‘प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन-२०७६’ मा विभिन्न विषय विज्ञका ८ वटा कार्यपत्रहरु पेश हुनेछन्
-जीवनकुमार राई ,सदस्य ,सञ्चालक समिति ,नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. तथा अध्यक्ष ,बाराही बहुउद्देश्यीय सहकारी संस्था लि., नयाँबानेश्वर , काठमाडौं
यतिबेला सहकारी ऐन , २०७६ संशोधन गर्ने बारे बहस चलिरहेको छ भने नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. को आयोजनामा २०७६ फागुन ३० गतेदेखि चैत १ गतेसम्म २ दिवसीय ‘प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन-२०७६’ हुदैछ । यी सहितका समसामयिक विषयमा केन्द्रित रहेर नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का सञ्चालक समिति सदस्य तथा बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष जीवनकुमार राई सँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. यसबेला सहकारी ऐन , २०७४ संशोधन बारे छलफल चलिरहेको देखिन्छ । तपाईको विचारमा यो ऐनमा संशोधन हुनुपर्ने मुख्य विषय चाहिँ के हो जस्तो लाग्छ ?
~ पहिलो कुरा त सहकारी ऐन ,२०७४ मा व्यवस्था भएको बहुउद्देश्यीय सहित विषयगत सहकारीको मुख्य कारोवारको प्रावधान नै अत्यन्त अव्यवहारिक छ । यिनीहरुको कूल कारोवारको ३० प्रतिशत मुख्य कारोवारमा लाउनु पर्ने भन्ने कुरा नै अव्यवहारिक छ । यो ऐनले बचत तथा ऋण कारोवार मुख्य उद्देश्य भएका सहकारी संस्थाहरुलाई मात्रै प्रोत्साहन गर्न खोजेको देखियो । बचत तथा ऋण कारोवार गर्नु मात्रै सहकारीको मुख्य उद्देश्य ,मूल्य र मान्यताभित्र पर्दैन । यो त बैंकिङ्गमा पर्दछ । बचत तथा ऋण कारोवार गर्दै सहकारीले विभिन्न उत्पादनमूलक कार्यहरु गर्नु नै सहकारीको मूल उद्देश्य हो ।
दोस्रो कुरा भनेको सहकारी संस्थाको सञ्चालक समितिमा रहेको व्यकि सम्बन्धित संस्थामा कार्यकारी रहन नपाउनु भनेको सञ्चालक समितिलाई आफ्नो संस्थाप्रति बेजिम्मेवार बनाउनु हो । बैंकमा जस्तै कर्मचारीको भरमा मात्रै सहकारी छोढ्ने हो भने सहकारी संस्थाहरु समस्याग्रस्त बन्ने निश्चित छ ।
तेस्रो कुरा भनेको सहकारी संस्थामा जगेडा कोष पछि संरक्षित पूँजी फिर्ता कोषमा २५ प्रतिशत काटिने भनेको छ । सो कोषमा २५ प्रतिशत काटिनुले सहकारी संस्थाका शेयर सदस्यहरुले प्राप्त गर्ने लाभांश कटौती गराई शेयर सदस्यहरुलाई निरुत्साहित गर्ने देखिन्छ । एकातिर शेयर सदस्यहरुलाई १८ प्रतिशतसम्म लाभांश वितरण गर्न पाइन्छ भनिएको छ भने अर्कोतिर लाभांश कोष सबैतिरबाट कटौती गरेर लाभांश कोषलाई कमजोर बनाउने काम गरिएको छ । यो व्यवहारिक नभएकोले यसलाई संशोधन गर्नु जरुरी छ ।
चौथो कुरा भनेको स्थीरीकरण कोष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.मा रहने छ भन्नुले यो ऐन बचत तथा ऋण सहकारी संघका अभियानकर्मीहरुबाट प्रभावित भएको देखिन्छ । हाम्रो मान्यता भनेको सहकारीहरु बचत तथा ऋण कारोवारमा मात्रै सिमित नरही उत्पादनशील क्षेत्रमा सहकारीलाई लाउने गरी सहकारी ऐन , २०७४ संशोधन हुनुपर्दछ र मात्रै राज्यको अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा सहकारी सही मानेमा व्यवस्थित हुन सक्दछ ।
२.नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले २०७६ फागुन ३० गतेदेखि चैत १ गतेसम्म गर्न लागेको ‘प्रथम बहुउद्देश्यीय सहकारी राष्ट्रिय सम्मेलन-२०७६’ को मूल उद्देश्य चाहिँ के हो ?
