एएमएल सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

![]()

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराइले सहकारी क्षेत्रको सम्पत्ति शुद्धिकरण निवारणका लागि नियमित तालिम तथा प्रशिक्षणको आवश्यक रहेको औल्याउनुभएको छ ।
सो विभाग तथा राष्ट्रिय सहकारी महासंघको संयुक्त़ आयोजना र सहकारी विभागको प्राविधिक सहयोगमा सञ्चालन भएको सम्पत्त शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको २०७६ चैत ६ गते समापन समारोहलाई सम्बोधन गर्दै समुद्ध मुलुक निर्माणका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो । उहाँले सहकारीले सम्पत्ति शुद्धिकरण निवारण ऐनको पालना गर्दै नेपालको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्ने औल्याउनुभयो । उहाँले सानो डिजीपी भएको नेपाल जस्तो मुलुकका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउँदै सहकारीलाई राष्ट्रिय उत्पादनमा जोड्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले सहकारीहरुलाई सम्पत्ति शुद्धिकरण निवारणको विषयमा चासो , चिन्ता र चेतना अभिवृद्धि गराउने उद्देश्यले प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेलले प्रदेश र स्थानीय तह स्तरमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीलाई सम्पत्ति शुद्धिकरण गर्ने माध्यम बन्न नदिनका लागि चनाखो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । सो समारोहमा महासंघका संचालक डी. भी. बस्नेतको समेत उपस्थिति थियो ।

राष्ट्रिय सहकारी महासंघ लि.का महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले तालिमको औचित्यमाथि प्रकाश पार्दै जोखिममा आधारित गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहभागीहरुको तर्फबाट जिल्ला सहकारी संघ लि. काठमाडौंका व्यवस्थापक राजकुमार गिरीले तालिम निकै उपयोगी भएको बताउनुभ एको थियो ।
प्रशिक्षक प्रशिक्षण तालिमममा बाँके, मोरङ,काठमाडौं र भक्तपुरका जिल्ला सहकारी संघ तथा बचत तथा ऋण सहकारी संघका व्यवस्थापक र सोही महासंघका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
तालिममा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक तेजप्रसाद प्रसाई, विनोद लामिछाने, नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिकुमार नेपाल, प्रकाश चन्द्र सापकोटा, सन्तोष पौडेल, धनञ्जय कुमार शाह, मनुका घिमिरेलगायतले प्रशिक्षण दिनुभएको उक्त महासंघले जनाएको छ ।


