नेपालमा कोरोना संक्रमितको संख्या ४ र आइसोलेसनमा रहनेको संख्या १५ जना , लकडाउनको समयमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको जीवन जोखिममा , राष्ट्रिय आविष्कार केन्द्रले पायो पी.पी.ई. बनाउने अनुमती

माहामारीको रुपमा संसारभर द्रुत गतिमा फैलिरहेको कोरोना भाइरस(COVID-19) बाट नेपालमा आजसम्म काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा
गरिएको जम्मा ८०२ जनाको नमुना परीक्षण मध्ये संक्रमितको संख्या ४ पुगेको र कोरोना भाइरस संक्रमणको आशंकामा काठमाडौं उपत्यकामा आइसोलेसनमा रहनेको संख्या १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा यही चैत्र ११ गतेबाट उपचाररत विरामी ३४ वर्षीय युवाको रगतको नमुना राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको र उनको सेती प्रादेशिक अस्पताल धनगढी मै उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म कोरोना भाइरसको संक्रमण देखिएका चारै जना विदेशी भूमिबाट स्वदेश फर्किएका हुन् । तिनीहरुमध्ये १ जना डेढ महिना अगाडि नै पूर्ण रुपमा निको भएको तथा बाँकी ३ जनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
नागरिकहरुलाई कोरोना भाइरसबाट संक्रमित हुनबाट जोगाउने भन्दै नेपाल सरकारले गरिरहेको लकडाउनको समयमा पनि आफ्नो डिउटीमा खटिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले प्रतिकूलताका बाबजुद पनि उच्च मनोवलका साथ काम गरिरहेका छन् । अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु पर्सनल प्रोटेक्टिभ इकुप्मेण्ट (PPE) लगायतका अत्यावश्यक सामाग्रीको अभाव रहदा रहदै पनि विरामीको उपचारमा खटिरहेका छन् , जसले उनीहरुको जीवन जोखिममा रहेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिदैछ तर नेपाल सरकारले भने विरामीको उपचारको क्रममा स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने पी.पी.ई. लगायतका आवश्यक सामाग्री लिन यही चैत्र १५ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन पठाउन लागेको बताएको छ । चीनले नेपाललाई दिएको स्वास्थ्य सामाग्री र रसुवागढी र तातोपानी नाकाको सीमामा आइपुगेकाले तिनलाई जतिसक्दो चाडो चेकजाँच गरी काठमाडौंमा ल्याइने उसको भनाई छ ।
यता पी.पी.ई.लगायतका स्वास्थ्य सामाग्रीको अभाव भइरेको बेला डा.महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविस्कार केन्द्रलाई पी.पी.ई. बनाउन नेपाल मेडिकल काउञ्सिलले अनुमती दिएको जानकारी प्राप्त भएको छ । राष्ट्रिय आविस्कार केन्द्रले पी..पी.ई. बनाउन अनुमती माग्दै आएको थियो । आफूले आविस्कार गरेको पी.पी.ई.लाई स्वीकार गरी पी.पी.ई. बनाउन अनुमती पाएपछि गुणस्तरीय पी.पी.ई. उत्पादन गरी सोको अभाव हटाउन राज्यलाई सहयोग पु-याउन सकेको प्रयत्न गर्ने उसको भनाई छ ।
उता लकडाउनका बेला सुरक्षाको जिम्मेवारी बहन गरिरहेका सुरक्षाकर्मीहरुको जीवन पनि जोखिम मुक्त छैन । एकातिर उनीहरुको बसाई पनि सामूहिक हुने हुनाले त्यत्तिकै जोखिमयुक्त देखिन्छ भने डिउटीमा खटिरहदा होटलहरु बन्द रहेकोले उनीहरु चाउचाउ र दालमोट चिउराको भरमा काम गरिरहँदा उनीहरु विरामी पर्ने हुन कि भन्ने चिन्ता धेरै तिरबाट गरिदैछ । हुनपनि उनीहरुलाई तत्काल कोरोना संक्रमण भई गयो भने उनीहरुको उपचार गर्ने छुट्टै अस्पताल छैन । काठमाडौंको बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालमा नेपाली सेना , सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपचारका लागि आवश्यक संरचना बनाइदै गरेको बताइएपनि त्यो संरचना निर्माण सकिन अझै २/३ दिन लाग्ने जनाइएको छ ।
यसैगरी लकडाउनको निहु बनाएर काठमाडौं उपत्यका बाहिरका केही अस्पतालले विरामीको गर्न छाडेको देखिएको छ । झापाको भद्रपुरमा रहेका मेची अञ्चल अस्पतालर र ओमसाई पाथिभरा अस्पताल तथा बिर्तामोडमा रहेको बी&सी अस्पताल र मनमोहन अस्पतालले उपचार गर्न नमान्दा एक विरामीको निधन भएको सो विरामीका परिवारले गुनासो गरेका छन् ।
……………………………….
घरैमा बसौं- सुरक्षित रहौं!कोरोना भाइरस(COVID-19) नियन्त्रण गर्न सरकारलाई सहयोग गरौं!!
-सहकारी सञ्जाल परिवार