~ यो राष्ट्रिय सम्मेलन गर्नुको मूल उद्देश्य भनेको नेपालको बहुउद्देश्यीय लगायतका सबै सहकार्मीहरुलाई एक ढिक्का बनाई सहकारी क्षेत्रलाई बहुउद्देश्यीय नीति अनुरुप उत्पादनशील क्षेत्रमा लाग्न प्रोत्साहन गर्नु नै यसको मूल उद्देश्य हो । सदस्यहरु माझमा बचत तथा ऋण कारोवार गर्दै पूँजीको निर्माण गरी सबै सहकारीले बहुउद्देश्यीय प्रकृतिको कार्य गर्नु पर्दछ भन्ने सन्देश आम सहकारीहरु माझ छर्न र राज्यलाई पनि यसबारेमा बुझाउनु यो सम्मेलन गर्नुको हाम्रो मुख्य अभियान हो । यस सम्मेलनमा विभिन्न विषय विज्ञका ८ वटा कार्यपत्रहरु पेश भई २ दिनसम्म छलफल हुनेछ । यो सम्मेलनले एउटा घोषणा-पत्र जारी गरी बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई सो घोषणा-पत्र अनुसार कार्य गर्न उत्प्रेरित गर्न गर्नेछ ।
३. एउटा व्यक्ति एक स्थानीय तहमा एकै प्रकृतिको एउटा सहकारी संस्थामा मात्रै रहन पाउने भन्ने प्रावधानले सहकारी क्षेत्रमा हल्लीखल्ली मच्चिरहेको देखिन्छ । यसबारेमा तपाई के भन्नुहुन्छ नि ?
~ सदस्यहरुलाई सहकारीको सेवा , सुविधा तथा सहकारीको भविष्य र आफ्नो भविष्यलाई सुनिश्चित गर्ने अधिकार कटौती गर्नु हो – सहकारी क्षेत्रमा दोहोरो सदस्यता खारेज गर्ने प्रावधान । जस्तै एउटा बहुउद्देश्यीय सहकारीलेले कृषि ग-यो । कृषिमा तरकारी उत्पादन ग-यो । त्यसैगरी अर्कोले फलफुलको ग-यो । अर्कोले खाद्यन्नको ग-यो भने अब दोहोरो सदस्यताको कारणले उसले एउटा मात्रै गर्नु परो भने कुनलाई रोज्ने ? त्यसकारण सदस्यलाई एउटा मात्रै रोज्दा उसलाई अरु कार्यको लागि बञ्चित गरियो । त्यस्तै मानौँ बहुउद्देश्युय सहकारी मध्ये कसैले हाइड्रोपावर ग-यो , कसैले स्वास्थ्य ग-यो , कसैले शिक्षा ग-यो , कसैले यातायात ग-यो भने बहुउद्देश्यीयमा पनि एउटालाई रोज भन्नु अन्याय हो । सदस्यहरुले सेवा , सुविधा र लाभ अनुसारको सहकारी रोजेर त्यस सहकारीमा आफ्नो सक्रिय हुनु भनेको त्यो अत्यन्तै स्वभाविक र प्राकृतिक हो । त्यसमाथि राज्यले बन्देज लाउनु भनेको त्यो पटक्कै न्यायपूर्ण हुदैन । सहकारी कर्जा सूचना केन्द्र र सहकारी कर्जा असुली न्यायाधिकरण स्थापना भएर सशक्त रुपमा सञ्चालन भयो भने दोहोरो सदस्यता खारेजीको प्रावधान आवश्यक पर्दैन । दोहोरो सदस्यता खारेजीको प्रावधान राख्नु भनेको सिण्डिकेट लाउनु हो ।
४. सहकारी एकीकरण बारे तपाई के भन्नुहुन्छ नि ?
~ उद्देश्य ,लक्ष्य र सहकारीकर्मीहरु वीच भावना मिल्ने अवस्थामा सहकारी एकीकरण गरी ठूलो र राम्रो परिणामको लागि सहकारी एकीकरणलाई सकारात्मक रुपमा सहकारीकर्मीहरु तथा सदस्यहरुले अवसर कै रुपमा लिनु पर्दछ ।
५. सहकारी सन्दर्भ व्याजदर बारे तपाईको दृष्टिकोण के छ ?
