नेपाल कम्युनिष्ट पार्टीको भक्तपुर जिल्ला समितिको संयोजकमा पी. जोशी र काठमाडौं जिल्ला समितिको संयोजकमा नरेन्द्र तण्डुकार चयन

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेश बान्तवाले नेपालको कम्युनिष्ट आन्दोलन भित्रको क्रान्तिकारी धारालाई बलियो बनाई नेपालमा नयाँ जनवादी क्रान्ती सम्पन्न गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको बताउनु भएको छ । हिजो भक्तपुरको गट्ठाघरमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको भक्तपुर जिल्ला स्तरीय सम्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालले अगाडि सारेको ३ ‘स’ लाई आत्मसाथ गरी अगाडि बढ्नु आवश्यक छ भन्नुभयो । त्यस अवसरमा सोही पार्टीका केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले नेपालको कम्युनिष्ट आन्दोलन भित्रको उग्रवामपन्थी भड्काव र दक्षिणपन्थी आत्मसमर्पणवाद विरुद्ध संघर्ष गर्दै नेपालको कम्युनिष्ट आन्दोलनभित्रको क्रान्तिकारी धारालाई व्यवस्थित र बलशाली बनाउने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको बताउनुभयो । त्यसैगरी उक्त पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका सचिव अर्जुन कार्कीले २०७६ सालमा नेपाल कम्युनिष्ट पार्टीको वामपन्थी मञ्च , मानव दल र नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी)सँग एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीमा नेपाल कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने क्रममा निर्माण भएका सबै स्कूलिङ्गका कामरेडहरु रहनु भएकोले यस पार्टीमा नेपालको कम्युनिष्ट आन्दोलनभित्रको सबै स्कुलिङ्गको अनुभव संग्रह भएको छ भन्नुभयो । त्यस्तैगरी त्यसै पार्टीका केन्द्रीय सदस्य महेन्द्र जोशी मार्क्सवादी सिद्धान्त र व्यवहार वीचको द्वन्दात्मक सम्बन्धलाई ठिक ढंगबाट अगाडि बढाउनु पर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल महिला यूनियनकी अध्यक्ष सीता सुवेदीको समेत उपस्थिति रहेको सो कार्यक्रमबाट पी. जोशी संयोजक तथा शशिकला घिमिरे, दीपक ढुङ्गाना, खिमानन्द लेखी र आर. प्रजापती सदस्य रहेको सोही पार्टीको भक्तपुर जिल्ला सम्मेलन आयोजक समिति निर्माण गरेको थियो ।
यसैगरी सो पार्टीको काठमाडौं जिल्ला स्तरीय सम्मिलन कार्यक्रम यही चैत १ गते काठमाडौंको न्यु प्लाजामा सम्पन्न भयो । त्यसै पार्टीका काठमाडौं समितिका अध्यक्ष नरेन्द्र तण्डुकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट नरेन्द्र तण्डुकार-संयोजक , देवी आचार्य- सहसंयोजक तथा सीता सुवेदी , शारदा श्रेष्ठ , विक्रान्त सुवेदी , शोभा सञ्जेल , रीता मल्ल , हरि अधिकारी , विष्णु अधिकारी , हरिनारायण महर्जन , करुणा बराल , बुद्धीमान तामाङ , गीता थापा , हरिवोल खत्री र गोपाल तामाङ सदस्य रहेको सोही पार्टीको काठमाडौं जिल्ला सम्मेलन आयोजक समिति निर्माण भएको थियो । उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समिति प्रमुख रत्नप्रसाद जोशीले त्यस समितिका नव-निर्वाचित संयोजक , सहसंयोजक र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको सो पार्टीले जनाएको छ ।