सवारी दुर्घटनामा गम्भीर घाइते नेकपा(माले) का महासचिव सी.पी. मैनालीको अवस्था खतरा मुक्त
सवारी दुर्घटनामा गम्भीर घाइते हुनुभई काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालको आइसीयुमा उपचाररत नेकपा(माले)का महासचिव सी.पी. मैनालीको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको सो अस्पताल स्रोतले जनाएको छ । सामान्य बोलचाल गर्न सक्ने भएपनि आज उहाँको नाकको सामान्य सल्यक्रिया गरिएकाले उहाँलाई बोल्न अफ्ठ्यारो भइरहेको बताइएको छ । उहाँलाई कसैलाई पनि भेट गर्न दिइएको छैन । टाउको , अनुहार र नाकमा चोट लागेका उहाँको खुट्टा भाँच्चिएकाले खुट्टाको सल्यक्रिया गरिने उक्त अस्पतालको भनाई छ । सो कारमा उहाँ सँगै सवार उहाँका छोरा सरोज , बुहारी , ५ वर्षे नाती तथा कारका चालक पनि घाइते हुनु भएको थियो तर उहाँका छोरा सरोज र कारका चालकलाई भने सामान्य चोट लागेको थियो । उहाँकी बुहारीको दुबै खुट्टा र नातीको एउटा खुट्टा भाँच्चिएकोले उहाँहरुको पनि ग्राण्डी अस्पताल मै उपचार भइरहेको जनाइएको छ ।
झापाबाट काठमाडौं फर्किने क्रममा हिजो दिउसो महोत्तरीको बर्दिवासमा उहाँहरु सवार कारलाई विपरीत दिशाबाट आएको पिकअपले ठक्कर दिदा गम्भीर घाइते हुनुभएका उहाँहरुको बर्दिबास स्थित स्वास्थ्य केन्द्रमा सामान्य उपचार भएको थियो । उहाँहरुलाई थप उपचारका लागि हिजो अपरान्ह हेलिकप्टरमा ग्राण्डी अस्पतालमा लगेर बेड भर्ना गरिएको थियो । उपचाररत उहाँहरुको विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु लगायतले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।
विपरीत दिशाबाट आएको पिकअफले नियोजित ढंगबाट आफ्नो पार्टीका महासचिव सी.पी. मैनाली सवार कारलाई ठक्कर दिएर घाइते बनाएको भन्दै नेकपा(माले)ले सरकार समक्ष उक्त घटनाको यथाशीघ्र छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्नुका साथै त्यस घटनाको छानवीनमा लागि छानविन समिति समेत बनाएको जनाइएको छ ।
