ललितपुर उद्योग वाणिज्य संघले २०७६ चैत्र २६-३० गते ललित अन्तर्राष्ट्रिय व्यापार मेला-२०७६ आयोजना गर्ने
गत वर्ष झैं यस वर्ष पनि २०७६ चैत्र २६-३० गते ललितपुरको पुल्चोक स्थित मदन स्मारक स्कूलको प्राङ्गणमा ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा ललित अन्तर्राष्ट्रिय व्यापार मेला-२०७६ हुने भएको छ । २०७६ फागुन १४ गते ललितपुर उद्योग वाणिज्य संघको कार्यालय मंगलबजारमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । ललितपुर महानगरपालिका सँगको सहकार्य र इन्ट्रोक्सन ट्रेड शो नेपाल प्रा.लि.को बजार व्यवस्थापन तथा मेला व्यवस्थापनमा उक्त मेला आयोजना गर्न लागिएको बताउदै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले सो मेलामा १२० वटा स्टलहरु रहने र तिनीहरुमध्ये भारत , पाकिस्तान , बंगलादेश , भुटान लगायतका विभिन्न देशका ४० वटा स्टल रहने छन् भने वाँकी ८० वटा नेपालमा उत्पादन हुने हस्तकलाका विभिध सामाग्रीहरुको स्टल रहने बताउनुभयो । उहाँले यो मेला अवधिभर ललितपुरको कला , संस्कृति ,गीत संगीतको मज्जा लिदै नेवारी तथा अन्य खाजाको स्वाद लिन सकिने छ भने यस मेलाले नेपाल सरकारको नेपाल भ्रमण वर्ष ,२०२० लाई सफल पार्न केही हदसम्म भए पनि टेवा पुग्न सक्ने विश्वास रहेको छ भन्नुभयो । त्यस अवसरमा ललितपुर उद्योग वाणिज्य संघका सचिव मनोजबहादुर न्याछ्योले यो मेलामा २ लाख भिजिटरलाई भिजिट गराउने लक्ष्य रहेको बताउनुभयो ।
