चन्द्रागिरि साकोसले पायो एसियाली ऋण महासंघको सहयोगी सदस्यता

0 Shares

काठमाडौंको चन्द्रागिरि नगरपालिकाको थानकोट चेकपोष्टमा आफ्नै भवनमा मुख्य कार्यालय र दहगाउँमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको स्थानीय समुदायमा आधारित नमुना सहकारीको पहिचान बनाएको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले एशियाली ऋण महासंघ(ACCU) को सहयोगी सदस्यता(Supporter Membership) पाएको छ । एशियाली ऋण महासंघको आयोजनामा फाल्गुण ११ गतेदेखि १६ गतेसम्म आयोजना गरेको TOT Training on Credit Union Label of Excellence in Governance तालिमका वीचमा उक्त सदस्यता प्राप्त गरेको हो । महासंघकी प्रमुख कार्यकारी अधिकृत Elinita V. Sanroque ले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई सदस्यता प्रमाण-पत्र तथा एशियाली ऋण महासंघको झण्डा हस्तान्तरण गरी विभिन्न मुलुकबाट सहभागी हुन आएका सहकारीकर्मीहरु वीचमा सदस्यता प्रदान गरिएको घोषणा गर्नुभएको थियो ।
सहयोगी सदस्यता लिए पश्चात एशियाली ऋण महासंघले एशियामा सञ्चालन गरिरहेको बचत तथा ऋण सहकारी विकास कार्यक्रममा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. को सहयोग र सहभागिता रहने सो संस्थाको भनाई छ । चन्द्रागिरि साकोस शहरी क्षेत्रमा सञ्चालित भएर पनि समुदायमा आधारित रही पूर्ण रुपमा सदस्य केन्द्रित भई सुशासनको परिधिभित्र सञ्चालन भईरहेकोले उक्त सदस्यता दिन सकिएको कुरा पनि एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनीले प्रकाश पार्नु भएको थियो ।
विगत ३ दशकदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र केही वर्षदेखि राष्ट्रिय सहकारी बैंक लि.मार्फत विभिन्न प्रविधिहरु हस्तान्तरण गर्दै र नेपालको बचत तथा ऋण सहकारी अभियानलाई सुशासित, व्यवसायिक र सुरक्षित बनाउनको लागि एशियाली ऋण महासंघले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । अन्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्डिंग कार्यक्रम सोही संघको प्राविधिक सहयोगमा नेफ्स्कून मार्फत हाल नेपालमा सञ्चालन भइरहेको छ । यस अघि संस्थागत विकास परियोयाजना र संस्था व्यवसायीकरण कार्यक्रम समेत सञ्चालन गरिएको बताइएको छ ।

Leave a Reply