्नो ठाउँमा केही न केही गर्नु पर्दछ भन्ने धेयले म यस क्षेत्रमा आएको हुँ ।


५. तपाईले साहारा रिसोर्टका लागि किन त्यही ठाउँ रोज्नुभयो नि ?
~ यो ठाउँ प्राकृतिक रुपमा सुन्दर पर्यटकीय स्थलको रुपमा रहेको छ । काठमाडौं , हेटौंडा लगायतका स्थानको वीचमा रहेको यस ठाउँको नजिकमा अस्पताल र प्रहरी कार्यालय रहेको छ । त्रिभुवन राजपथ सँगै जोडिएको यो स्थल साहारा रिसोर्टका लागि उपयुक्त रहेको छ । यहाँबाट हिमश्रृखङ्ला तथा पहाडी सुन्दरताको दृष्यको समेत अवलोकन गरी आनन्द प्राप्त गर्न सकिन्छ ।
६. पालुङ तथा आसपासका क्षेत्रमा पर्यटकले अवलोकन गर्ने कुराहरु के के छन् नि ?
~ थाहा नगरपालिकामा रहेका सबै स्थानहरु सुन्दर र पर्यटक मैत्री छन् । पालुङको फाँटबजार लगायतका क्षेत्र कृषिका लागि उर्वर र त्यसमा पनि आलु धेरै उत्पादन हुने क्षेत्र हो । काठमाडौं पछिको सम्भवत: दोस्रो धार्मिक तथा पर्यटकीय स्थल पालुङ तथा दामन सहितको थाहा नगरपालिका नै हो भन्दा फरक नपर्ला । विश्वका ३ वटा शंखमूल मध्ये एउटा यहीँ छ भने सन्तान नहुनेहरुलाई भाकल गरी सन्तान माग्दा सन्तान दिने ऋषेश्वर महादेव यहीँ छ । यसका साथै पाण्डुकेश्वर इन्द्रायणी माई , बज्रबाराही माई , झम्केश्वर तथा श्री पाथिभरा मन्दिर ,पातालेश्वर गुफा तथा निर्माणाधीन रुपचन्द्र विष्ट स्मृति पार्क आदिको अवलोकन गर्न सकिन्छ । यसका साथै यस क्षेत्रमा विभिन्न जातिका मानिसहरुको बसोबास रहेको उनीहरुको सांस्कृतिक रीति रिवाज पनि देख्न सकिन्छ ।
७. पालुङ सहित थाहा नगरपालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सरकारले के गर्नु पर्ला जस्तो लाग्छ तपाईलाई ?
~सर्वप्रथम त काठमाडौंको चन्द्रागिरीदेखि चित्लाङसम्मको सडक छिटो भन्दा छिटो राम्रो सँग निर्माण हुनु परो । त्रिभुवन राजपथमा रहेका खाल्डाखुल्डी पुरी यसलाई राम्रो सँग निर्माण गर्नु परो । प्रचार प्रसारको अभावमा ओझेलमा परेका थाहा नगरपालिका क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल र मठ-मन्दिर आदिको देश विदेशमा प्रचार प्रसार हुनु परो र ती स्थलहरुसम्म पर्यटकहरु सजिलै पुग्न सक्ने अवस्था राज्यले बनाउनु परो । यसका लागि पर्यटन पूर्वाधार निर्माणको गुरुयोजना तयार गरी राज्यका सम्बन्धित निकायले यथाशीघ्र कार्य अगाडि बढाउनु आवश्यक छ ।
अन्तमा केही भन्नु छ कि ?
~ सम्पूर्ण युवा साथीहरुलाई आफ्नो ठाउँमा केही गर्न आग्रह गर्दछु । साहारा रिसोर्टका लागि वित्तीय सहयोग गर्ने ग्लोवल आई.एम.ई. बैंक लि.लाई विशेष धन्यवाद । साथै मेरा सम्पूर्ण , आफन्त , साथीभाइ तथा इष्टमित्रहरुमा आभार व्यक्त गर्दछु । नेपाल भ्रमण वर्ष २०२० को भव्य सफलताको कामना व्यक्त गर्दछु ।
