लकडाउन उलंघन गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने

0 Shares

कोरोना भाइरस(COVID-19) बाट संक्रमण हुन नदिन आज छैठौं दिन पनि देशभर लकडाउन सम्पन्न भयो । छिटफुट बाहेक अधिकांश नागरिकहरुले लकडाउन पालना गरे । सडक तथा गल्ली सुनसान थिए । अत्यावश्यक काममा जानु पर्ने नागरिक तथा सवारी साधनलाई सुरक्षाकर्मीले काममा जान दिएका थिए । नागरिकहरुलाई अत्यावश्यक सामाग्री खरिदका लागि विहान ७ बजेसम्म र साझा ५ देखि ७ बजेसम्म तरकारी , खाद्यन्न , दुग्ध , मासु पसल खुलेका थिए । काठमाडौंको तीनकुने स्थित तरकारी बजारका व्यापारीहरुले विहान १० बजेसम्म र दिउसो ३ बजेपछि साँझसम्म तरकारी बजार खुल्ला रहेको सहकारी सञ्जाललाई बताएका थिए । सो तरकारी बजारमा तरकारीको भाऊ त्यत्ति सारो महंगो देखिएन ।

नेपाल सरकारले लकडाउनको समय थप गर्ने संकेत गरेको छ भने उसले लकडाउनलाई थप कडाई गर्ने भएको छ । आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदले लकडाउन उलंघन गर्नेलाई ६ महिनासम्म जेल सजाय गर्न सक्ने निर्णय गरेको बताइएको छ ‌।
सुरक्षाकर्मीहरु नागरिकहरुलाई घरैमा बस्न अनुरोध गर्दा पनि विना काम काठमाडौं उपत्यकाका सडकमा घुमी हिड्ने १,८७६ जनालाई सुरक्षाकर्मीले कारवाही गरेको जनाइएको छ ।
उता स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्री लिन यही चैत १५ गते चीन गएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सो सामाग्री लिएर आज विहान काठमाडौं फर्किएको थियो । चीनले पठाएका स्वास्थ्य सामाग्री चिनीया राजदूतले नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो । नेपाल सरकारले त्यसका लागि चिनीया सरकारलाई धन्यवाद दिएको छ । चीनले प्रदान गरेका सामाग्रीको गुणस्तर परीक्षण गरी यथाशीघ्र देशका ७ वटै प्रदेशमा पठाइने बताइएको छ ।
यता काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालाले मात्रै कोरोना भाइरसको परीक्षण गर्दै आएकोमा सुनसरीको धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरसको परीक्षण शुरु गरिएको र मकवानपुरको हेटौंडामा शुरु गर्ने तयारी भइरहेको बताइएको छ ।
पछिल्लो पटक कोरोना भाइरस पोजेटिभ देखिएकी बागलुङ्गकी युवतीलाई धौलागिरी अञ्चल अस्पताल बाग्लुङ्गमा आइसोलेशनमा राखेर उपचार शुरु गरिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ भने अरु बाँकी ३ जनाको अवस्था पनि सामान्य रहेको जनाइएको छ तर कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन मा बसेका एक ३४ वर्षीय युवाको आज बुटवलमा मृत्यु भएको छ । उनको मृत्यु कोरोना भाइरसले भए/नभएको बारे भने रिपोर्ट नआउञ्जेल केही भन्न नसकिने बताइएको छ ।

विश्वका १९९ देशका झण्डै ६ लाख ६८ हजार मानिसहरु कोरोना संक्रमित भएका , ३२ हजारको हाराहारीमा मानिसहरुको ज्यान गएको र झण्डै १ लाख ५० हजार जति कोरोना भाइरस संक्रमित मानिसहरु निको भएका छन् ।

………………………………
घरैमा बसौं- सुरक्षित रहौं ! विदेशबाट घर फर्किएकाहरुले कोरोना भाइरस (COVID-19) को परीक्षण गरौं !! सेनिटाइजर वा सावुनपानीले राम्रोसँग हात धोऔं !!! कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारलाई सहयोग गरौं !!!!
– सहकारी सञ्जाल परिवार

Leave a Reply