लकडाउनको समय चैत्र २५ गते मध्यरातीसम्म बढ्यो , चैत्र महिनाको घरभाडा नदिन घरधनीहरुलाई सरकारको आग्रह
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस(COVID-19)को संक्रमण फैलिन नदिन नेपाल सरकारले यही चैत्र ११ गतेबाट १६ गतेसम्म लागू गरेको लकडाउनको समय थप ८ दिनसम्म बढाउने भएको छ । अब यही चैत्र २५ गते मध्यरातसम्म देशभर लकडाउन जारी रहने छ । नेपाल सरकारले राहतका कार्यक्रम समेत घोषणा गरेको छ भने घरधनीलाई करमा छुट दिइने बताउदै चैत्र महिनाको घरभाडा नलिन आग्रह गरेको छ । मासिक रुपमा १५० युनिटसम्म विजुली प्रयोग गर्नेहरुका लागि विजुली महसुल तथा लकडाउन अवधिभर इन्टरनेट र डाटा उपभोग गर्ने उपभोक्तालाई २५ प्रतिशत छुट दिइने , खाद्य संस्थानले विक्री गर्ने दाल , चामल लगायतका खाद्य सामाग्रीमा १० प्रतिशत छुट दिइने, स्थानीय तह मार्फय अति विपन्नहरुको तथ्यांक संकलन गरी उनीहरुलाई राहत दिइने बताइएको छ । नेपाल सरकारले मजदुरहरुलाई सम्बन्धित रोजगारदाताहरुले चैत्र महिनाको तलव पूर्ववत भुक्तानी गर्न तथा निजी विद्यालयहरुले विद्यार्थीहरुबाट चैत्र महिनाको शुल्क नलिन भनेको छ तर विद्यालयहरुले भने विद्यार्थीहरुबाट चैत्र महिनाको शुल्क लिई सकेको अभिभावकहरुको भनाई छ । यता प्याव्सनका अध्यक्ष टीकाराम पुरीले सरकारको गरेक़ निर्णय सरकारसँग छलफल गरी कार्यान्वयन गरिने बताउनुभयो । उता सरकारको सो घोषणाप्रति सरोकारवालाको सकारात्मक प्रतिक्रिया आइरहेको छ । उनीहरुले सरकारले घोषणा गरेको राहत कार्यक्रम कार्यान्वयन होस् भनी आग्रह गरेका छन् ।
.