~ सहकारी सन्दर्भ व्याजदर लागू गर्नु आवश्यक थियो तर लागू गर्ने तरिका गलत भयो । कसरी भने-सहकारी संस्थाहरुले सदस्यहरुलाई कर्जा लगानी गर्दा अत्याधिक २४/२५ प्रतिशतसम्म व्याज लिएको भन्ने आधारमा सन्दर्भ व्याजदर तोकियो । मानौँ यदी यो आधार सत्य हो भने १६ प्रतिशत लागू गर्दा जम्मा ९ प्रतिशतको फरक हुँदा यसलाई एकै पटक ९ प्रतिशत घटा भन्नु भनेको सहकारी बन्द गर भन्नु हो । यसलाई प्रत्येक वर्ष २/२ प्रतिशतको दरले घटाउन शुरु गरेको भए ४/५ वर्षभित्रमा १६ प्रतिशतमा नै आइपुग्थ्यो । ल त्यो पनि ढिलो हुन्छ भन्ने हो भने ६/६ महिनामा गरेको भए बढीमा साँढे २ वर्ष भित्रमा नै १६ प्रतिशतमा आइपुग्थ्यो तर यो त मञ्जुश्री ले चोभारमा खड्ग हानेर काठमाडौं उपत्यकाको पानी बाहिर निकालेर बस्ती बसाएको कथा पढे जस्तै गर्न खोज्दा सहकारीकर्मीहरु माझ हाहाकार मच्चिएकौ छ । यसले कारोवारमा ठूला भनिएका सहकारी संस्थालाई प्रोत्साहन गर्दै साना सहकारी संस्थालाई मास्ने नीति लिएको देखिन्छ । अर्को चाहिँ बैंकहरुको व्याज दरलाई पनि अध्ययन नगरी त्यही छेउछाउ मै सहकारी सन्दर्भ व्याजदर तोकिनु भनेको बैंकलाई प्रोत्साहन गर्ने र सहकारीलाई निरुत्साहित गर्ने कदम हो । यसलाई सच्याएर सजिलो तरिकाले क्रमश: लागू गरेमा कम क्षति र लाभदायक हुन सक्छ ।
६. बहुउद्देश्यीय कार्य गर्न चाहने सहकारीकर्मीहरुलाई तपाई के भन्नुहुन्छ ?
~ सबै सहकारीहरुले बहुउद्देश्यीय कार्य नगरी सहकारी देशको अर्थतन्त्रको तेस्रो खम्बा हुनै सक्तैन ।
७. तपाई अध्यक्ष रहेको बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.को गतिविधि के छ नि ?
~ हाम्रो यस बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.ले काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय र ललितपुरको सातदोबाटोमा एउटा सदस्य सेवाकेन्द्र सञ्चालन गरी आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । यसले आफ्ना सदस्यहरुलाई विजुली , खानेपानी र टेलिफोनको महसुल भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ । संस्थाको बहुउद्देश्यीय नीति अनुरुप बहुउद्देश्यीय कार्यमा यसले मासुजन्य पदार्थ खरिद विक्री केन्द्र ललितपुरको भेल्पा शिवनगरमा सञ्चालन गरिरहेको छ । यो परियोजना सामान्य नाफामा छ । यस संस्थाको मुख्य कार्यालय , सेवाकेन्द्र र परियोजनामा गरी ३३ जना कर्मचारीहरु कार्यरत छन् । यसमा १३ सय भन्दा बढी शेयर सदस्यहरु छन् भने ऋणी सदस्यहरु ४ सय जनाभन्दा बढी छन् । यसको शेयर पूँजी र जगेडा कोष गरी रु.३ करोड नाघेको छ । यसमा बचत संकलन रु.२१ करोड हाराहारीमा , कर्जा लगानी रु.१८ करोड र कूल कारोवार रु.२८ करोड जति छ । यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ ।
८. अन्तमा केही भन्नु छ कि ?
~ आउदै गरेको ६३ औँ राष्ट्रिय सहकारी दिवस तथा नयाँ वर्ष २०७७ को उपलक्ष्यमा सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को आयोजनामा २०७६ फागुन ३० गतेदेखि चैत १ गतेसम्म काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा हुने ‘प्रथम बहुउद्देशृयीय सहकारी राष्ट्रिय सम्मेलन-२०७६’मा सहभागी हुनको लागि सबै बहुउद्देश्यीय सहकारीकर्मी साथीहरुलाई हार्दिक अनुरोध गर्दछु । यो सम्मेलनमा कोही पनि सहकारीकर्मी नछुट्न म सबैमा हार्दिक अपील गर्दछु ।
