सुयोग्य साकोस, सेतीओपी मार्ग, कोटेश्वरले २०७७ असार १५ गते भित्र बुझाउनेलाई लकडाउन अवधिको कर्जाको व्याजमा १० प्रतिशत छुट दिने
काठमाडौं महानगरपालिका-३२,सेतीओपी मार्ग, कोटेश्वरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्था लि.ले सो संस्थाबाट कर्जा लिएका शेयर सदस्यहरुले २०७७ असार १५ गते भित्र बुझाएमा उनीहरुलाई सम्पूर्ण हर्जाना छुट सहित कर्जाको लकडाउनको अवधिको व्याजमा १० प्रतिशत छुट दिने नीति रहेकोले शेयर सदस्यहरुलाई आफूले लिएको कर्जाको बुझाउनु पर्ने सबै व्याज सोही अवधिमा बुझाई लकडाउन अवधिको कर्जाको १० प्रतिशत व्याज छुट सुविधा लिन आग्रह गरेको छ । सो संस्थाका प्रवन्धक खड्गप्रसाद सुब्बाले लकडाउनको समयमा समेत आंशिक रुपमा भएपनि आफ्नो कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दै आएको हाम्रो यस संस्था २०७७ असार १ गतेदेखि पूर्विवत अवस्थामा विहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने बताउनुभयो । अघिल्लो आइतबारदेखि आफ्ना शेयर सदस्यहरुलाई विहान १० बजेदेखि दिउसो २ बजेसम्म आफ्नै कार्यालयबाट वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।
सो संस्थाले कोरोना भाइरस(COVID-19)संक्रमणका कारण भइरहेको लकडाउनको समयमा आफ्ना शेयर सदस्यहरुलाई सहुलियत कर्जा प्रवाह गरिएको बताएको छ । लकडाउनको कारण मार परेका आफ्ना आर्थिक विपन्न तथा दैनिक रोजगारी गरी गुजारा गर्ने शेयर सदस्यहरुलाई उक्त संस्थाले प्रति सदस्य रु.२ हजारका दरले राहत प्रदान गरेको सोही संस्थाका प्रवन्धक सुब्बाको भनाई छ ।


आजसम्म लगभग रु.२५ करोड कूल कारोवार रहेको त्यस संस्थाले ललितपुरको जावलाखेल स्थित नेशनल अस्पतालमा उपचाररत क्यान्सर रोगबाट पीडित आफ्ना शेयर सदस्य रेखा राईलाई उपचारका लागि रु.१० हजार सहयोग गरेको बताइएको छ ।

